पदाधिकारी स्थानीय नै पाएपछि बौद्ध विश्वविद्यालयको गति तिब्र

शेर्पाखबर

२०७६ फाल्गुन २२, विहिबार


बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना भएको १५ वर्ष पुग्नै लाग्यो । तर, यसबारे धेरै बेखबर नै थिए । ऐनमा यो विश्वविद्यालय लुम्बिनीमै रहने उल्लेख भए पनि पदाधिकारीहरूले काठमाडौंकै सम्पर्क कार्यालयबाट सेवा–सुविधा बुझ्ने गरेका थिए ।


स्थापनाको १० वर्षपछि मात्रै बौद्ध विश्वविद्यालयले लुम्बिनीमा पठन पाठन गर्न थाल्यो । पछिल्लो चार वर्षमा भने विश्वविद्यालयले फड्को मारेको छ । काठमाडौंको दुई कोठामा सीमित रहेको विश्वविद्यालय अहिले सबैले देखिने गरी विकास भइरहेको छ । चार वर्षको अन्तरमा ठूला संरचना तयार भएका छन् । शैक्षिक कार्यक्रमको विस्तार भएको छ ।

‘लुम्बिनी क्षेत्रबाटै पदाधिकारी चयन भएपछि विश्वविद्यालयमा देखिने गरी विकास भयो,’ जानकारहरू भन्छन् । सरकारले काठमाडौंमा रहेका विश्वविद्यालयका सम्पर्क कार्यालय हटाउने निर्णय गरेसँगै काठमाडौंमा सीमित रहेका पदाधिकारी बाध्य भएर लुम्बिनी आएका हुन् ।

स्थापनाको एक दशक गतिहीन भएर गुज्रिएको लुम्बिनी बौद्ध विश्वविद्यालय स्थानीय पदाधिकारी पाएसँगै बामे सर्न थालेको छ
विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य केन्द्रीय क्याम्पसका पूर्व सहायक प्रमुख हुन् । आचार्य लुम्बिनीमै आएर पदभार ग्रहण गर्ने पहिलो पदाधिकारी हुन् । उनको नियुक्तिसँगै विश्वविद्यालयका अन्य पदाधिकारीहरू पहिलो पटक लुम्बिनी आए । त्यसलगत्तै लुम्बिनीबाटै शैक्षिक कार्यक्रम सुरु गरिएको थियो ।

विश्वविद्यालयका पदाधिकारीहरू काठमाडौंमै बस्ने प्रवृत्तिका कारण विश्वविद्यालयले स्थापनाको लामो समयसम्म शैक्षिक गतिविधि सञ्चालन गर्न सकेको थिएन । दुई वर्षअघि सरकारले विश्वविद्यालयका काठमाडौंमा रहेका सम्पर्क कार्यालय हटाउने निर्णय गरेपछि सबै पदाधिकारीहरू अहिले लुम्बिनी हाजिर हुने गरेका छन् ।

विश्वविद्यालयका पदाधिकारीहरू दोहोरो सुविधा लिएर काठमाडौं बसेको भन्दै आलोचना समेत भएको थियो । निवर्तमान उपकुलपति डा. नरेशमान बज्राचार्यले एक वर्षमा करिव दुई महिनामात्रै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बिताएका थिए । त्रिुभवन विश्वविद्यालयमा सेवा गर्ने प्राध्यापकहरू अन्य विश्वविद्यालयमा पदाधिकारी बन्दा विकासमा ध्यान नदिएको गुनासो अझै हटेको छैन । सरकारले पदाधिकारी नियुक्ति गर्दा सोही विश्वविद्यालयमा सेवारतलाई नियुक्ति गर्नुपर्ने मागसमेत रहँदै आएको छ ।

लुम्बिनीमा भएको बौद्ध शिखर सम्मेलनपछि स्थापना भएको बौद्ध विश्वविद्यालय मुलुककै फरक प्रकृतिको शैक्षिक संस्था मानिन्छ । बौद्ध दर्शन, कला, धर्म, संस्कृति, पुरातात्विक विषय यसका अध्यापन दायरा हुन् ।

विद्यावारिधि (पीएचडी) बाट शैक्षिक कार्यक्रम सुरु गरेको विश्वविद्यालयले ०७१ सालमा स्नातकोत्तर तहमा बौद्ध शिक्षाको पठनपाठन गर्दै आएको छ । अहिलेसम्म छैठौं ब्याजका विद्यार्थीले बौद्ध दर्शन अध्ययन गरिरहेका छन् भने स्नातक तह र एक वर्षे प्रमाणपत्र तहका कक्षासमेत थपिएका छन् ।

‘केन्द्रीय कार्यालयमै कक्षा सञ्चालन र भौतिक पूर्वाधार निर्माण थालिएपछि विश्वविद्यालयको दायरा बढ्दै गएको छ, रजिष्ट्रार डा. तिलकराम आचार्यले भने, ‘अब शैक्षिक क्रियाकलापसँगै भौतिक पूर्वाधारलाई रफ्तारमा अघि बढाउछौं ।’

केन्द्रीय क्याम्पसले स्नातक र एकवर्षे प्रमाणपत्र तहका भाषा कक्षासमेत सुरु गरेको छ । बुटवलमा स्नातक तहमा ट्राभल एण्ड टुरिजम र कानून (बीएएलएलबी) कक्षा सञ्चालनमा रहेका छन् । विश्वविद्यालयमा अहिले करिब एक हजार विद्यार्थी पुगेका छन् । ०७१ सालमा जम्मा ७० जना विद्यार्थी भर्ना भएका थिए ।

बौद्ध विश्वविद्यालयले काठमाडौंका विभिन्न सात वटा निजी कलेजलाई सम्बन्धन दिएको छ । रजिष्ट्रार आचार्यले विदेशी विद्यार्थीलाई भर्ना लिने गरी तयारी भइरहेको बताए । ‘पूर्वाधार नभएका कारण प्रर्याप्त मात्रामा विद्यार्थी भर्ना गर्न कठिन थियो, अब केही संरचना तयार भएका छन,’ उनले भने ।

विश्वविद्यालयले ११ बिगा जग्गामा आधारभूत पूर्वाधार निर्माण गरेको छ । सरकारले भवनबाहेक अन्य पूर्वाधार निर्माणका लागि बजेट नदिँदा बौद्ध संस्कृतिसँग सम्बन्धित पूर्वाधार बनाउन कठिन रहेको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले लुम्बिनी विकास कोष परिसर र सुण्डीमा सुविधायुक्त छात्राबास, पदाधिकारी निवास, शिक्षक आवास निर्माण गरेको छ । २० करोडको लागतमा अनुसन्धान केन्द्र तथा करिब ११ करोड लागतमा पुस्तकालय भवन निर्माणाधीन छन् ।

बौद्ध दर्शन विश्वका धेरै विश्वविद्यालयमा अध्यापन हुन्छ । तर विदेशी नागरिकहरू लुम्बिनीलाई विशेष महत्त्व राख्ने गरेका छन् । यो विश्वविद्यालयलाई शैक्षिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको जानकारहरू बताउँछन् । त्यसका लागि अझ धेरै पूर्वाधार आवश्यक रहेको रजिष्ट्रार आचार्यले बताए ।

लुम्बिनी आउने प्रायः पर्यटकहरू बौद्ध विश्वविद्यालयको अवलोकनमा पुग्ने गरेका छन् । केही समयअघि विश्वविद्यालय परिसरमै बनेको स्तुपामा बुद्धका अस्तुधातु प्रतिस्थापन गरिएपछि यसको आकर्षण बढेको हो ।

विश्वविद्यालयले ७ करोडको लागतमा स्तुपा बनाएको हो । जसमा म्यानमारका भिक्षुृहरूको सहयोगमा अस्तुधातु राखिएको छ । बौद्ध समुदायमा अस्तुधातु राखिएको स्तुपालाई महत्त्व दिइन्छ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्य विश्वकै नमूना विश्वविद्यालय बनाउने योजनासहित काम भइरहेको बताउँछन् । ‘हामी मुलुकका अन्य विश्वविद्यालयभन्दा भिन्न हौं, यसको फरक प्रकृति छ, उनले भने, ‘स्वदेशी विश्वविद्यालयको प्रतिष्पर्धी बन्दै नमूना बन्ने योजनामा छौं ।’

बौद्ध सर्किटका थुप्रै पुरातात्विक क्षेत्रको अध्ययन हुन बाँकी छ । यही विश्वविद्यालयले नै त्यस्ता जनशक्ति उत्पादन गर्ने रजिष्ट्रार आचार्यले बताए । आर्काेलोजी, म्युजियोलोजी, थेरवाद, महायान विषयहरू विश्वविद्यालयमा अध्यापन भइरहेका छन् । यी विषयले अध्यताहरू उत्पादन गर्दै पुरातात्विक क्षेत्रको अन्वेषण्मा सघाउ पुग्ने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयले बौद्ध स्मारक क्षेत्रहरूमा शैक्षिक कार्यक्रम विस्तार गर्ने योजना बनाएको छ । विश्वविद्यालयलाई बौद्ध दर्शनसँग जोडेर बहुविषयमा लैजाँदै कपिलवस्तु र देवदहमा कक्षा सञ्चालनको योजना बनाएको हो ।

रूपन्देहीको देवदहलाई बुद्धको मावली मानिन्छ । त्यहाँको १०० बिगा जमिनमा भौतिक पूर्वाधार गर्ने योजना रहेको रजिष्ट्रार आचार्यले बताए । ‘जग्गा प्राप्तिका लागि मन्त्रालयमा फाइल पुगेको छ,’ उनले भने, ‘मन्त्रिपरिषद्ले जग्गा स्विकृति दिनासाथ पूर्वाधार निर्माण हुन्छ ।’

विश्वविद्यालयलाई शैक्षिक टुरिजम क्षेत्रका रूपमा विकास गर्ने योजना बनाइएको छ । विदेशी विद्यार्थीलाई अध्ययन अनूमति दिए लुम्बिनी प्रवद्र्धनमा सघाउ पुग्नेछ । त्यसकै लागि बुद्धस्थल तिलौराकोट र नवलपरासीको रामग्राममा समेत विश्वविद्यालयलाई विस्तार गर्ने योजना रहेको छ ।

अनलाईनखबरबाट

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho