काठमाडौं । ओखलढुंगाको साविक पात्ले गाविसबाट काठमाडौं आई बसोबास गर्ने शेर्पा समुदाय लक्षित गरी आयोजित श्याब्रु र शिली नृत्य प्रशिक्षण सम्पन्न भएको छ ।
नेपाल शेर्पा संघ र ओखलढुंगा पात्ले शेर्पा समाज सेवा (पात्ले किदुग) को संयूक्त आयोजनामा भएको १५ दिने श्याब्रु तथा ५ दिने शिली नृत्य प्रशिक्षण सम्पन्न भएको हो । राजधानीको कपनस्थित एक होटलमा औपचारिक कार्यक्रम गरी दुवै सांस्कृतिक नृत्य प्रशिक्षणको एकसाथ समापन गरेको नेपाल शेर्पा संघ, ओखलढुंगाका अध्यक्ष पेम्बा शेर्पाले जानकारी दिनुभयो ।
प्रशिक्षणमा श्याब्रुतर्फ २४ जना र शिलीमा ५ जना सहभागि थिए । साविक पात्ले गाविस, हाल खिजीदेम्बा ९ र मोलुङ ७ बाट काठमाडौंमा आइ बसोवास गर्ने शेर्पाहरुलाई लक्षित गरी आयोजित प्रशिक्षणको सहजिकरण थोलेदेम्बा किदुगका प्रशिक्षक मिङमार डोमा शेर्पाले गर्नुभएको पात्ले किदुगका महासचिव टेण्डु शेर्पाले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा संवोधन गर्नुहुँदै नेपाल शेर्पा संघका केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाले भाषा, कला, संस्कार, संस्कृति र परम्परागत मान्यताहरुलाई जोगाउँदै पारिस्कृत रुपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । शेर्पाहरु सांस्कृतिक तथा भेषभूषाको रुपमा धनी रहेपनि पछिल्लो समय भाषा प्रयोगसँगै संस्कार संस्कृतिहरु लोप हुँदै गएको प्रति अध्यक्ष शेर्पाले चिन्ता व्यक्त गर्नुभयो । सामाजिक संस्था र जातीय संस्थाहरु मध्ये संघको ओखलढुंगा कार्यसमितिले नमुनाको रुपमा सांस्कृतिक तथा व्यक्तित्व विकासका क्षेत्रमा महत्वपूर्ण काम गरेको भन्दै अध्यक्ष शेर्पाले प्रशंसा समेत गर्नुभयो ।
मोलुङ–७, कातिके स्थायी वतन भई अमेरिका वस्दै आउनु भएका ङवाङ शेरे शेर्पाको आर्थिक सहयोगमा आयोजित प्रशिक्षण समापन समारोहमा नेपाल शेर्पा संघका केन्द्रीय उपाध्यक्ष तेन्जी शेर्पा, केन्द्रीय सचिव लाक्पा जी शेर्पा, थोदेम्बा किदुगका अध्यक्ष शेरजाङबु शेर्पा, संघका जिल्ला सचिव आङ ङिमा शेर्पा लगायतले आफ्नो भनाई राख्नु भएको थियो ।