Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the loginizer domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sherpakhabar/public_html/wp/wp-includes/functions.php on line 6114
झ्योमोलुङ्ग्मा (सगरमाथा) को ज्यान जोखिममा ! – Sherpakhabar.com
  • आङलमी शेर्पा

“झ्योमोलुङ्ग्मा” सिङ्गो पृथ्वी जगतकी सबै भन्दा उच्च स्थान वा सर्वोच्च शिखरको रूपमा हज्जारौं बर्षदेखि चीर परिचित छिन् । विशाल हिमाली क्षेत्रहरूमा झ्योमोलुङ्ग्मालाई चा–मा, चो–मो, च्योमोलुङ्ग्मा, ‘च्होमो–ल्हा–रि, जोमो लाङ्ग–मा –रि, ज्यो मोलुङ्ग्मा’ आदिको नामबाट समेत पुकारिन्छ । झ्योमोलुङ्ग्मा एक उच्च हिमालय पर्वत शिखरको रूपमा पहिचान गरि आफ्नै संसार एवं कुलको जननीको रूपमा यसभेगमा बसोबास गर्ने समग्र हिमाली वासिन्दाहरूले अङ्गीकार गरि आएका छन् । हिमाली शेर्पाहरूको भाषामा झ्योमोलुङ्ग्माको अर्थ संसारको उच्च उचाइमा बहने प्राणदायी बायुकी देवी भन्ने हुन जान्छ । तसर्थ, शेर्पा लगायत सम्पूर्ण हिमाली वासिन्दाहरूकी सामूहिक देवी माता, शक्ति एवं संरक्षकको भूमिकामा झ्योमोलुङ्ग्मालाई सदियौंदेखि पूजिंदै, सम्मान, आस्था प्रकट गर्दै, संरक्षण गर्दै आएको बिदितै छ । उनीहरूको पूर्खाको विश्वास एवं परम्परा अनुसार संसारको उच्च उचाइमा बहने स्वच्छ हावाको प्रथम झोक्का स्पर्श हुने उच्चतम् पवित्र देवी तथा माता रूपी हिमालय पर्वत भएकोले उनको स्थान उच्च कोटीको रहेको मानिन्छ ।
समग्र हिमालीहरूको पूर्खाले यस्तो अति महत्वपूर्ण सर्वोच्च शिखरलाई पहिचान गरेर विशेष स्थान प्रदान गरि मान्न, सम्मान गर्न, पूज्न थाले । यस्तो दूर्लभ शिखर शेर्पाको पूख्र्यौली थलोमा अवस्थित छ । शेर्पाहरूको जीवनचक्र, धर्म, परम्परा एवम् सांस्कृतिक सभ्यतामा झ्योमोलुङ्ग्माले एक पवित्र, आध्यात्मिक र उच्च कोटीको भावानात्मक स्थान ओगटेकी छन् । हिमाली शेर्पाहरू आफ्नी आराधनाकी देवीलाई नित्य एवम् विशेष अवसरहरूमा विविध प्रकारका संस्कार, पूजा, आराधना तथा अभ्यासहरू विश्वासकासाथ् अर्पण गर्ने गर्दछन् ।
शेर्पाहरूको परम्परागत जीवनचर्यामा हिमाल वारी–पारि गर्नु एक नियमित आकस्मिकता भित्र पर्दछ । दुई हिमालहरू बिचको ला–भन्ज्याङ्ग पार गर्नु पर्दा समेत क्षमा पूजा, आराधना, विशेष मन्त्र, पूजा सामाग्रीहरू, मुद्राहरू अर्पण गरेर मात्र सो ला–भन्ज्याङ्ग पार गर्दछन् । प्रकृतिको सुन्दर उपहाररूपी गगनचुम्बी हिमालहरूलाई शेर्पाहरू कहिल्यै पनि धक्का, हानि, नोक्सानी पुर्याउँदैनन्। बरु उनीहरू यस्ता सुन्दर हिमालहरूको मुस्कुराहट्को सहअस्तित्व सहज स्वीकार्दछन् । शेर्पाको कठीन जीवनमा सुन्दर चांदी एवम् सुनौलो मुस्कान छर्ने हिमालहरूलाई उनीहरू सदा सर्बदा आफ्ना इष्टदेव देवीको रूपमा मान्दै आएका छन् । झन् झ्योमोलुङ्ग्मा त उनीहरूकी मातृ इष्टदेवी नै हुन् । उनलाई लात हान्ने दुष्प्रयास त कहिल्यै कल्पना समेत गर्दैनन् । उनलाई टाढैबाट सम्पूर्ण संस्कार, मोन्लम, लुङ्ग्ता, धाजा, छुंडी, मन्त्र, आराधना, श्रद्धा, भक्ति अर्पण गर्दछन् ।
पछिल्लो चरणमा विभिन्न मूलुकका नागरिकहरू संसारका विभिन्न देशमा भ्रमण गर्ने चलनको प्रारम्भ हुन पुग्यो । पहिल्यै रादानाथ सिखदरले निर्धारण गरेकोमा जर्ज एभरेष्ट नामक ब्रिटिश कर्मचारीले विशेष उपकरणको सहयोगमा भारतबाटै हिमाली एवम् शेर्पाहरूकी आराधनाकी देवी झ्योमोलुङ्ग्मालाई नै संसारको सबै भन्दा अग्लो हिमाल भनि खुटट्याए । तत् पश्चात् उक्त हिमाललाई सन् १८६५ मा रोयल जोगराफिक सोसाइटीले ब्रिटिश सर्भेएर जर्ज एभरेष्टको नाममा नै माउन्ट एभरेष्ट नामाकरण गरिदिए । सन् १९५६ मा इतिहास शिरोमणि बाबुराम आचार्यले खस नेपाली भाषामा उक्त हिमाललाई पुनः सगरमाथा भनि नामाकरण गरिदिए ।
सदियौं कालदेखिकी आफ्नी आराध्य देवी रहेकी झ्योमोलुङ्ग्मा साँझ बिहान, चौबिसै घण्टा आफ्नै आँखा अगाडी उभिएकी देवीको नाम ब्रिटिशले एभरेष्ट राखे, तिनले त्यसैमा गर्व गरे । राज्यले सगरमाथा राखे तिनीहरुले त्यसैमा गर्व गर्न थाले । तिनीहरूले त्यसैमा आपÞm्नोपना देख्न र भेट्न थाले जुन कुरो झ्योमोलुङ्ग्माकी सन्तती हिमाली, लेकाली, पहाडी लगायत शेर्पालाई पत्तै छैन ।
प्राचीन काल देखिकी आराध्यदेवी हिमालहरूकी अविभावक झ्योमोलुङ्ग्माको शरीरमा लात बजार्न विदेशीहरूको झुण्डाहरुको लर्को सन् १९१३ देखि देखा पर्न थाले । विभिन्न झुण्डाहरूको पन्ध्रौं पटक सम्मको असफल आरोहणको दूष्प्रयास जारि राखे । अन्तमा सन् १९५३ मे २९ मा तेञ्जिङ्ग नोर्के शेर्पा र न्युजिल्यान्ड निवासी सर एडमण्ड हिलारीले संसारकी देवी झ्योमोलुङ्ग्माको माथमा प्रथम पटक लात्ताले टेके ।
सम्पूर्ण हिमाली बासिन्दाहरु लगायत शेर्पाहरूकी मातृदेवी झ्योमोलुङ्ग्माको सौन्दर्य, पवित्रता, निश्चलता एवं दैविक, आध्यात्मिक शक्ति प्रति आशक्ति जगाउंदै संसारका आरोहीहरूको ध्यान यतातर्फ आकर्षित हुन पुग्यो । फलस्वरूप उनीहरू शेर्पाकी जननी देवीको सुन्दरता स्वच्छाता प्रति लालायित बनि उनको कोमल शरीर चिथोर्ने, कोपर्ने, नंग्याउने, भुत्ल्याउने जस्ता प्रयत्नमा तल्लिन भए । झ्योमोलुङ्ग्माप्रति उनीहरूको ज्यादती त्यत्तिमै मात्रै सिमित रहेन थप उनलाई घाइते बनाउने, काँडाधारी खराम्पम जडित बूटले लात बाजार्ने, बरफी बन्चरोले चिर्ने, बाजार्ने, उनको मुटुमा किलाकाँटा ठोक्न समेत उद्दत रहे । त्यस्तै, उनलाई निर्वस्त्र पार्न, घाइते तुल्याउन पनि हिच्किचाउन छाडे । उनीहरूको ज्यादती त्यत्तिमा मात्रै सिमित रहेन । सुन्दरी कोमल देवी माताको शरीरभरि उनीहरूले फोहोर जस्तै नाइलनका डोरी, प्लास्टिक, शिसा, टिन जस्ता खतरनाक धातुहरू, खतरनाक ब्याट्री, रसायनयुक्त औषधी, अक्सिजनका सिलिन्डर, जुत्ता आदि अप्राकृतिक वस्तुहरूको बिसर्जनले उनलाई थप कुरूप बनाउन लागे । सम्पूर्ण ब्रम्हाण्डकी देवी मानिएकी पवित्र झ्योमोलुङ्ग्माको शरीरभरी ती आरोहीहरूले मल–मुत्रसमेत बिसर्जन गरि थप दूर्गंधित एवम् प्रदुषित पार्न अहोरात्र प्रयासरत रहन थाले । झ्योमोलुङ्ग्मालाइ किच्न जित्न हिंडेकाहरूको अकालमै निधन हुन जाँदा उनीहरू मध्य बहुसंख्यकको लास समेत बिचारीले बोकी राख्नु परेको दुःखद पीडा त छँदैछ ।
हालसम्म हज्जारौंको संख्याले झ्योमोलुङ्ग्माको शीरमा लात बजारी सकेका छन् भने अनगिन्ति आरोही हरूले अमूल्य ज्यान समेत गुमाई सकेका छन् । कैयौं कामदारहरू घाइते एवं अंगभंग अवस्थामा गुज्रीरहेका छन् । त्यस्माथि लाखौंको संख्यामा झ्योमोलुङ्ग्माको पाउ देखि करिब छात्ती सम्म टेकीसक्नेहरू छन् । कत्तिपयले त केवल लात्ताले बजार्दा समेत चित्त नबुझेर बडेमान हेली नै लगि उनको शीरलाई किच्च्याउन समेत हिच्किचाएनन् भनिन्छ ।
यसरि झ्योमोलुङ्ग्माको ज्यानै समेत जोखिममा पार्ने, ज्यान समेत मार्ने गम्भीर उद्योग गर्दै आएका छन् । यो क्रम दिन दूगुणा रात चौगुणा बढ्दो क्रममा छ ।
वर्तमान अवस्था
के पिछडिएको, विकासोन्मूख, विकसित, धनी, गरीब सबै देशका निश्चित मूर्ख एवं घमण्डी व्यक्तिका झुण्डाहरू प्राकृतिक सम्पदाकी माता एवम् आध्यात्मिक देवी झ्योमोलुङ्ग्माको शरीर लुछ्न, उनलाई बलात्कार गर्न र उनको ज्यानै समेत मार्न उद्दत देखिन्छन् । अरु कुरालाई जित्न नसक्ने, आफैंले आफैंलाई समेत जित्न नसक्ने नामर्दा, मूर्ख, अज्ञानीहरू प्रकृतिकी देवी झ्योमोलुङ्ग्माको शरीरमा लात बजारी उनलाई जित्नुमा नै गौरव ठानी लागी परेका छन् । यी सबै खाले देशहरूको छाता संगठनरूपी संघ तथा तिनका अदूरदर्शी नेत्रित्वगण नै समग्र पृथ्वीकी देवी झ्योमोलुङ्ग्माको जिउ, धन, एवं मौलिकता लूट्न, नीर्बस्त्र बनाउन, उनलाई बलात्कार गर्न एवं अन्तमा हत्या नै गर्न संगठित रूपमा उद्दत रहे झैं भान हुन जान्छ।
हिमालीहरू के हेरिरहेका छन् त ?
