निजी अस्पताललाई तत्काल सरकारीकरण गरौंः लाक्पा शेर्पा

लाक्पा शेर्पा

२०७६ चैत्र २२, शनिबार


‘कोभिड १९’ अर्थात कोरोना भाइरसले बिश्वमानव जगतको अस्तित्व नै संकटमा रहेको अवस्थामा नेपालमा पनि कोरोेना संक्रमितको संख्या दिनानुदिन थपिँदै गएको छ । यसले आम नेपालीहरुमा  अझ संन्त्रास बढेको छ । यस्तो महासंकटको अवस्थामा पनि सरकारले खरिद गरेको अति आवश्यक स्वास्थ्य सामाग्री गुणस्तरीय नभएको र त्यसमा दशौं गुणा बढी भ्रष्टाचार भएको समाचारले जनसमुदायमा आक्रोस पैदा गरेको छ । त्यस सम्बन्धि परेको रिट उपर अख्तियारले छानबिन कार्य सुुरु गरेको भन्ने समचार अर्को पाटोमा छ ।
देश यस्तो महासंकटमा फसेको अवस्थामा पनि भ्रष्टाचारको बिषय उठ्नु आफैमा लाजमर्दो  बिषय हो । “अरुलाई के को धन्दा, घर ज्वाईलाई खानुकै धन्दा’ भन्ने नेपाली उखान झैं आम नेपाली जनता यो महाविपत्तिमा फसेको बेला सरकारी निकायका अधिकारीहरु भने कमिसन र घुसमा नाङ्गो रुप देखाएर निर्लज्जता प्रदर्शन गरिरहेको छ । चीनको वुहानमा कोरोना भाईरस संक्रमित भेटिएसंगै आजसम्म  दुई सय भन्दा बढी देशमा कोरोना संक्रमण फैलिसकेका छन् । चीनपछि नेपाल पाँचौं देशको रुपमा संक्रमण भित्रीएको देश हो । चीनबाटै आएको एक यूवामा कोरोना संक्रमण पुष्टि भएको थियोे । त्यो करिब तीन महिना भन्दा अघिको कुरा हो । यतिका लामो समय हँुदा पनि सरकारको तयारी भने जस्तो हुन सकोके छैन । अझ विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमको  अवस्था भनेर सचेत गराएको पनि महिनौं भैसक्यो । यी अवधि भर सरकार के हेरेर बस्यो ? सरकार पूर्व तयारीमा किन लागेन ? यसको उत्तर सरकारले जनजनलाई प्रष्ट भाषामा दिनुपर्छ ।
अहिले ‘कोभिड १९’ संक्रमितलाई चेकजाँच गर्ने ‘कीट’ नक्कली छ, भनेर स्वयम् स्वास्थ्यकर्मीहरुले भनिरहेका छन । यो सामन्य बिषय होईन, यहीँ गुणस्तरहीन किटमा परीक्षण गर्दा ‘नेगेटिभ’ देखिएको ब्यक्तिमा  कथंकदाचित पोजेटिभ रहेछ भने अनि त्यो व्यक्ति गाउँ घर शहर डुल्न थाल्यौं भने स्थिति भयवह बन्नसक्छ । त्यसको जिम्मेवारी कसले लिन्छ ? केही समयअघि मात्रै कोरोना संक्रमण आशंकामै बलराम थापाले ज्यान गुमाउनु प¥र्याे । पहिलेनै चेकजाँच गरेर उपचार भएकोे भए थापाको ज्यान जोगिने थियो की ! आज करिब पौने ३ करोड आम नेपाली यो जोखिमबाट बच्न सरकारकै निर्देशन पालन गरेर लकडाउनमा बसेका छन् । ती नेपालीहरुको जीवनमा खेलवाड गर्ने अधिकार कसैलाई  छैन ।
गिद्धहरुलाई फूलबारीमा फुलेका सुगन्धित फूलहरुको वास्त हुदैन । उसको चारैतिर सिनो खाने हो । जतिसुकै उराठ मरुभूमिमा पनि उ सिनोकै खाजिमा हजारौं माईल सवार गर्छ । हरेक दिन उ सिनोको खोजिमा भौतारी रहन्छ ।  राज्यको महत्वपूर्ण जिम्मेवारी लिएर बसेका केही जिम्मेवार ब्यक्तिहरु पनि सिनोमुखी गिध्द झै भएको देखिन्छ  । सारा देश नै यो महासंकटमा फसेको अवस्थामा भ्रष्टाचारमा मात्रै रमाउने, कमिसन र घुसनै जताततै देख्ने कस्तो बिडम्बना हो ?


लकडाउनका कारणले आज नेपाल र भारतको सिमानामा हजारौंको संख्यामा नेपालीहरु अलपत्र अवस्थामा रोकिएका छन । रोजिरोटीको लागि प्रदेसियका नेपालीहरुलाई आफ्नो देश भित्र्याउनुका सट्टामा उल्टै जताबाट आएको हो उतै जाउ शैलिमा सरकार प्रस्तुत भएको छ । कोरोना संक्रमण बढेपछि अन्य देशहरुले फर्कन चाहने आ–आफ्ना नागरिकलाई फिर्ता लगिरहदा हाम्रो सरकार भने  मुखदर्शक भएर बसेको छ । दुबैतिर लकडाउन भएपछि ‘मर्नुपरे पनि मेरै देशमा गएर मर्छु’ भन्दै ज्यानै जोखिममा राखेर महाकालीमा हामफाली नाङ्गै आफ्नो देश आएका यूवालाई हिरासतमा राख्नुका सट्टा अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै, सम्झाई बुझाई क्वारेन्टाइनमा राख्नु पर्दथ्यो ।  नागरिकको राज्य अभिभावक हो समस्यामा परेका आफ्ना नागरिकलाई पहिला समस्याबाट मुक्त गराउनु र पछि कानुन सिकाउनु राज्यको दायित्व हो । रोजगारीका सिलसिलामा बिदेशीने यूवा सरकारको तथ्याङ्क अनुसार भारतमा मात्र १५ लाख र खाडी मुलुकमा ३५ लाख नेपालीहरु छन् । उनीहरुले पठाएको रेमिट्यान्स बार्षिक रुपमा ९ खर्व रुपैयाँ भन्दा बढी देशका लागि भित्रिन्छ । त्यहीँ रकमबाट देश चलेको छ तर आज कोभिड १९ संक्रमणबाट ज्यान जोगाउन आफ्नो देश फर्कन खोज्दा अलपत्र अवस्थामा पार्नु दुःख लाग्दो बिषय हो ।
यस्तो अवस्थामा मानवीय सेवामूलक उद्देश्यले खुलेका निजि क्षेत्रका अस्पतालहरुले  देश बिपत्तिमा फसेको बेलामा आफूले सकेको सहयोग खुल्ला हृदयले गर्नुपर्दछ । सामान्य रुघाखोकी र ज्वारो देख्ने बित्तिकै बिरामीलाई मूलद्ध्वारबाट फिर्ता पठाउने कार्यले निजि अस्पताल देश र जनता प्रति उत्तरदायी भएको देखिएन । यो  महाविपत्तिले आम नेपालीमा संत्रास फैलिरहेको समयमा निजि अस्पतालको यस्तो भुमिकासुहाउँदा पटक्कैे हैन । यसले निजि अस्पताल माथि पहिल्यैदेखि लाग्दै आएको  ’सेवाका नाममा लास माथि व्यापार गर्छन’ भन्ने आरोपलाई बल पुगेको छ । यस्तै व्यवहार निजि अस्पताल सञ्चालकहरुको रहिरहने हो भने  जति सक्दो निजि अस्पतालहरुलाई राष्ट्रियकरण गर्नमा राज्यले बिलम्व गर्नु हुँदैन ।
माथिका कुराहरुलाई सम्झिदा सबैलाई दिक्क लागेर आउँछ नै । मनमा प्रश्न हरेक नेपालीलाई उठ्न सक्छ । सरकार आज कहाँ अल्मलिएको छ ? सरकार भनेको त सम्पूर्ण राज्यको प्रशासनिक संयन्त्रलाई नै एक रुपमा सरकार भनेर चिनिने हो । सम्पूर्ण शक्ति भएको संयन्त्र कहाँ गएर केमा भुलेको छ त ? आज सायद प्रत्येक नागरिकको मनमा उब्जिएको प्रश्न यहि हो । ‘स्याल कराउनु बाख्रो हराउनु’  भने झैँ कोरोना भाईरस संक्रमणको  बढी हल्ला चलाएर, धन्दा भ्रष्टाचारको गर्ने काईदा यत्रो शक्तिशाली सरकारका जिम्मेवार अधिकारीले जानेर वा नजानेर रोजे भबिष्यमा यो देशका लागि धेरै महंगो पर्ने निश्चित छ । किनकी, यो महाविपत्तिको समयमा ‘कात्रो किन्दा पनि भ्रष्टाचार’ गर्ने मनोबृत्ति यसरी मौलाएर गयो । यो सरकारले यसको निराकरण खोज्नुको विकल्प छैन । होईन भने स्वभिमानी नेपालीको शिर संधै  निहुरिरहने छ । यो महशुस आज हरेक नेपालीजनको मनमनले गरेको छ । यो पक्कै पनि क्षमा योग्य बिषय होईन ।
 

(लेखक पूर्व उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवका स्वकीय अधिकृत तथा हाल नेपाल शेर्पा संघका महासचिव हुन ।)
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho