Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the loginizer domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sherpakhabar/public_html/wp/wp-includes/functions.php on line 6114
सोफिया भन्छिन्- महिलाले ‘नो’ भन्दा पुरुष इगोमा चोट पुग्यो – Sherpakhabar.com

अबको तीज नो ब्रत प्लिज
अबको तीज नो ब्रत प्लिज, नो खुट्टाको पानी,
महिला पुरुष दुवै नै बराबरी
रंगीबिरंगी चुरा र साडी, गहनाको भारी
गुडिया जस्तै सजिएर नखाने दर
हामी अबको तीज नो नक्कल
प्लिज नो खर्चको भारी…

यसै साता सार्वजनिक सोफिया थापाको शब्द, संगीत र स्वरको यो गीत अहिले निकै चर्चामा छ। एक साताभित्र यो गीतकै कारण गायिकाले विभिन्न धम्की सहनुपरेको छ। सोफियासँगै उनका श्रीमान निर्देशक मनोज पण्डित समेतलाई गालीगलौज र धम्की आइरहेका छन्।

हिन्दु जागरण नेपाल लगायत संघ-संस्थाको विरोध र धम्कीपछि हाइलाइट्स नेपालले उक्त गीतको भिडिओ युट्युबमा ‘प्राइभेट’ बनाएको छ। सामाजिक सञ्जाल र मिडियामा गीतको पक्ष-विपक्षमा बहस छेडिएको छ।

सोफियाको गीतमा आएका अधिकांश प्रतिक्रिया नकारात्मक छन्। तिनमा उनलाई नेपाली धर्म मास्ने ‘एजेन्ट’ का रूपमा गाली गर्ने धेरै छन्। यसले अभिव्यक्ति स्वतन्त्रता, लैंगिक, कानुनी र नैतिक प्रश्नहरू जन्माएको छ।

के सोफियाको गीत ती प्रतिक्रियामा भनिएजस्तै धर्म-संस्कृति भाँड्ने खालकै छ त?

ध्यान दिएर सुन्ने हो भने ‘तीजमा नो ब्रत प्लिज’ भनिएको गीतको शब्दमै आग्रह छ। यो गीतले तीज नमनाऊँ भनेर कहीँ भनेको छैन। बरू पानीसमेत नपिई ब्रत बस्दा स्वास्थ्य कमजोर हुने भन्दै सचेत गराएको छ। त्यसरी पानी नपिई ब्रत बस्दैमा श्रीमानको आयु बढ्दैन भनेर बुझाउन पनि खोजेको छ।

गीतले ‘नो खुट्टाको पानी’ भन्छ, तर ‘नो तीज प्लिज’ भन्दैन। यसमा स्वास्थ्य र लैंगिक समानताको कुरा छ। तीज वा हिन्दु धर्मको विरोध कहीँ नगरिए पनि गीतका शब्दप्रति गरिएको व्याख्याले सोफिया स्वयंलाई अचम्मित पारेको छ।

लकडाउनको निराशाबीच आफू र अरूलाई पनि केही ऊर्जा दिने काम गरौं भन्ने सोचेर यो गीत तयार पारेको उनी बताउँछिन्।

‘सर्जकका रूपमा संगीतको माध्यमबाट सामाजिक विषयमा पनि बोल्नुपर्छ भनेर यो गीत बनाएकी हुँ। अनावश्यक विवादमा आउन वा भाइरल हुन होइन,’ उनले भनिन्, ‘तर गीत निस्केपछि कल्पनाभन्दा परका कुरा भोग्नु परिरहेको छ।’

आफ्नै स्वर, शब्द र संगीतमा गीत निकाल्ने बेला उनमा ‘अहो, आफैं सबै काम गरेँ’ भन्ने उत्साह थियो। स्रोताले पनि उनको कामलाई सकारात्मक रूपमा लिने अपेक्षा राखेकी थिइन्। तर उनले पाएको पहिलो प्रतिक्रिया नै यस्तो भइदियो, ‘तपाईंको गीतले हिन्दु धर्मको विरोध गरेकोमा घोर आपत्ति छ। गीत तुरुन्त हटाउनुस्, नत्र धर्मसम्बन्धी कसुर लाग्नेछ।’

उनका अनुसार यस्तो धम्कीपूर्ण सन्देश हिन्दु जागरण नेपालका अध्यक्ष राधाकृष्ण उपाध्यायले मेसेन्जरमार्फत् दिएका हुन्।

‘त्यसपछि त तथानाम गाली गर्नेदेखि कालोमोसो दलिदिन्छु भन्नेसम्मका धम्की सुन्ने क्रम अझै चलिरहेको छ,’ सोफियाले दुःखमनाउ गर्दै भनिन्।

सोफिया आठ-दस वर्षदेखि फुटकर रूपमा गीत रेकर्ड गराउँदै आएकी कलाकार हुन्। इलाहाबादबाट ‘ब्याचलर इन क्लासिकल म्युजिक’ गरेकी उनमा कुनै समय संगीतमै करिअर बनाउने सोच थियो। तर उनको मुख्य पेसा शिक्षण बन्यो। सोफिया स्नातकोत्तर, स्नातक र प्लस टु तहका विद्यार्थीलाई साइकोलोजी र अंग्रेजी विषय पढाउँछिन्।

हिन्दु धर्म र अध्यात्मको सार आफूले पनि मज्जाले बुझेको बताउने सोफिया नियमित ध्यान गर्छिन्। धर्मका नाममा हुने विसंगति र लैंगिक विभेदप्रति भने उनी सहमत छैनन्। यो गीतमा पनि तीजको नाममा हुने लैंगिक विभेद, नक्कलझक्कल र आडम्बरमाथि टिप्पणी पाइन्छ।

उनले भनिन्, ‘हरेक वर्षको तीजमा निराहार ब्रत बसेर महिला कमजोर भई ढल्ने कुरा काल्पनिक होइन। गीतमा स्वास्थ्यको पाटोबाट यो गलत छ भन्न खोजिएको हो।’

सचेत र अर्धचेत मनमा बसेका कुरा नै गीतको विषय बनेको उनी बताउँछिन्।

गीतका शब्दलाई अतिरञ्जित पारिएकाले अर्थको अनर्थ लागेको उनको भनाइ छ। बोल्ने, लेख्ने वा आफ्नो विचार अभिव्यक्त गर्ने कुरा संविधानले सुनिश्चित गरेको छ। सोफियाको गीतमा अभिव्यक्त विचार हरेक वर्ष तीज बेला पत्रपत्रिकामा छापिँदै आएका विचारभन्दा धेरै फरक छैन। सोफियालाई पनि आफूभन्दा कडा र प्रगतिशील विचार धेरैले राख्दै आएको जस्तो लाग्छ।

त्यसो भए गीतको विरोध किन भइरहेको छ त?

विरोध हुनुमा दुई मुख्य कारण रहेको उनको मत छ। गीतमा खास प्रचलनमा ‘नो’ भनिएको छ।

उनलाई लाग्छ- यसले पितृसत्तात्मक सोचमाथि प्रहार गर्‍यो, पुरुषत्वको इगोमा चोट पुग्यो, जुन इगोले महिलाको ‘नो’ स्वीकार्न सक्दैन।

‘कसैलाई पनि धर्मका लागि आपत्ति भएकै होइन। धम्की दिनेहरूको भाषाको आसय पनि यत्ति नै हो, महिला भएर नो भन्ने?’ उनले तर्क गरिन्।

सोफियाको विचारमा कलाकारलाई मनोरञ्जन दिने समूहका रूपमा खुम्चाएर हेर्न चाहने सोच पनि हाबी छ। लेखकले विचार पोख्न पाउँछ, तर संगीतकर्मीले विचार पोख्यो भने मानिसहरूलाई पटक-पटक समस्या हुँदै आएको छ।

‘धेरैले मलाई तेरो गीतमा के छ र? भन्दै गाली गरे पनि, मेरो गीत हटाउन पछि लाग्नुभएको छ। यसलाई संगीतको शक्तिसँग तर्सिएको भनेर पनि बुझ्न सकिन्छ,’ उनले भनिन्।

संगीतको शक्तिसँग तर्सिने वा संगीतको मर्म नबुझ्नु नौलो कुरा होइन। विभिन्न बहानामा सेन्सरसिपको सिकार हुनेमा भी-टेन, दुर्गेश थापा, पशुपति शर्माजस्ता गायकले दुःख पाएको धेरै भएको छैन। तर सोफियाको गीत हटाउने दबाब आउँदा कलाकार समूहबाट उनले खासै साथ पाएकी छैनन्।

बरू सामाजिक सञ्जालमा वैचारिक रूपमा उनलाई समर्थन गर्नेमा लेखक, महिला अभियन्ता र सामाजिक अभियन्ता बढी छन्। आफ्नो गीतमा अभिव्यक्त विचारले समाज रूपान्तरणमा जोड दिएकाले बौद्धिक समूहबाट भने साथ पाएको सोफियाको भनाइ छ।

‘गीतकै कारण मनोवैज्ञानिक त्रास भोग्नुपरे पनि गीतले बहस सुरू गरेकामा खुसी लागेको छ। बौद्धिक समूहको साथले मेरो विचारमा अडिग रहने बल मिलेको छ,’ उनी भन्छिन्।

आत्मबल दह्रो भए पनि सोफियालाई अझै पनि समाज र धर्म संस्कृति भाँडेको आरोप लगाउनेका सन्देश आइरहेका छन्। सोफियाले प्रहरी कार्यालय र साइबर ब्यूरो टेकु परिसरमा मंगलबार उजुरी दिएकी थिइन्। धम्की दिने फोन हिजोदेखि आउन कम भएको छ। तर मेसेजहरू रोकिएका छैनन्।

निरन्तर धम्की अनि गीत हेर्न नमिल्ने गरी प्राइभेट बनाइएपछि सोफियालाई स्वाभाविक रूपमा नराम्रो लाग्ने नै भयो। आफू डराएकोभन्दा शून्य स्थितिमा पुगेको बताउने उनी घरमा आमा र बुवाको अनुहारको भाव पढेर भने भावुक हुन्छिन्।

‘हामी परिवारका सदस्यहरू मौन रूपमा डर र पीडा साटिरहेका छौं,’ उनले भनिन्।

आफूलाई दिक्क लागे पनि आत्मबल खस्किन दिनुहुन्न भन्नेमा प्रस्ट उनी यस्तो अवस्थामा राज्यले कलाकारको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न पनि भिडिओ फेरि सार्वजनिक हुने वातावरण बनाउन पहल गर्नुपर्ने जोड दिन्छिन्।

‘मेरो अभिव्यक्ति स्वतन्त्रताको सम्मान हुनुपर्छ। राज्यले साथ दिए म गीत हटाउँदिनँ। यो मेरो मात्रै विषय हैन, भोलि यस्तै समस्या अरू गीतमा पनि आउन सक्छ। त्यसैले पनि अडान लिनु जरुरी छ,’ उनले भनिन्।

हाल आधिकारिक रूपमा हेर्न नमिले पनि धेरैले डाउनलोड गरिसकेकाले आफ्नो गीत साझा सम्पत्ति भइसकेको उनको धारणा छ।

उनले भनिन्, ‘कसैले चाहेर वा हटाएर आजको जमानामा भिडिओ हट्ने पनि त होइन।’

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *