नेपाल गौतम बुद्ध र सगरमाथाको देशसँगै शेर्पाहरूको देश

उत्तमबाबु श्रेष्ठ

२०७६ कार्तिक १८, सोमबार


फागुन २३, २०७५ मा खोलिएको ट्वीटर खाता ‘निम्सदाइ’ लाई कात्तिक १४, २०७६ सम्म आइपुग्दा २१ हजारभन्दा बढीले पछ्याइसकेका थिए । गत महिना मात्रै ४ हजारभन्दा बढीले पछ्याएको निम्सदाइ अर्थात् निर्मल पुर्जा यसअघि त्यति सुनिएको नाम होइन । न कुनै नेता, न खेलाडी, न लेखक, न त सेलेब्रिटी नै ।

तर भाइटीकाको दिनसम्म पुग्दा निर्मल संसारभरका मिडियाका लागि चुम्बक बनिसकेका थिए । हाल निर्मल पुर्जालाई गुगलमा सर्च गर्दा ७ लाखभन्दा बढी रेकर्ड देखिन्छन् । त्यसैको अग्रभागमा आउँछ न्युयोर्क टाइम्समा छापिएको उनको समाचार, जसमा लेखिएको छ– ‘विश्वका १४ उच्च शिखरको छ महिनामै आरोहण : नेपालीले आरोहणको इतिहास रचे ।’

नेपालीको हिमालका नाममा जति विश्वकीर्तिमान अन्य विधामा सायदै छ । पहिलो पटक सगरमाथा आरोहण गर्ने तेन्जिङ नोर्गे । सबैभन्दा कम उमेरमा सगरमाथा चढ्ने किशोर तेम्बा छिरी र किशोरी निमा छाम्मी शेर्पा । सबैभन्दा कम समयमा सगरमाथा चढ्ने पेम्बा दोर्जी । सबैभन्दा बढी, २४ पटकसम्म सगरमाथा चढ्ने कामी रिता शेर्पा । नेपालीको हिमालसँग जोडिएका यस्ता विश्वकीर्तिमानको सूची लामो छ । शेर्पाहरूको यस्तै साहसिक कीर्तिमानले गर्दा होला, पछिल्लो समयमा नेपाललाई गौतम बुद्ध र सगरमाथाको देशसँगै शेर्पाहरूको देश पनि भनेर चिनाइन्छ/चिनिन्छ ।

हिमालबाहेक अन्यत्र होचो
हिमालसँग जोडिएका हाम्रा मानवीय कीर्तिमानहरू जति अग्ला छन्, तिनका तुलनामा हामी अन्य विधामा भने विश्वमै होचा छौं । खेलकुददेखि प्राज्ञिक कर्मसम्म, अध्ययन–अनुसन्धानदेखि उद्योग–व्यापारसम्म, कला–साहित्यदेखि कृषि–उद्यमसम्म हाम्रो अवस्था विश्वमै निम्छरो छ ।

नेपालको वायुको गुणस्तर विश्वमै खराबमध्ये पर्छ । हाम्रो कृषिको उत्पादकत्व विश्वमै सबैभन्दा पुछारमा छ । हामी उच्च भ्रष्टाचार गर्ने मुलुकहरूमा पर्छौं । हाम्रो पासपोर्ट संसारमै सबैभन्दा कमजोर मानिन्छ । नेपालको कुनै पनि कम्पनी विश्वस्तरमा गनिन लायक बनिसकेको छैन । यहाँका विश्वविद्यालयहरू विश्वका उच्च हजारभित्र पनि पर्दैनन् । हाम्रा चलचित्रले ओस्कार र संगीतले ग्रामीको ढोकाबाट अझै प्रवेश पाएका छैनन् । न त नेपालबाट प्रकाशित पुस्तकहरूले म्यानबुकर, नोबेल जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार जितेका छन्, जबकि त्यो उचाइमा छिमेकी देश भारत, पाकिस्तान, बंगलादेशका सिनेमा, संगीत, पुस्तक पुगिसकेका छन् । खेलकुदका केही विधामा, हामी जस्तै विपन्न अफ्रिकाका कैयौं मुलुकले विश्वमै अग्रणी स्थान बनाएका छन् । हामी भने विश्वका अन्य देशका तुलनामा शारीरिक/मानसिक क्षमता, सिर्जनशीलता र विद्वताको प्रदर्शन हुने थुप्रै क्षेत्रमा निकै पुछारमा छौं ।

भूगोलको ‘लक’ र लाभ
पुलिट्जर पुरस्कार जित्न सफल पुस्तक ‘गन्स, जर्म्स एन्ड स्टिल’ मा जारेड डाइमन्डको तर्क छ– भूगोलको ‘लक’ र लाभका कारण पश्चिमा मुलुकहरू आधुनिक विकासको उच्च शिखरमा पुग्न सफल भए । उनले कृषि युगको सुरुआत पहिले अफ्रिका–युरोप जोडिएका भूभागमा बस्ने र पपुवा न्युगिनीमा बस्ने मानव समुदायबीचको तुलनात्मक अध्ययन गरेर उक्त निष्कर्ष निकालेका हुन् । अफ्रिका–युरोप जोडिएको मेडिटरिनियन समुद्र वरपर बस्ने मानिसहरूलाई त्यहाँको भूगोलसँग जोडिएर आएका घरेलुकरण गर्न सहज धेरै वनस्पति र जनावरले विकासको भर्‍याङ चढ्न सुरुआती समयमा सहयोग गरे । भूगोलको लाभका कारण उनीहरूले विभिन्न जंगली वनस्पति र जीवजन्तुको घरेलुकरण गरे, कृषि अपनाए । त्यही क्रममा उनीहरूले मानवनिर्मित संस्थानहरू जन्माए, सहर बसाए, रोगसँग लड्ने औषधि पत्ता लगाए, ठूलठूला वैज्ञानिक आविष्कार गरे र विश्वभर आफ्नो साम्राज्य खडा गरे । तर भूगोलले ठगेको पपुवा न्युगिनीका मानव समुदाय आफ्ना दसौं हजार वर्षअघिका पुर्खाहरू जस्तै लगभग फिरन्ते अवस्थामै रहिरहे ।

डाइमन्डको तर्क छ– भूगोलका कारण अफ्रिका–युरोप र पपुवा न्युगिनीमा पाइने वनस्पति र जनावरहरू भिन्न थिए । अफ्रिका–युरोपमा गहुँ र गाई हुन्थे भने पपुवा न्युगिनीमा पिँडालु र सुँगुर । पिँडालुको खेती गर्दा प्रत्येक गाना छुट्टाछुट्टै रोप्नुपर्ने भएकाले बढी श्रम चाहिन्थ्यो । तर गहुँलाई एकै पटक छर्न सकिन्थ्यो । पिँडालुभन्दा गहुँ धेरै पौष्टिक पनि हुन्थ्यो । त्यस्तै, गाई जिउँदोमा मासु र दूध खान मिल्ने र जोत्न पनि हुने, साथै मरेपछि छालाबाट लुगा बनाउन र हाडबाट सिकार गर्ने औजार बनाउन सकिने बहुउपयोगी जनावर थियो । तर सुँगुर मासुका लागि मात्रै प्रयोग गर्न मिल्थ्यो । त्यसकारण बाँच्नका लागि पपुवा न्युगिनीमा बस्ने मान्छेले अफ्रिका–युरोपका मान्छेले भन्दा बढी श्रम गर्नुपर्थ्यो । उनीहरूको अधिकांश समय बाँच्ने संघर्षमा बित्थ्यो । बहुउपयोगी, पौष्टिक, कम श्रम चाहिने बाली र जनावर भूगोलले दिएका कारण अफ्रिका–युरोपका मानिसहरूको उत्पादकत्व बढ्न पुग्यो र उनीहरूले श्रमलाई बाँच्ने संघर्ष इतरका इलममा लगाउन सक्ने भए । बचेको अतिरिक्त समयलाई उनीहरूले सिर्जनशील काममा लगाए ।

संसारमा सबैभन्दा पहिले कृषि प्रणाली सुरु भएको मानिने ‘फर्टाइल क्रिसेन्ट’ र संसारको पहिलो सहर त्यसै आसपासका क्षेत्रमा पर्छन् । कृषि युगको सुरुवातपछि फिरन्ते सिकारी मानव रैथानेमा परिणत भए । धेरै घर एकै ठाउँमा खेतीपाती गरेर बस्दा गाउँ र सहर जन्मिए । त्यस्तो उत्पादनशील आर्थिक व्यवस्थाले घरेलु प्रविधिको विकास गर्न थप सघायो र त्यसले थप उत्पादकत्व बढायो । समय क्रममा उनीहरू अध्ययन–अनुसन्धान गर्न सक्ने भए, जसका कारण आधुनिक प्रविधि र औषधि जन्मिए । र, सँगै जन्मायो विरोधीमाथि धावा बोल्न सक्ने बन्दुक, जसको आडमा उनीहरूले विश्वभर आफ्नो साम्राज्य फैलाए । भूगोलको भाग्यले तिनका सन्तानहरू युरोपदेखि अमेरिकासम्म फैलिएर संसारभर जगजगी गर्न सफल भए, तर भूगोलले ठगेको पपुवा न्युगिनीका बासिन्दा भने दसौं हजारवबर्षसम्म पनि ज्युँका त्युँ रहन बाध्य भए ।

यद्यपि डाइमन्डको ‘भूगोलको लक र लाभ’ सिद्धान्तलाई कतिपयले फितलो सामान्यीकरण भनेर आलोचना गर्छन् । तर जेफ्री स्याक्स जस्ता विकास अर्थशास्त्रीहरू पनि देशको आर्थिक विकासमा भूगोलको भूमिका महत्त्वपूर्ण हुनेमा विश्वास गर्छन् । स्याक्सले आफ्नो पछिल्लो पुस्तक ‘दी एज अफ सस्टेनेबल डिभलपमेन्ट’ मा कुनै पनि देशको पछौटेपनका थुप्रै कारकमध्ये भूगोल पनि एउटा हो भनेका छन् । उनको दाबी छ– मलेरिया लाग्ने र भूपरिवेष्टित भूगोलका कारण कतिपय मुलुक आर्थिक विकासको दौडमा पछि परे ।
हाम्रो भूगोलको रणनीतिक लाभ
नेपालको जनसंख्याको निकै सानो हिस्सा (पछिल्लो जनगणना अनुसार १ लाख २३ हजार) ओगटे पनि शेर्पा जातिले अन्य जाति/समुदायका तुलनामा नेपाललाई विश्वमा चिनाउन सबैभन्दा धेरै भूमिका खेलेका छन् । विश्वभर पर्वतारोहण उनीहरूको पेसा र पहिचान बनेको छ । चुनौतीपूर्ण हिमाली वातावरणमा सयौं पुस्तादेखि बस्दै आएकाले शेर्पाहरूको अनुवंश (जिन) मै फेरबदल (म्युटेसन) आएको अनुसन्धानहरूले पुष्टि गरेका छन्, जसका कारण अन्य समुदायकाले भन्दा शेर्पाको शरीरले बढी अक्सिजन अन्तर्लीन गर्ने क्षमता राख्छ । पीएनएस जर्नलमा प्रकाशित लेखका अनुसार शेर्पाहरूको शरीरको कोषभित्र हुने माइटोक्रोन्ड्रिया (जसलाई शरीरमा ऊर्जाको भट्टी पनि भनिन्छ) ले पश्चिमाहरूको भन्दा धेरै अक्सिजनलाई शक्तिमा परिणत गर्न सक्ने विशिष्ट क्षमता राख्छ । त्यसैले शेर्पाहरूको शरीरको मांसपेशी कम अक्सिजनमा पनि धेरै काम गर्न सक्ने गरी बलिष्ठ बनेको हुन्छ ।

दुर्भाग्यवश, हाम्रा आफ्नै शेर्पासँग सम्बन्धित यस्ता थुप्रै वैज्ञानिक अध्ययन र अनुसन्धानमा नेपालीको व्यक्तिगत वा संस्थागत संलग्नता भने नगण्य छ । हिमाली समुदायको मात्रै होइन, हिमालसँग जोडिएका विविध पक्षको अध्ययन र अनुसन्धानमा हाम्रो अवस्था निम्छरो छ । उदाहरणका लागि, यतिखेर हिमाली क्षेत्र जलवायु परिवर्तनको अध्ययन–अनुसन्धान विश्वकै लागि ठूलो आकर्षणको केन्द्र हो । तर हिमालय क्षेत्रका पर्यावरण, जलचक्र, जैविक विविधता, कृषि, पर्यटन, समुदाय र अर्थतन्त्रमा जलवायु परिवर्तनले पार्ने असरबारे हुने बृहत् अध्ययन–अनुसन्धानमा हाम्रो स्थानीय विज्ञता खासै विकसित हुन सकेको छैन । हिमालसँग जोडिएका दर्शन, इतिहास, कला, संस्कृति, जीविकोपार्जनका विधि, सामुदायिक सहकार्यको उन्नयनलाई संश्लेषण गर्ने र विश्वव्यापी समसामयिक बहस र सैद्घान्तिक मान्यतासँग जोड्ने अभिरुचि हाम्रा संस्थानहरूसँग छैन । त्यसकारण, भूगोलले दिएको यस्तो रणनीतिक लाभका क्षेत्रहरूको पहिचान गर्न र त्यसलाई नीति–निर्माणको प्राथमिकतामा ढाल्न हामी पूर्णत: चुकेका छौं ।

त्यसका थुप्रै कारण हुन सक्छन् । हिमालको देश भनेर विश्वमा चिनिन मन पराउने हामीसँग हिमालसम्बन्धी अध्ययन–अनुसन्धान गर्ने उत्कृष्ट अनुसन्धान केन्द्र छैन । विदेशीको सहयोगमा सगरमाथा क्षेत्र लगायतमा बनेका केही त्यस्ता अनुसन्धान केन्द्र पनि यतिखेर निकम्मा बनेका छन् । हिमाली अध्ययन–अनुसन्धानलाई उत्प्रेरणा दिने वातावरण छैन । नेपालका स्कुलदेखि विश्वविद्यालय तहसम्म हुने हिमालसम्बद्ध पढाइ झारा टार्ने खालको छ । त्यसले विद्यार्थीको दिमागमा हिमालप्रति कौतूहल जगाउँदैन । हामीले हाम्रा बच्चाहरूका कलिला मस्तिष्कमा विश्वकै अग्लो चुचुरो सगरमाथाको देश भनेर अहंकारको बीजारोपण गर्न जति मेहनत गरेका छौं, त्यति नै बढी अल्छी हिमालको वास्तविक जानकारी दिन मानेका छौं । फलस्वरूप अधिकांश नेपालीको हिमालसम्बन्धी ज्ञानको दायरा साँघुरो छ र त्यससम्बन्धी रुचि मरेको छ । जीवित छ त ‘सगरमाथाको देश नेपालप्रति मलाई गर्व छ’ भन्ने खोक्रो अहंकार मात्रै, जुन नेपाली पासपोर्ट बोकेर विमानस्थल छिरेको भोलिपल्टदेखि धूलिसात् पनि हुन थाल्छ । बालमस्तिष्कबाटै हुर्कंदै/हुर्काउँदै आएको सगरमाथाकै उचाइ बराबरको यस्तो अहंकारले तर्क र ज्ञानको ढोकालाई निषेध गर्ने वातावरण बनेको छ ।

अन्त्यमा, शेर्पा वा हिमाली समुदायले भूगोलको लाभ लिएर विश्वभर पर्वतारोहणमार्फत नेपाललाई छुट्टै पहिचान दिलाएका छन् । हिमाल हुनुको रणनीतिक लाभ आरोहणमा मात्रै होइन, अध्ययन–अनुसन्धानमा पनि लिन सकिन्छ । यस विषयलाई गम्भीरतापूर्वक लिएर यसमा लगानी गर्ने, नयाँ पुस्तालाई यसको अध्ययन–अनुसन्धानमा आकर्षित गर्ने, स्कुल र विश्वविद्यालयमा यससम्बन्धी सामान्यदेखि विशिष्ट विषयका पाठ्यक्रमहरू बनाउने अनि उत्प्रेरणाको वातावरण बनाइदिने हो भने हिमालका विविध पाटामा विश्वमै पहिचान बनाउन सकिने रणनीतिक फाइदा हामीलाई उपलब्ध छ । त्यसको पहिलो सर्त हिमाली अहंकारलाई उत्सुकतामा बदल्नु हो । निर्मल पुर्जाको आरोहणको सफलतामा रमाउँदै गर्दा अब हिमालका अन्य क्षेत्रमा पनि हामीले रणनीतिक लाभ उठाउनेबारे सोच्न ढिला भएन र ?

 

twitter : @uttambabu
लेखक नेपालस्थित ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिजसँग सम्बन्धित छन् ।

@कान्तिपुरबाट साभार

उत्तमबाबु श्रेष्ठका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho