पर्यटन उकास्न अब ‘पाँच हप्ता–पाँच काम’ जरुरी

दीपकराज जोशी

२०७७ बैशाख १४, आईतबार


महिना दिन भयो बन्दाबन्दीमा घरभित्रै खुम्चिएको हाम्रो समाज । सामाजिक दूरीको अभ्यासमा कैद छ समग्र अर्थतन्त्र । विश्वका करिब ९० प्रतिशत मानव बस्तीहरू यस्तै परिवेशमा छन् आज । विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारी संक्रमण फैलिरहेको बेला आशंका, अनुमान, अपेक्षा र आशाका बिच गुजि्ररहेको छ समय । भाइरसले केही आशंका पैदा गरेको छ । विश्वलाई ठप्प पार्ने यो कस्तो महामारी होला, कसरी सर्छ, संक्रमित भइएमा उपचार गराउन मिल्छ/मिल्दैन, अब जनजीविकाको पाटो अझै अप्ठ्यारो हुने हो कि आदि इत्यादि ।

अर्कोतर्फ, यो समस्या धेरै लामो समय नजाला, गर्मी बढ्दै जाँदा प्रभाव घट्ला । भ्याक्सिन वा औषधि केही समयमा आउला, पेशा/व्यवसाय फेरि फस्टाउला जस्ता अनुमान पनि उत्तिकै छन् । हरेक संकटको निश्चित आयु हुन्छ, यसको पनि पक्कै होला । केही दिन त हो नि फेरि जस्ताको त्यस्तै हुनेछ । हाम्रो चहलपहल भन्ने आशा मानिसमा छ ।  अप्ठ्यारो नै परे पनि राज्य छ, दाता संस्था छन्, हुने खानेले हेर्लान, केही भगवान त पक्कै हेर्छन् भन्ने अपेक्षा पनि मानिसमा रहेको पाइन्छ ।

यसबिच मुख्य संस्था र विज्ञहरूले विभिन्न आकलन गरिरहेका छन् । दुई सयभन्दा बढी देशमा फैलिएको यो महामारीले संसारलाई नै त्रसित बनाएको छ । मानिसका अगाडि थुपै्र चुनौती थपिने क्रममा छन् । मानव जातिका लागि स्वास्थ्यको पाटो जति महत्वपूर्ण हो, त्यतिकै महत्वपूर्ण सामाजिक र आर्थिक पाटो पनि हो । यस परिवेशमा आर्थिक क्षेत्रको संकट एक नयाँ च्याप्टरका रुपमा आउन बाँकी नै छ । चलचित्रहरूमा ‘क्लाइमेक्स’ आउन बाँकी रहे जस्तै ।

पर्यटन क्षेत्रका व्यवसायी, व्यवसाय, र कामदारहरूको पेशा बचाउन राहत दिने तथा सबल बनाउने प्याकेज ल्याउने कामलाई प्राथमिकता दिँदै अहिलेलाई पाँच हप्तामा पाँचवटा काम गर्न सक्यौँ भने भोलिका लागि त्यसले बलियो आधार तय गर्नेछ
एक देशदेखि अर्को देश र एक सहरदेखि अर्को सहर मात्रै होइन । छिमेकको आवतजावत समेत बन्द भएको अवस्थामा यसको प्रभाव शतकौंमा देखिएका संकटमध्ये सबैभन्दा बढी छ । त्यसमा पनि प्रत्यक्ष असर त यसले पर्यटन उद्योगमा पारेको छ । जुन एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्दा र त्यतिखेर गरिने गतिविधिले सिर्जित हुने अर्थतन्त्र हो ।

अहिले ससर्ती हेर्दा होटल, रिजोर्ट, ट्राभल, ट्रेकिङ, र्‍याफ्टिङ, एयरलाइन्स, रेस्टुरेन्टजस्ता क्षेत्रमा करिब एक खर्ब ६० अर्ब जतिको आय पर्यटन क्षेत्रले गुमाउने अनुमान गरिएको छ । प्रत्यक्ष, अप्रत्यक्ष र यसको प्रत्यक्ष सप्लाई चेन गरी पर्यटन क्षेत्रमा सिर्जित करिब १३ लाख जनशक्तिको रोजगार संकटमा पर्ने देखिन्छ ।

पर्यटन उद्योगमा मात्रै चार खर्बभन्दा बढीको बैङ्क तथा वित्तीय क्षेत्रको लगानी रहेको प्रारम्भिक अनुमान छ । नयाँ संविधानको अभ्याससँगै आएको स्थिर सरकार, देशमा बढ्दो विकासोन्मुख सोच र मानसिकता, २० लाख पर्यटन भित्र्याउने लक्ष्यसहित घोषित भ्रमण वर्ष २०२०, सुधि्रँदै गएको र विस्तार हँुदै गएको पूर्वाधारका कारण यस क्षेत्रमा ठूलो मात्रामा लगानी बढिरहेको अवस्था थियो । आफ्नै वर्षौंदेखि आर्जेको सम्पत्ति तथा ठूलो मात्रामा बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएर गरिएका लगानी पनि जोखिमयुक्त बनेका छन् ।

महामारीले महासंकट त ल्याएको छ । तर, हरेक संकटको एक विशेषता हुन्छ :

१ .पश्चाताप – संकट आउनुभन्दाअघि ‘हत्तेरीका ! यो तयारी किन गरिएन होला, यसो गर्‍या भए अहिले यसो हुँदैन थियो की’ भन्ने अवस्थाबाट गरिने पश्चाताप ।

२. चिन्ता – यो संकटले त बर्बाद पार्‍यो कसरी झेल्ने होला ? कसरी पार पाउने होला भन्ने चिन्ता ।

३. पार पाउने उपाय – अब संकटबाट कसरी बच्ने, यसलाई कसरी पराजित गर्ने भन्ने चिन्तन गर्दै संकटग्रस्त अवस्थाबाट यथाशीघ्र सामाजिक-आर्थिक पुनरुत्थानतर्फ लैजाने उपायको खोजी गर्ने ।

हरेक संकटको एउटा आयु हुन्छ । कोरोना भाइरस महाप्रकोप पनि केही समयपछि हराउने नै छ । धेरै विज्ञले यसको पूर्णतः मोचन भ्याक्सिन वा एन्टिभाइरल ड्रग बजारमा सहज रुपमा उपलब्ध हुन थालेपछि मात्र हुन्छ भन्ने अनुमान छ । यद्यपि यो संकट कति लामो जान्छ र अहिले के गर्ने भन्ने पक्षमा यकिन हुन सक्ने अवस्था छैन ।

तथापि एक निश्चित स्वास्थ्यसम्बन्धी र संक्रमणबाट जोगिने मापदण्डसहित बिस्तारै ट्राभलमा रहेको नियन्त्रण खुकुलो हुँदै जानेछ । आन्तरिक र क्षेत्रीय आवागमन यहीमध्ये जेठबाट सुरु हुन सक्नेमा आशावादी हुन सकिन्छ ।

पर्यटन उद्योगलाई बचाउन र फेरि पुरानै लयमा फर्काउन गर्नुपर्ने धेरै कामको लामै सूची हुनेछ । गर्नुपर्ने र हुनुपर्ने सबै कामको सूची तयार गर्नुभन्दा वा सबै काम एकैपटक सुरु गर्न सम्भव छैन ।

पर्यटनमा लामो समयदेखि अनुभव र विज्ञता राखेका व्यक्तित्वहरूलाई सम्मिलित गराई एउटा पर्यटन पुनरुत्थानका लागि नयाँ संयन्त्र बनाउनुपर्छ
सुरक्षाका लागि डिसइन्फेक्सन 

अब यात्रामा निस्कने हरेक पर्यटक, स्वदेशी/विदेशी, दुवैले गन्तव्य वा गतिविधि छनौट गर्दा स्वास्थ्यसम्बन्धी तयारीलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।

त्यसैले यात्रा गर्ने साधन जस्तै- हवाईजहाज, बस, कारलाई डिसइन्फेक्सन गर्नुपर्नेछ । बास बस्ने स्थानजस्तै होटल/रिसोर्ट/होमस्टे/टेन्ट, पर्यटन सेवा र गतिविधिका स्थल जस्तै, विमानस्थल, बसस्टप, टिकट तथा चेकइन काउन्टर, संग्रहालय, र्‍याफ्टिङ्ग/बन्जी/प्याराग्लाइडिङ/साइक्लिङ्/बोटिङ/हात्ती सवार/सफारी जस्ता गतिविधिका साधनलाई नियमित रुपले डिसइन्फेक्ट गर्नुपर्छ ।

सफाइ तथा हाइजिनको मापदण्ड बनाउने, यात्रुबीच भौतिक दुरी कायम राख्ने जस्ता कार्य गर्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि संलग्न एउटा संयन्त्र बनाउने, त्यसको म्यानुअल (चेकलिस्ट सहितको) बनाउने र नियमित अनुगमनको आवश्यकता छ । यसरी गरिएको व्यवस्थाका बारेमा एउटा इन्फोग्राफिक्स सामग्री बनाइ मुख्य स्रोतबजारका सरोकारवाला, सञ्चार क्षेत्र, दूतावासमार्फत सम्पे्रषित गर्ने जसले नेपालको सक्रियता र तयारीका बारेमा सकारात्मक सन्देश दिनेछ ।

व्यापक तालिम तथा अभिमुखीकरण 

पर्यटन क्षेत्रमा र पर्यटन क्षेत्रका लागि अग्रपङ्क्तिमा काम गर्ने जनशक्ति, उद्यमी, व्यवसायी, कामदारहरूलाई संक्रमण रोक्न गर्नुपर्ने व्यवहार र उपायबारे तालिम प्रदान गर्नुपर्छ ।

हरेक संकटले एउटा नयाँ अवसर ल्याएको हुन्छ । तर, त्यो अवसरलाई चिन्ने र त्यसबाट फाइदा लिनसक्ने हाम्रो क्षमता नहुँदा आउने अवसर गुम्ने हुन्छ । तसर्थ विज्ञहरूबाट यसखालको क्षमता अभिवृद्धि गराउने तालिम वा अभिमुखीकरण गर्नुपर्छ ।

लकडाउनकै अवस्थामा अनलाइन सेमिनारबाटै यो काम गर्न सकिन्छ । युवाहरूलाई दीगो पर्यटनका लागि उत्पे्ररित गर्न यस संकटपछि नवीनतासहित वातावरणमैत्री, दीगो पर्यटन, डिजिटल इनोभेसन, संकटको समाधान जस्ता विषयवस्तुमा केन्द्रित उद्यमशीलता जन्माउन स्टार्टअप/सिडक्याम्पको सुरुवात गर्ने ।

त्यसैगरी, रिभाइभलका लागि पहिलो र महत्वपूर्ण स्रोतबजार भारत नै हुने भएकाले त्यहाँका  टीएएफआई (ट्राभल एजेन्ट फेडेरेसन अफ इन्डिया) आइएटीओ (इन्डियन एसोसिसन अफ टुर अप्रेसन), एफएआईटीएच (फेडेरेसन अफ एसोसिएसन अफ इन्डियन टुरिजम एन्ड हस्पिटालिटी)जस्ता संस्थासँगको समन्वयमा नेपालको अवस्था र कोरोनापछिका तयारीबारे अनलाइन अभिमुखीकरण गर्ने कार्यको सुरुवात गर्ने । यसका लागि भारतीय पर्यटनकर्मी तयार पनि छन् ।

आन्तरिक पर्यटन प्रवर्द्धन अभियानको तयारी 

पर्यटनमा आउने संकटपछि ‘रिभायभ’ हुने पहिलो सेगमेन्ट आन्तरिक पर्यटन नै भएको हुँदा यसको प्रवर्द्धनको लागि एक अभियानको तयारी गर्नुपर्छ । नयाँ वर्षको क्यालेन्डर सुरु हुँदैछ । हप्ताको दुईदिने बिदा पुनः सुरु गर्नुपर्छ । करिब १० वर्षअघि केही समयका लागि यो लागू थियो ।

सरकारी तथा निजी क्षेत्रका संगठित संस्थामा कार्यरत कर्मचारी १० लाखभन्दा बढी छन् । उनीहरूलाई वर्षमा दुईपल्ट सात दिन र पाँच दिन गरी जम्मा बाह्र दिनको खर्च सहितको भ्रमण बिदामा पठाउने कार्यक्रम नयाँ आर्थिक वर्षदेखि लागु गर्नेे र यस्ता भ्रमण कम्तीमा एक वर्षका लागि ठूलो लगानी भएका क्षेत्र र गतिविधिमै केन्द्रित हुनु पर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्छ ।

पर्यटन गन्तव्य र गतिविधिहरूको स्तरोन्नती 

आगामी २/३ वर्षसम्म हामी कहाँ २० लाखभन्दा बढी पर्यटक आउन सक्ने अवस्था देखिँदैन । त्यसैले नयाँ गन्तव्यको खोजी वा विकासमा हामीसँग रहेको सीमित साधन र स्रोत लगानी गर्नुभन्दा विद्यमान अवस्थामा रहेका मुख्य पर्यटकीय गन्तव्य जस्तै, काठमाडौं उपत्यकाका विश्वसम्पदा सूचीमा परेका स्थल, पोखरा/चितवन/लुम्बिनी जस्ता क्षेत्र, राष्ट्रिय निकुन्ज वरिपरिका क्षेत्र, मुख्य पदयात्रा मार्ग र र्‍याफ्टिङ रिभरको सौन्दर्यीकरण, सफाइ, मर्मत, तथा साइनेज स्थापना गरी स्तरोन्नतीको काम गर्नुपर्छ । जसमा हाल बेरोजगार रहेका पर्यटन क्षेत्रमा संलग्न कामदारलाई पनि लगाउन सकिन्छ ।

पुनरुत्थानका लागि विशेष संयन्त्र र विशेष कार्यक्रम 

संकटबाट यथाशीघ्र उम्कने मुल मन्त्र भनेकै एकता, समन्वय, र सहकार्य नै हो । जति धेरैलाई एउटा मिसनमा सक्रिय बनाउन सकियो त्यति नै छिटो पर्यटनमा पुनरुत्थान गर्न सकिन्छ । अहिले भ्रमण वर्ष २०२० अभियान र सचिवालय स्थगन गरिसकिएको अवस्था छ ।

यस्तो बेलामा पर्यटनमा लामो समयदेखि अनुभव र विज्ञता राखेका व्यक्तित्वहरूलाई सम्मिलित गराई एउटा पर्यटन पुनरुत्थानका लागि नयाँ संयन्त्र बनाउनुपर्छ । यसले पर्यटन रिभाइवलको योजना तथा कार्यक्रम बनाउने, मन्त्रालय र मन्त्रालय अन्तर्गतका मुख्य निकायहरूका लागि थिङ्क ट्याङ्कको काम गर्ने र अन्य मुख्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्ने, अन्तर्राष्ट्रिय नेटवर्कलाई उपयोग गर्ने र २०२२ सम्म ‘रिभाइवल’का लागि विशेष कार्यक्रमहरू बनाइ कार्यान्वयन गर्ने र छिटोभन्दा छिटो पर्यटन पुनरुत्थान गर्नका लागि सक्रिय भूमिका खेल्नेछ ।

साथै, यस खालको संयन्त्रले पर्यटनमन्त्रीले भन्दै आउनुभएको नेपाल पर्यटन दशक २०२०-२०३०को महाअभियानका लागि महत्वपूर्ण आधार पनि बनाउन सक्नेछ ।

(जोशी नेपाल पर्यटन बोर्डका निवर्तमान सीईओ हुन्)

@onlinekhabar

दीपकराज जोशीका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho