शेर्पा संघको नयाँ नेतृत्वले सक्रिया देखायो
शेरी शेर्पा
२०७६ पौष १२, शनिबार

शेरी शेर्पा
काठमाडौं (शेर्पाखबर) । छैठौं महाधिवेशनबाट चयन भएको नेपाल शेर्पा संघको नेतृत्वले सक्रियता देखाएको छ । नवनिर्वाचित समितिले कार्यालय व्यवस्थापन, तीन बर्षे कार्ययोजना निर्माण र कर्मचारी नियूक्तिका लागि समिति गठन गर्दै सक्रियता देखाएको हो ।
पौष ४–६ मा सम्पन्न महाधिवेशनबाट गेल्जे लामा शेर्पाको अध्यक्षतामा समिति गठन पश्चात् ७ गते नै केन्द्रीय समितिको पूर्ण वैठक बसेको थियो । सोही दिनको वैठकको अजेण्डा अनुरुप पौष १२ गते शनिबार संघको केन्द्रीय कार्यालय नारायणटारमा राजधानीमा उपलब्ध पदाधिकारी र केन्द्रीय समितिको अनौपचारिक वैठकले विभिन्न निर्णयहरु गर्दै संघले सक्रियता बढाएको महासचिव लाक्पा शेर्पाले जानकारी दिए ।
सघको दोस्रो केन्द्रीय समितिको माघ ४ गते आह्वान गरिसकेको छ । माघ ४ भित्र अध्यक्ष लगायतको कार्यकक्ष व्यवस्थापन, हल, सचिवालय वैठक वस्ने स्थान लगायत निर्माण गर्न उपाध्यक्ष तेन्जी शेर्पाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । त्यस्तै, सुरक्षा गार्ड, हेरालु, कार्यालय सहयोगी नियूक्ति र व्यवस्थापनका लागि प्रथम उपाध्यक्ष साङ्गे लामा शेर्पाको नेतृत्वमा कर्मचारी नियूक्ति गर्ने समिति गठन गरेको हो ।
बरिष्ठ उपाध्यक्ष तथा निवर्तमान महासचिव ङवाङ सोनाम शेर्पाको नेतृत्वमा १५ सदस्यीय नीति, निर्माण, कार्यपत्र र कार्ययोजना मस्यौदा समिति गठन गरेको महासचिव शेर्पाले जानकारी दिए । जसमा उपाध्यक्ष आङलामी शेर्पा, दावा शेर्पा लगायत सदस्य रहेका छन् । समितिले संघको आगामी ३ बर्षभित्र गर्ने कार्य, कति वटा विभाग रहने, भागिनी र भातृ संगठनलाई कसरी व्यवस्थापन गर्ने, किदुग लगायतको कार्यालय कहाँ रहने ? पहिचान सवालमा संघको नीति र कार्ययोजना के हुने ? लगायतका विषयमा कार्यपत्र तयार गर्ने छ ।
त्यस्तै, निर्वाचित प्रमाण पत्र पुनः मुद्रण, केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुलाई परिचय पत्र, कार्यालय व्यवस्थापनका लागि कम्प्युटर खरीद, एकद्धार प्रमालीबाट सूचना संप्रेशन गर्न सामाजिक सञ्जाल प्रयोग, इमेल र वेवसाइट निर्माणका लागि महासचिवलाई जिम्मेवारी दिएको छ ।
वैठकमा राष्ट्रिय जनगणना २०७८ मा शेर्पा समुृदायलाई आफ्नो सही विवरण टिपाउन सचेतना अभियान सञ्चालन, लोसार कार्यक्रम, वृहत्त अन्तक्र्रिया, भाषा, लोकसेवा आयोग, संस्कृती र भित्तेपात्रो प्रकाशन लगायतको विषयमा समेत छलफल भएको अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिए ।

संघको महाधिवेशनबाट गेल्जे लामा शेप िअध्यक्ष, ङवाङ सोनाम शेर्पा बरिष्ठ उपाध्यक्ष, साङ्गे लामा शेर्पा प्रथम उपाध्यक्ष, त्यस्तै, आङलमी शेर्पा, दावा शेर्पा, आङ निमा शेर्पा, तेन्जी शेर्पा, च्येङा शेर्पा, पशी शेर्पा, किशोर शेर्पा, छिरिङ ओङदी शेर्पा, लङजम शेर्पालाई उपाध्यक्षमा, लाक्पा शेर्पा महासचिव, फूर्वा तेन्जीङ शेर्पा उपमहासचिव, लाक्पा जी शेर्पा, तेन्जीङ शेर्पा, आङ पासाङ शेर्पा, गेल्बु शेर्पालाई सचिवमा, आङकाजी शेर्पा कोषाध्यक्ष र बाबु काजी शेर्पालाई सहकोषाध्यक्षसहित ८१ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो ।