ङावा शेर्पा
काठमाडौं (शेर्पाखबर) । उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुंगाले आर्थिक बर्ष २०७९।०८० मा गरेका कार्यहरुको प्रगती विवरण सार्वजनिक गरेको छ । अदालतद्धारा आयोजित बार–वेन्च र सञ्चारकर्मीवीचको अन्तक्र्रिया कार्यक्रममा अदालतको बार्षिक प्रगती विवरण प्रस्तुत गरेको हो ।
अदालतले आर्थिक बर्षको यसअवधीमा सम्पादित कार्यहरुको लक्ष्य, प्रगती विवरण अनुसार लक्ष्यको आधारमा ९५ दशमलव ०४ प्रतिशत मुद्धा फच्र्यौट गरेको र फच्र्यौट गर्न बाँकी १ सय १९ मुद्धा मध्ये एक बर्षभित्रको १ थान मात्रै फच्र्यौट गर्न बाँकी रहेको रजिष्ट्रार सन्जिव पोखरेलले जानकारी दिनुभयो ।
अदालतको अभिलेखमा ४ हजार १ सय ४१ थान मुद्धा रहेकोमा ४ हजार ८९ थान सफ्टवेयरमा अध्यावधिक भएको र ५२ थान प्रविष्ट गर्ने प्रक्रियामा रहेको रजिष्ट्रार पोखरेलको भनाई छ ।
त्यस्तै, अभिलेखमा रहेका मुद्धा मध्ये १ हजार ८१ थान मुद्धाको मिसिल स्क्यान गरी अनलाईन पद्धतीमा अध्यावधिक गरिएको छ । कुल अभिलेखमा भएको मुद्धा मध्ये २६ दशमलव १ प्रतिशत मिसिल स्क्यान भएको जनाइएको छ ।
अदालतले आर्थिक बर्ष २०८०।०८१ मा ३ सय २० थान नयाँ मुद्धा दर्ता हुने आँकलन गरेको छ । त्यस्तै, २ सय ८७ थान मुद्धा फच्र्यौट गर्ने लक्ष्य राखिएको रजिष्ट्रार पोखरेलले जानकारी दिनुभयो । त्यस्तै, आर्थिक बर्ष २०८०।०८१ मा १ सय १९ थान मुद्धा जिम्मेवारी सर्ने, ४० थान निवेदन प्रतिवेदन नयाँ दर्ता हुने अनुमान गरिएको र जिम्मेवारी सरेको एक थानसहित ४१ थान मुद्धा फच्र्यौट गर्ने लक्ष्य लिएको छ ।