प्राचीन कालदेखिको परम्परागत ऐतिहासिक पेशाहरूको निरन्तरता जुनसुकै शेर्पाहरूले पक्कै पनि नचाहेका हैनन् । पिता पूर्खाले सिकाएका जीविकोपार्जनका मार्गहरूमा हिड्न उनीहरू हिच्किचाएका पक्कै हैनन् । उनीहरूको आनुवंशिकी पेशाहरू अपनाई आफ्ना सन्तती एवं सभ्यताको संरक्षण, निरन्तरता र विकासमा समर्पित हुन अनिच्छुक हुँदै होइनन् । त्यसो हो भने किन झ्योमोलुङ्ग्माका आराधक शेर्पाहरू नै हिमाल आरोहणमा होमिए त ? पक्कै पनि यो एक ज्वलन्त प्रश्न हुनु पर्छ सबै जिज्ञासुहरूको ।
सबै देशी विदेशीहरू झ्योमोलुङ्ग्मा नै सर्वोच्च शीखर रहेछ भनि जान्न थाले पछि शेर्पाहरूको बासस्थान, रहन सहन नियाली उनीहरूको जीवन निर्वाहको मुख्य पेशा हिमाल वारपार ब्यापार ब्यबशाय नै रहेको बुझे । फलस्वरूप उनीहरूको जीवनरेखा रूपी पेशामा रोक लगाउने, अन्तर्राष्ट्रिय सिमानाको नाममा शेर्पाहरूको पूर्ख्यौली सम्पत्ति हिमाल पारि गुमाउन बाध्य पार्ने, बोर्डेर भनि वारपारमा समेत बन्देज लागाउने जस्ता कार्य गरि शेर्पाहरूलाई परिवन्दमा पारियो । तत्पश्चात् आफ्नै आमा वात्सल्यकी खानि रूपी देवी झ्योमोलुङ्ग्माको आरोहण गर्न ‘साहेब साहेब्नी’हरूले बाध्य पार्ने क्रम जारी रह्यो ।
बर्तमान कालसम्म भएको संरक्षणको वास्तविकता
संसारभर प्राकृतिक अतिवृष्टि अनावृष्टिको चपेटामा सम्पूर्ण प्राणी एवं बनस्पति जगत परेका छन्। बिकसित, धनी भनिएका एवं शिक्षित गनिएका राष्ट्रहरू वर्तमानकालमा प्रकृति संरक्षण गर्नु पर्छ भनि लागेका छन्। वातावरणविद भनिएकाहरू हिमाल नै समग्र पृथ्वीको पानीको श्रोत हुन् तिनको संरक्षण गर्नु पर्दछ भनि वकालत गर्दछन्। हिमालका हिउँको संरक्षण गर्नु पर्छ भन्दै हिमालकै अस्तित्वमा थप संकट थोपर्न तिनीहरूको ब्याबहार लागिपरेका देखिन्छन् । संसारभरका विज्ञ भनिएकाहरू नै दोहोरो चरित्र धारण गरि हिमालको अस्तित्वमा नाङ्गो नाच नाची रहेका छन्। झ्योमोलुङ्ग्मा भने यी सबै थिचो मिचो, अवहेलना एवं हिँसा सहेर बसीरहेकी छिन्। उनको पनि त धैर्यको बाँध एकदिन नटुट्ला भन्न त सकिन्न नि ! कि कसो ? उनको धैर्यको बाँध टुटेको दिन मानव सृजित बाँधको के हालत होला ? झ्योमोलुङ्ग्माको माथमा लात बजार्नेहरू, तिनका मतियारहरूको अस्तित्व के रहला र ? झ्योमोलुङ्ग्माको धैर्यको बाँध नटुट्दै मानव र प्रकृति बिचको सह अस्तित्व सहज स्वीकार गर्दै एक–अर्का बिचमा हातेमालो गर्दै अगाडी बढ्नुको अर्को उत्तम विकल्प होला र ?
झ्योमोलुङ्ग्माको वातावरण, पर्यावरण सुधार्ने नाममा लात्ताले उनको छात्तिमा बजारी छिया छिया पार्ने अनि हिउँ जमेन, जमाउन पहल गर्नु पर्छ भन्ने । टनका टन फोहोर झ्योमोलुङ्ग्माको ज्यानमा थुपार्ने अनि फोहोर भयो सफा गर्न लागौं भनि बिद्द्वान भै पल्टिने । अरु सबै अबुझ अनि आफैं मात्र सचेत हुँ भन्ने ढोंग देखाउने, सफाइको ढोंग रच्ने। पटक पटक नियोजित रूपमा नियमै बनाइ झ्योमोलुङ्ग्मामाथि झम्पल बर्साउने, बन्चरोले चिर्ने, शरीर माथि मूर्खको निम्ति मार्ग निर्माण गर्ने। एक मृत लाशलाई जस्तो डोरीले बाँधी बन्धक बनाउने अनि सगरमाथा बचाउने भनि पुनः अर्को ढोंग रच्ने। संसारभरको पानीको मूल श्रोत हिन्दकुश हिमालय क्षेत्रको अन्वेषण गरें र यसको संरक्षण गर्नुपर्छ भन्ने नारा लगाउने। त्यही नाममा अर्बौं बजेट थुपार्ने । अनेक नाममा हसुर्ने । अन्तमा तिनै काँडा रूपी बुट बजार्न उद्दत रहनेहरूको समूह, तिनका तलब भत्तादार ढोंगी विज्ञहरूको काल्पनिकतालाई वास्तविकता देख्ने तर योजना मुताविक अवास्तविक रिपोर्ट पेश गर्ने र काम हुँदैछ, गर्दैछु, गरें भन्ने । ती ललिपपमा लोभ्याउँदै आफ्नी आमा झ्योमोलुङ्ग्माको चीर हरण मात्र नभई उनको ज्यानै जोखिममा पार्दै, पिता पूर्खा देखिको आध्यात्मिक ईष्टदेवीलाइ लात मार्न परिबन्दमा पारि बाध्य बनाउने व्यक्ति, राष्ट्रिय, अन्तराष्ट्रिय संघ, संस्था, राज्य, एवं राज्यहरूको छाता संगठनले नै निर्णय, प्रण गरि आजसम्म जे जति अपराध गरे, गराए । करिब एक शताब्दि (१ सय ११ बर्ष) सम्म जे जति दमन गरे गराए । अपितु, त्यो सबै प्रकृतिले माफ दिने छिन् । आज उप्रान्त झ्योमोलुङ्ग्माले हाम्रा पिता पूर्खाको समयमा जे जस्तो आस्था, मान, सम्मान, सुरक्षा, संरक्षण पाएकी थिईन् ती सबै पाउने छिन् र झ्योमोलुङ्ग्मा आरोहण आजैका दिनदेखि सदाका निम्ति प्रतिबन्धित हुनेछ भन्ने प्रण, निर्णय, साथै कार्यान्वयन गर्न लागौं ।
उपाय
झ्योमोलुङ्ग्माको शरीरमा लात बजार्न छोड्नु पर्दछ । जसरी सबै राष्ट्रिय, अन्तर्राष्ट्रिय नागरिकहरू मिलेर शरीर थिलथिलो पार्न एकजूट रहे । त्यसैगरी उप्रान्त उनलाई मृत्यु शैय्याबाट पुनर्जीवित गराउन, पुनः स्वास्थ्य लाभ गर्न र स्वस्थ तन्दुरुस्त पार्न संसारको हिमाली लगायतको एक मात्रै अग्ली देवीको जीवन बचाउन एकजुट भएर लाग्नुपर्ने बेला आएको छ । सगरमाथामा लात बजार्ने, छातीमा बरफी बन्चरो प्रहार गर्ने, घोप्ने, डोरीले बाँध्ने, वस्त्र उतार्ने खेतीमा नै मान सम्मान, गर्व, गौरव गर्ने सम्पूर्ण आरोहीहरूले नै यसको पश्चाताप स्वरूप अभियानमा जुटी झ्योमोलुङ्ग्माको ज्यान मार्ने कि जीर्ण शरीरमा मलम पट्टि लगाउने भन्नेतिर सोच्नुपर्ने दिन आएको छ । केहि आरोहीहरूको निधन भैसकेको अवस्थामा पनि तिनको सन्तानले उसको माता–पिताको सङ्गीन भूल प्रति क्षमा याचना गर्दै झ्योमोलुङ्ग्मा बचाउन लाग्नुको विकल्प छैन । हामीले यही संकल्प गरौं ।
यसका निम्ति
१ सबैका निम्ति संधैका निम्ति सबैतिर (उत्तर एवं दक्षिण) बाट झ्योमोलुङ्ग्माको आरोहण निषेध गर्ने,
२ आरोहणप्रियहरूलाइ झ्योमोलुङ्ग्मा बाहेकका अन्य उपर्युक्त हिमाल उपलब्ध गराउने,
३ संसारको शीर, छाना, प्राकृतिक एवं सांस्कृतिक सम्पदाकी जननी, पूज्य, पवित्र, अध्यात्मिकताकी खानी रूपी एक मात्र सर्वोच्च शीखर झ्योमोलुङ्ग्मा सुरक्षित राख्न नसक्ने, नचाहने मानव पनि के मानव ? भविष्यमा हाम्रा पिंढीलाई हाम्रा भावी सन्ततिले दानवको संघ्या दिन पर्ने दिन आउन दिनबाट आजै रोकौं,
४ झ्योमोलुङ्ग्माकी प्रियतमाहरूलाई टाढैबाट उनको दर्शन गर्ने, भौतिक एवं अभौतिक सुन्दरताको रसास्वादन गर्ने, अद्भूत प्राकृतिक छटाहरुमा रम्न सक्ने वातावरण बनाओं
५ हिमाल जोगिएको खण्डमा मात्रै समग्र पृथ्वी एवं मानव सभ्यता जोगिने तथ्य प्रमाणित भई सकेको अवस्थामा हिमालहरुकी जननी झ्योमोलुङ्ग्मा जककगाउन सम्बन्धित निकायहरू आजै अहिले नै जुर्मुराउन अत्याबस्यक।
यदि आरोहण रोकिए स्थानिय शेर्पा एवं राज्यलाई घाटा हुन्छ कि?
एक आरोही रोकिएर के भो त? आरोहणमा रोक लगाए झन् यस प्रतिको आकर्षणमा बढोत्तरी हुनेछ। हज्जारौं, लाखौं दर्शक एवं झ्योमोलुङ्ग्मा प्रिय पर्यटक आउने छन्। स्थानीयले झन् बढी रोजगार पाउने छन्। झ्योमोलुङ्ग्माको आरोहण पश्चात् घट्दो क्रममा रहेको स्थानीय शेर्पाहरूको जनसंख्यामा बृद्दी हुन मद्दत पुग्नेछ। साहेब साहेब्निहरूको घमण्ड एवं मनोरन्जनका निम्ति कैयौं शेर्पाहरूले अकालमा ज्यान होम्नु पर्दैन। कैलाश पर्बत पनि पबित्र पर्बत मानिएको कारणले नै जोगिएकि छन्। के त्यहाँ पर्यटकको कमि छ त?
त्यसैले निस्वार्थ भावनाले प्रकृति माथि बर्बर दमन नभई दया र सम्मानको भावनाले आफ्नो मात्र नाम, मान, सम्मान, स्वार्थ नभई झ्योमोलुङ्ग्माको पनि सह–अस्तित्व स्विकार्नमै सबैको भलो हुन जान्छ।
अन्तमा,
विश्वको एक मात्र उच्च चुचुरो झ्योमोलुङ्ग्माको संरक्षण गर्न नसक्ने, नचाहने हो भने पर्यावरण, प्रकृति एवं हाम्रा भावी सन्ततिले हाम्रो पुस्तालाई पक्कै पनि धिक्कार्ने छन्। त्यस्तो मौका उनीहरूलाई किन दिने? हाम्रो पुस्ता शिक्षित, सवल, चेतनशील, विवेकशील, जिम्मेवार प्रकृति संरक्षक हो भन्ने तथ्य प्रमाणित गर्ने क्षण आजै होइन र ? तसर्थ, समग्र पृथ्वी निवासी सम्पूर्ण चेतनशील मानवहरु र राष्ट्रहरूको ऐकेबद्दतामा जोखिममा रहेको झ्योमोलुङ्ग्मा (सगरमाथा) को ज्यान जोगाउने अभियानको थालनीमा ढिला नगरौं। यस महान एवं पूण्य अभियानको प्रथम कदम स्थानिय वासिन्दा, सम्पूर्ण चेतनशील नेपाली नागरिक, नेपाल सरकार र राज्यले यथाशीघ्र चाल्नै पर्ने देखिन्छ ।

 

लेक्चरर, पी. एच. डि. रिसर्चर
लुम्बिनी बौद्ध बिश्वविद्यालय, लुम्बिनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *