लोसारको तिथि सच्याउन शेर्पा संघको माग
ङावा शेर्पा
२०७६ चैत्र १९, बुधबार

काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघ संघीय कार्यसमितिले २०७७ सालको लोसारो तिथि त्रुटी भएको भन्दै सच्याउन माग गरेको छ । गृह मन्त्रालयले चैत १७ गते प्रकाशित राजपत्रमा २०७७ चैत १ गते ग्याल्पो लोसार तोकिएपछि त्यसलाई त्रुटी भन्दै संघले सच्याउन भनेको हो ।
नेपाल सरकारले २०७६ चैत्र १७ गते प्रकाशित नेपाल राजपत्र (खण्ड २९, संख्या ५१) मा एक बर्ष भरिमा सबै सरकारी कार्यालयको लागि सार्वजनिक, पर्व एवं सट्टा विदा र कार्यालय समय निर्धारण गर्ने सम्वन्धी सूचनाको खण्ड २.२ को उपखण्ड (ञ) ‘हिमाली आदिवासी शेर्पाहरुले मनाउने ग्याल्पो लोसार, चैत १ गते आइतबार’ उल्लेखित गरेको थियो तर शेर्पा लगायत हिमाली आदिवासी समुदायले मान्दै आएको लोसारको खास तिथि भने भोट चन्द्र पात्रो अनुसार २०७७ माघ ३० गते पर्छ ।
सरकारले लोसारको अवसरमा सम्बन्धित समुदायलाई विदा घोषणा गरेर केही हदसम्म सम्मानयोग्य निर्णय गरेपनि तिथिमा त्रुटी गर्दा समस्या भएको संघका महासचिव लाक्पा शेर्पाले बताए । यस सम्वन्धमा संघले गृह मन्त्रालय, संस्कृती मन्त्रालयलाई पत्र लेख्दै पञ्चांग निर्णायक समितिलाई बोधार्थ समेत दिएर मिति सच्याउन भनेको अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिए ।
संघको पत्रको व्यहोरा यस्तो छः
नेपाल बहुल धार्मिक, बहुल सांस्कृतिक, जातीय विविधतायूक्त, विभिन्न धर्म–संस्कार, संस्कृति मान्ने समुदायहरु मिलेर बनेको मुलुक हो । सबै समुदायको आ–आफ्नै धार्मिक र सांस्कृतिक महत्व बोकेको चाडपर्वहरु छन् । यसै मध्ये शेर्पा लगायत हिमाली समुदायको ग्याल्बो लोसार एक प्रमुख चाड हो । मुलुक एकात्मक राज्य प्रणालीलाई अन्त्य गर्दै परिवर्तनशील संघीय राज्य प्रणालीमा रुपान्तरण भई अघि बढीरहेको छ । मुलुकमा सबै जातजातिको सम्मानजनक उपस्थिती र राज्यमा पहुँच स्थापना गर्दै समृद्ध नेपाल निर्माणको अभियानमा हामी निरन्तर छौं । वहुरंगी संस्कृतिका धनी नेपाल यी नै विभिन्न आस्था र अवस्थाहरुलाई मिलाएर अघि बढ्न सकेको खण्डमा मात्रै राजनैतिक स्थिरता, दिगो शान्ति, छिटो समृद्धी हात लाग्ने कुरामा दुइमत छैन ।
विशेषताः आफ्नो गौरवपूर्ण इतिहास बोकेको शेर्पा समुदायले नेपालको सभ्यता निर्माण, राजनैतिक परिवर्तनका आन्दोलनमा मात्रै नभएर जोखिमपूर्ण पर्वतहरुमाथि सफल आरोहण गरी प्रकृति माथि नै विजयी हासिल गरेको जाति हो । शेर्पा समुदाय कै कारण विश्वमा नेपाललाई चिनाएको छ भने पर्यटन प्रबद्र्धनका माध्यमबाट मुलुकको आर्थिक समृद्धीमा ठूलो टेवा पुगेको छ । भाषा, धर्म, संस्कार, संस्कृति र परम्परागत मान्यताहरुलाई स्थापना गर्दै मुलुकभित्र छरिएर रहेका सबै जातिको कला, साहित्य, इतिहासलाई जोगाउँदै पहिचानका आधारमा उनीहरुलाई स्थापित हुन दिनुको विकल्प छैन ।
यस सन्दर्भमा, नेपाल सरकारले मिति २०७६ चैत्र १७ गते प्रकाशित नेपाल राजपत्र (खण्ड २९, संख्या ५१) मा एक बर्ष भरिमा सबै सरकारी कार्यालयको लागि सार्वजनिक, पर्व एवं सट्टा विदा र कार्यालय समय निर्धारण गर्ने सम्वन्धी सूचनाको खण्ड २.२ को उपखण्ड (ञ) ‘हिमाली आदिवासी शेर्पाहरुले मनाउने ग्याल्पो लोसार, चैत १ गते आइतबार’ उल्लेखित गरी सम्वन्धि समुदायले विदा पाउने गरी व्यवस्थापन गरेको पाइयो । तथापी शेर्पा तथा हिमाली आदिवासी समुदायले मान्ने राष्ट्रिय चाड ग्याल्पो लोसार भोट चन्द्र पात्रो अनुसार २०७७ माघ ३० गते (ग्याल्पो लोसार २१४८) हुनुपर्नेमा अन्यथा भएकाले उक्त त्रु्टीलाई तत्काल सच्याई पुनः प्रकाशनको माग गर्दै ग्याल्पो लोसारको अवसरमा सम्वन्धित समुदायले मात्रै नभई उक्त लोसार मान्ने समुदाय, क्षेत्र समेतमा विदाको व्यवस्था गरी दिन हुन समेत अनुरोध छ ।
साथै, आदिवासी समुदायको चाडपर्वको बारेमा पञ्चांग निर्णयक समितिको असवधानीका कारण त्रुटीहरु पटक–पटक दोहोरिएकाले उप्रान्त सम्वन्धि समुदायका विज्ञसँगको परामर्शमा तिथिमिती तोक्ने व्यवस्थातर्फ समेत ध्यानाकर्षण गराउन चहान्छु ।