लोसार साँझमा शेर्पा विद्यार्थीहरु पुरस्कृत

कर्मा शेर्पा

२०७६ फाल्गुन २५, आईतबार


काठमाडौं (शेर्पाखबर) । लोसारको अवसरमा आयोजित कार्यक्रममा विभिन्न विधामा विद्या पुरस्कार प्रदान गरेको छ । नेपाल शेर्पा विद्यार्थी संघद्धारा आयोजित ‘शेर्पा लोसार साँझ २१४७’ कार्यक्रमको अवसरमा पुरस्कार प्रदान गरेको हो ।  
संघले बार्षिक रुपमा प्रदान गर्दै आएको पुरस्कार नगद राशीसहित प्रमाण पत्र रहेको छ । विभिन्न विद्यालय, क्याम्पसमा माध्यमिक देखि उच्च शिक्षा हासिल गर्दै गरेकाका शेर्पा विद्यार्थीहरु लक्षित गरी पुरस्कार प्रदान गर्ने गरेको निवर्तमान अध्यक्ष साङ्गे मिङमा लामा शेर्पाले जानकारी दिए ।


संघीय सांसद जीपछिरिङ लामा शेर्पाले आयोजित कार्यक्रममा शेर्पा विद्यार्थीहरुलाई उक्त विद्या पुरस्कार प्रदान गरेको अध्यक्ष डेमा छिरिङ शेर्पाले जानकारी दिइन् । 
विभिन्न विधामा स्थापना गरेको पुरस्कार व्यक्ति तथा सामाजिक संस्थाहरुले प्रयोजन गरेका छन् । पुरस्कारबाट युवा विद्यार्थीहरुलाई पठन संस्कारमा अघि बढ्न प्रेरणा मिलेको संयोजक पासाङ शेर्पाले जनाए । 
सोही अवसरमा शेर्पा समुदायबाट विभिन्न विषयमा विद्यावारिधी गर्ने, डाक्टर उपाधी हासिल गर्ने, अधिवक्ता, एसइइमा सर्बोत्कृष्ठ नतिजा हासिल गर्नेहरुलाई सम्मान गरेका थिए । 
कार्यक्रममा बोल्दै नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पाले गरीव तथा जेहेन्दार शेर्पा विद्यार्थीहरुको प्रोत्साहनका लागि संघले छुट्टै पुरस्कार तथा छात्रवृत्तिको स्थापना गर्ने बताए । उनले भने ‘हामीले छात्रवृत्ति तथा पुरस्कारहरु स्थापना गर्ने घोषणा गरेका छौं । तर, त्यो एकद्धार प्रणालीबाट हुन्छ । यो कार्यक्रम हामी विद्यार्थी संघमार्फत अघि बढाउँछौं ।’ उनले अघि भने यसखाले कार्यक्रममा शिक्षा क्षेत्रमा हाम्रो उपस्थित बढ्ने र निजामाति तथा राष्ट्र सेवाको क्षेत्रमा पहुँच अभिवृद्धि गर्न प्रेरणा र सफलता मिल्नेछ ।’
व्यवहारिक र वैज्ञानिक संघीय शिक्षा प्रणाली नारा दिएर आयोजना गरेको कार्यक्रममा शिक्षा क्षेत्रमा शेर्पा समुदायको व्यापक सहभागितामा जोड दिएको महासचिव पासाङ शेर्पाले जनाए । 
औपचारिक र अनौपचारिक गरी विभाजन गरेर सञ्चालन गरेको कार्यक्रमको पहिलो भागमा बोल्दै पूर्व पर्यटन मन्त्री कृपाशुर शेर्पाले शेर्पाहरु शान्तिकामी, इमान्दार भएको बताए । उनले भने ‘हामी हाम्रो स्वभाव अनुसार व्यवहार गर्दै छौं । अब राज्यमा पहुँच वृद्धि गर्न युवा विद्यार्थीहरुले इमान्दारिताका साथ थप मिहिनेत गर्नुपर्ने हुन्छ । त्यसका लागि समाजको अगुवा भएका नाताले हामीले खेल्नुपर्ने भूमिका खेल्न हामी तयार छौं ।’
 


प्रमुख अतिथिको आसनबाट बोल्दै सांसद जीप छिरिङ लामा शेर्पाले समाज रुपमान्तरण र अग्रगमनमा शेर्पा विद्यार्थीहरुले खेलेको भूमिका अनुकरणीय रहेको भन्दै प्रशंसा गरे । युवाहरुलाई राजनैतिक, सामाजिक र अन्य क्षेत्रमा अघि बढ्न आफूले जुनसुकै खाले सहयोग गर्न समेत तयार रहेको उनले बताए ।
कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सदस्य आङ काजी शेर्पा किसान, नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पा, लोकतान्त्रिक शेर्पा संघका अध्यक्ष लाक्पा ठिलेन शेर्पा, महाबाणिज्यदूत आङ छिरिङ शेर्पा, प्रथम शेर्पा लेखिका लाक्पा फुटी शेर्पा, गायक लाक्पा शेर्पा लगायत उपस्थित थिए । 
अनौपचारिक खण्डमा चर्चित कमेडियन सन्दीप क्षेत्री, कमल खत्री, दावा के शेर्पा, तेम्बो शेर्पा लगायतले आफ्नो प्रस्तुती दिए । 
त्यस्तै, विभिन्न किदुगका कलाकारहरुले स्याब्रु नृत्य पस्किए भने सेलो, नेपाली गीतमा बाल कलाकारदेखि संघका केन्द्रीय सदस्य समेतले आफ्नो प्रस्तुती दिए । कार्यक्रमका उत्ताद्र्धमा डिजेमार्फत मनोरञ्जन प्रदान गरे ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho