काठमाडौं (शेर्पाखबर) । गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित महालक्ष्मी माध्यमिक बिद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको छ । कल्स ओवर रिजेज नेपाल संस्थाले बस बिद्यालयलाई हस्तान्तरण गरिएको हो ।
गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण रानाको उपस्थितीमा विद्यालयमा आयोजित एक समरोहकावीच दातृ संस्थाकी प्रमुख कार्यकारी अधिकृत साङ डोमा शेर्पाले बसको चावी प्रधानाध्यापक चुडामणी काप्रीलाई हस्तान्तरण गर्नुभयो ।
२८ लाख ३३ हजारमा बस खरीद गरेको र बिमा शुल्क, दर्ता शुल्क, ‘सिट कभर’ लगायतका अन्य कामसहित २९ लाख ८५ हजार मूल्यको स्कूल बस हस्तान्तरण गरिएको अधिकृत शेर्पाले जानकारी दिनुभयो ।


यसअघि बिद्यालयले बस भाडामा लिएर बिद्यार्थी ओसारपसार गर्दा आर्थिक भार थोपरिँदै गएकाले संस्थालाई बस खरीद गरी दिन अनुरोध गरेको प्रधानाध्यापक काप्रीको भनाइ छ । ‘विगतमा भाडामा वस लिएर सञ्चालन गर्दै आउँदा अनेकन समस्याहरु खेप्दै आएका थियौं । विद्यालयले नै बस खरीद गरी सञ्चालन गर्न स्रोत थिएन ।’ प्रअ काप्रीले भन्नुभयो ‘अव भने बिद्यालयकै बसमा बिद्यार्थी ओसार पसार गराउन पाउने भएपछि शिक्षक, विद्यार्थी र अभिभावकहरु खुसी छौं ।’
विद्यालयलाई प्राप्त बसको बार्षिक ‘ब्लू बुक’ नविकरण गर्दा लाग्ने शुल्क गोरखा नगरपालिकाले व्यहोर्ने आयोजित कार्यक्रममा नगर प्रमुख रानाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।‘दश बर्षसम्म नविकरण शुल्क तिरी दिन हामी प्रतिबद्ध छौं । तत्काल त्यसका लागि त्रिपक्षीय सम्झौता हुन्छ ।’ मेयर रानाको भनाइ थियो ।
बिद्यालय व्यवस्थापन समिति अध्यक्ष देवेन्द्र बस्नेत अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख मसलीमाया थोकर, शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख सुवास आचार्य, नगरपालिका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्का, बिद्यालयको गुणस्तर लेखाजोखा तथा सुपरिवेक्षण समिति अध्यक्ष शिव केसी, बिद्यार्थी आरती गुरुङ लगायतले मन्तव्य टाढाबाट धाउने विद्यार्थीहरुका लागि बस सेवा सञ्चालनले सुविधा मिलेको भन्दै खुसी व्यक्त गर्नुभयो ।


संस्थाले गोरखा नगरपालिकाको २० वटा सामुदायिक बिद्यालयमा दिवा खाजा, शिक्षक तालिम, कम्प्युटर तालिम र अतिरिक्त क्रियाकलापका लागि सहयोग गर्दै आएका छन् । कार्यक्रम अन्तरगत बिद्यार्थीलाई छात्रावृत्तिसहित आर्थिक सहयोग समेत गर्दै आएको संस्थाका गोरखा संयोजक राजेश श्रेष्ठले जानकारी दिनुभयो ।
‘दिवा खाजाका लागी बालकक्षादेखि कक्षा पाँचसम्म सरकारले नै रकम उपलब्ध गराउँछ, हामीले त्यसमा प्रति बिद्यार्थी ५ रुपैया थपि दिने गरेका छौं ।’ संयोजक श्रेष्ठले भन्नुभयो, ‘कक्षा छदेखि १० सम्मका बिद्यार्थीलाई भने हामीलेप्रति बिद्यार्थी २० रुपैयाँ दिने गरेका छौँ ।’ सामुदायिक बिद्यालयका विपन्न तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै उनीहरुको उच्च शिक्षा हासिल सपना पूरा भएको अधिकृत शेर्पाको भनाइ छ ।
संस्थाले गोरखासँगै दोलखाको जिरी र ओखलढुंगाको खिजीदेम्बामा समेत ग्रामिण बालबालिकाको शिक्षामा पहुँच अभिबृद्धि कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *