म्हः अर्थात् आफ्नै शरीरको पूजा

 रत्न प्रजापति

२०७६ कार्तिक ११, सोमबार


म्हःपूजा (आत्मपूजा/शरीरपूजा) नेवार समुदायले मात्रै गर्छन्। नेवारीमा ‘म्ह’को अर्थ हुन्छ– शरीर। आफ्नो शरीरलाई पूजा गर्नु नै म्हःपूजा हो।

यो पर्व गोवद्र्धन पूजाको दिन पर्छ। राष्ट्रिय विभूति शङ्खधर साख्वाले वि.सं. ९३७ (इस्वी सम्बत् ८८०) मा नेपाल सम्बत्को सुरुवात् गरेका थिए। म्हःपूजा त्योभन्दा अगाडिदेखि सुरु भएको मानिँदै आएको छ। तिथि/मिति सहितको लिखित इतिहास भने छैन।

हिन्दू र बौद्ध दुवै धर्मलाई उत्तिकै महत्व दिने नेवार समुदायले विभिन्न मौलिक पर्व मनाउँदै आएको छ। अन्य नेपालीले दशैं मनाउने बेला नेवार समुदायको मोहनी नखः पर्छ। जसअन्तर्गत कुछिभ्वय (अष्टमी), स्याक्वत्याक्व (नवमी) र चालँ (दशमी) गरी विशेष तीन दिन नेवारहरुले मोहनी नखः मनाउँछन्। त्यस्तै, नेवारहरुले तिहार विशेषतः तीन दिन मनाउँछन्– लक्ष्मीपूजा, म्हःपूजा (गोवद्र्धपूजाको दिन) र किजापूजा (भाइटीकाको दिन)।

लक्ष्मीपूजाको दिन नेवारहरुले पनि अन्य हिन्दू धर्मावलम्बीले जस्तै धनधान्यकी देवी लक्ष्मीको पूजा गर्छन्। गोवद्र्धनपूजाको दिन भने नेवार समुदायमा म्हःपूजा गरिन्छ। यसैगरी भाइटीकाको दिन अरूले जस्तै किजापूजा अर्थात् दाजुभाइको पूजा गरिन्छ।

शताब्दी पुरुष सत्यमोहन जोशी आफ्नो पुस्तक ‘नेपाली चाड/पर्व’ मा लेख्छन्, ‘विशेषतः नेवारहरू यस दिन (गोवद्र्धनपूजा) म्हःपूजा नामले आ–आफ्ना शरीर पूजा गर्दछन् र साथमा आरोग्य र दीर्घायुको कामना गरी यम र यमदूतहरूलाई पनि प्रतिनिधित्व गराई पूजा गर्दछन्।’

म्हःपूजा सबै नेवारले भने गर्दैनन्। म्हःपूजाको उत्पत्तिस्थल मानिएको काठमाडौं उपत्यकामै पनि सबै नेवारले म्हःपूजा गर्दैनन्, जसरी काठमाडौंका अरु सबै नेवारले दशैं मनाए पनि ललितपुर खोकनाका नेवारले दशैं मनाउँदैनन्। संस्कृतिका रूपमा विकास भएको म्हःपूजा कहीँकहीँ, कसैकसैले सुरुदेखि नै नगरेको हुँदा अहिले पनि गर्दैनन्। विशुद्ध सांस्कृतिक पर्व म्हःपूजालाई नेवारमै पनि कसैले मान्नु र कसैले नमान्नुको कारण खोजको विषय छ।

 नेवारीमा ‘म्ह’को अर्थ हुन्छ– शरीर। आफ्नो शरीरलाई पूजा गर्नु नै म्हःपूजा हो। सम्पूर्ण देवीदेवता, ऊर्जाशक्ति र विश्वब्रह्माण्ड नै मानव शरीरभित्र रहेको विश्वास गरी म्हःपूजा पूजा गर्नु प्राकृतिक दृष्टिकोणले पनि उपयुक्त देखिन्छ। म्हःपूजा आफ्नो शरीरको सम्मान पनि हो।
शरीरलाई नै सबैभन्दा महत्व दिएर पूजा गर्ने प्रचलन विशेषगरी काठमाडौं उपत्यकाका नेवारहरूले म्हःपूजा गरेर चलाएको केही संस्कृतिविद्हरूले उल्लेख गरेका छन्। संस्कृतिविद् लीलाभक्त मुनंकर्मीका अनुसार ‘संसारमा सबभन्दा ठूलो आत्मा हो। आत्मा सन्तुष्ट भए देवता सन्तुष्ट हुन्छन्। देवता सन्तुष्ट भए सबै काम फत्ते हुन्छ। सबै काम फत्ते भए मानिस जन्म लिएको सफल हुन्छ। तसर्थ म्हःपूजा गर्नुपर्छ भनेर कात्तिक शुक्ल प्रतिपदाका दिन म्हःपूजा गर्ने चलन चलाएका हुन्।’

अर्का संस्कृतिविद् डा. ऋषिप्रसाद शर्माले ‘नेपाल राष्ट्रिय चाडपर्व’ पुस्तकमा लेखेका छन्, ‘हामी आत्मालाई आफू भनी चिन्छौँ। आफूले आफूलाई चिन्न म्हःपूजा गरिन्छ। ‘म’मा र ‘आत्मा’मा कत्ति पनि भेद छैन भनी आत्मलाभ एवम् आत्मज्ञान गराउने पर्वको नाम नै म्हःपूजा हो।’

म्हःपूजा विधि
म्हःपूजा गर्नेले नुवाइधुवाइ र सफा लुगा लगाई शुद्ध बन्नुपर्छ। पूजाका लागि अबिर, सिन्दुर आदि पाँच रंगको घेरा हाली त्यसको बीच भागमा तेलको मण्डप बनाइन्छ। परिवारका प्रत्येक सदस्यका लाागि छुट्टाछुट्टै बनाइने विशेष मण्डपको वरिपरि धान, लावा, आखे (अक्षता) र फूलले घेरिन्छ। मण्डपको अघिल्तिर बिमिरो, भोगटे, केरा, ओखर, सुन्तला, हलुवाबेद, बयर, अमला लगायत फलफूल तथा मीठाई र मखमली फूलको माला, जजँका आदिले सिँगारिन्छ। त्यसपछि पूर्ण घडा र कुचो तलमाथि स्थापना गरी पञ्चोपचारले आ–आफ्नो शरीरलाई पूजा गर्ने गरिन्छ।

उमेर र मर्यादाक्रम अनुसार परिवारका सबै सदस्य लस्करै मण्डपअगाडि बसेर म्हःपूजा गरिन्छ। परिवारको मूली (ज्येष्ठ महिला सदस्य) ले पूजा गर्ने चलन छ।

पूजापछि दही, हाँस वा कुखुराको अण्डा र माछा आदिको सगुन लिई मङ्गल गरिन्छ। परिवारको मूलीले अरू सबैलाई पूजा गरी सगुन दिने चलन छ। चन्द्रमा नदेखिने गरी सगुन लिए अमङ्गल हुन्छ भन्ने मान्यता छ। त्यसैले चन्द्रमा देखिएपछि मात्रै चन्द्रमालाई दाहिने पारेर सगुन लिइन्छ। यसरी सगुन लिएमा वर्ष दिनसम्म मङ्गल हुन्छ भन्ने विश्वास रहेको संस्कृतिविद् पुण्यरत्न बज्राचार्यको पुस्तक ‘हाम्रो चाड–पर्व’मा उल्लेख छ।

म्हःपूजामा अष्ट चिरञ्जीवीको प्रतीकस्वरूप मण्डल बनाइन्छ र अष्ट ऐश्वर्यको प्रतीकस्वरूप सजावटका सामग्रीहरू प्रयोग गरिन्छ। योसँगै दुइटा उल्लेख्य पक्ष पनि छन् – खेलुइताः (कपडाबाट बनाइएको लामो बत्ती) र जजँका। म्हःपूजाका लागि बनाइएको मण्डपमा लामो आयु होस् भनेर खेलुइताः बालिन्छ। यो बत्ती विशेषगरी म्हःपूजा र किजापूजा (भाइटीका) को दिन बालिन्छ। यो बत्तीलाई जीवनको आयुसँग जोडेर हेर्ने गरिएको छ। नेवार समुदायको म्हःपूजा र किजापूजाको विधि उस्तैउस्तै लाग्छ। पूजा गर्ने मान्छे मात्रै फरक हुन्छन्। म्हःपूजामा परिवारको मुलीले र किजापूजामा दिदी अथवा बहिनीले पूजा गर्ने चलन छ।

संस्कृतिविद् लीलाभक्त मुनंकर्मीले आफ्नो पुस्तक ‘नेपालको सांस्कृतिक तथा ऐतिहासिक दिग्दर्शन’मा लेखेका छन्, ‘आफ्नो शरीरमा लागेको पापादि एवं रोगादि सबै नाश होस् र आयु लम्बियोस् भन्ने कामना गरी शरीरको पूजा गरिन्छ।’

म्हःपूजालाई तान्त्रिक विधिबाट गरिने पूजा मानिएको छ र यसै विधिद्वारा गरिँदै आइएको छ। सम्पूर्ण देवीदेवता, ऊर्जाशक्ति र विश्वब्रह्माण्ड नै मानव शरीरभित्र रहेको विश्वास गरी म्हःपूजा पूजा गर्नु प्राकृतिक दृष्टिकोणले पनि उपयुक्त देखिन्छ। म्हःपूजा आफ्नो शरीरको सम्मान पनि हो।

मानिसको शरीर पञ्चस्कन्ध (रूप, वेदना, संज्ञा, संस्कार, विज्ञान) र पञ्चतत्व (पृथ्वी, जल, तेज, वायु, आकाश) ले बनेको मानिन्छ। शरीर एक दिन जलेर खरानी हुन्छ भन्ने बोध गराउन म्हःपूजामा खेलुइताः बालिन्छ।

जजँकालाई अष्टमातृकाको प्रतीक मानिन्छ। नेवारले यज्ञोपवित धारण नगरे पनि म्हःपूजा र किजापूजामा भने जजँका लगाउने चलन छ। जजँका तान्त्रिक विधिअनुसार बनाइएको हुन्छ। काँचो धागोमा विभिन्न पाँच थरी रंगीविरंगी कपडाका टुक्रा जोडेर तान्त्रिक विधिअनुसार जजँका बनाइन्छ। रंगीन कपडाका टुक्रा तन्त्रका प्रतीक हुन्।

दर्शनका दृष्टिले म्हःपूजामा प्रयोग हुने चिजबिजको पनि अर्थ भएको संस्कृतिविद्हरूले उल्लेख गरेका छन्। ओखर र मखमली फूल त्याग भावनाका प्रतीक हुन्। फूल, माछा र फलफूल शक्तिका प्रतीक हुन्। बज्रयान परम्पराअनुसार माछालाई प्रज्ञा र फुल (अन्डा)लाई करुणा र पानीको घडालाई यमुनाको प्रतीक मानिन्छ। विशेषगरी नेवारहरूले पूजा र शुभकार्यका बेला बाल्ने सुकुन्दामा गणेश, नाग र कलशको चिह्न हुन्छन्। गणेशलाई मंगल, नागलाई काल, कलशलाई लक्ष्मी र दीपलाई प्रकाशको प्रतीक मानिन्छ। पूजापछि च्याता घासा (परिकार) हालेर भोज खाइन्छ। यसले अष्टमातृकाको प्रतीकलाई जनाउँछ।

किंवदन्ती
म्हःपूजाको किंवदन्तीबारे भिन्नभिन्न मत पाइन्छन्। संस्कृति तथा पुरातत्वविद् डा. साफल्य अमात्यले आफ्नो पुस्तक ‘काठमाडौं नगरायणः काठमाडौं नगरको उद्भव, नगरायण र संस्कृतिको इतिहास’ मा म्हःपूजा किन गर्न थालियो भन्ने सन्दर्भमा लेखेका छन्  ‘राघवदेवको समय (इस्वी सम्बत् ८७९) तिर प्राचीन विशालनगरमा भएको भयंकर आगलागीले उपत्यकावासीको जीवन नै तहसनहस पारिदियो। सबैको घरबार उजाडियो। सबैको धनसम्पत्ति हानि भयो। यो यति ठूलो दुर्घटना थियो, उपत्यकावासीहरू आजभन्दा एक हजार एक सय वर्षअघि भएको यो दुर्घटनालाई आज पनि सम्झिन्छन्। यो दुर्घटनामा लिच्छविहरूका प्राचीन राजधानी र दरबारहरू मानगृह र कैलाशकुट भवन पनि ध्वस्त भए। यति ठूलो दुर्घटनाबाट ज्यान जोगाउन सफल भएका उपत्यकावासीले खुसियाली मनाउन थाले। कात्तिक शुक्ल परेवाका दिन नयाँ सम्बत् चलाए। सोही दिन म्हःपूजा (आत्मपूजा) गरी रक्सी, फुल, माछा, मासु र मासको बारा राखेर सगुन खाने चलन चलाए। यो चलन नेवार समुदायमा जीवितै छ।’ (२२ कात्तिक २०७५ को कान्तिपुर दैनिक)

संस्कृतिविद् हरेराम जोशी भने, म्हःपूजाको चलन द्वापर युगबाटै सुरु भएको बताउँछन्। उनका अनुसार म्हःपूजालाई कृष्णको कथासँग जोडिएको छ। द्वापर युगमा सबै राम्रो कुराको श्रेय तत्कालीन राजा इन्द्रलाई दिनुपथ्र्यो। उनलाई श्रेय नदिए उनी रुष्ट भई जनतालाई दुःख दिन्थे। जनताले दुःख गरेर अन्नबाली सप्रिए पनि राजा इन्द्रकै कृपाले भएको भन्नुपथ्र्यो र उनलाई कृतज्ञता ज्ञापन गर्न उनको आराधना गर्नुपथ्र्यो। यस्तो देखेर कृष्णले जनताको कान फुके– इन्द्र खुसी भएर होइन, आफ्नो मेहनतले बाली सप्रिएको हो। त्यसैले इन्द्रलाई होइन, आफैंलाई सम्मान गर्न सिक।

त्यसपछि जनताले इन्द्रको आराधना गर्न छाडे। राजा इन्द्र रिसाएर धेरै वर्षा गराइदिए। वर्षाले गाउँ र घरहरु डुबायो। जनतालाई बस्नलाई ओत भएन। त्यसपछि इन्द्रले फेरि हिउँ, तुसारो पारे। जनता हायलकायल भए। त्यही बेला कृष्णले गोवद्र्धन पर्वत उठाएर जनतालाई ओत दिए।

आफूले जे गर्दा पनि जनताले आफ्नो आराधना गर्न छाडेपछि राजा इन्द्रले हार माने। जनताले पनि आफ्नै क्षमता र मेहनतले सफलता प्राप्त हुन्छ भन्ने बुझे। आफ्ना लागि आफैं ठूलो हो। आफैं भगवान् हो। आफू भए मात्रै संसार हुन्छ। त्यसैले सबभन्दा पहिला आफ्नै सम्मान गर्नुपर्छ भन्ने सन्देश कृष्णले दिए। यही तथ्यलाई आत्मसात् गरेर त्यसै समयदेखि म्हःपूजाको सुरुवात् भएको जोशीको कथन छ।

नेवार समुदाय मूलतः कृषिमा निर्भर थिए र अद्यापि छन्। नेवारहरूको सम्बत्अनुसार नयाँ वर्षसँगै म्हःपूजा गरेर वर्षभरि कुनै रोगव्याधि नलागोस्, शरीर सधैं स्वस्थ र तन्दुरुस्त रहोस्, वर्षभरि निर्बाध रूपमा खेतीको काम गर्न सकियोस् भनेर म्हःपूजा गर्ने गरिएको संस्कृतिविद्हरू बताउँछन्।

मानिसको शरीर काया, वाक् र चित्तको संयोजन हो। काया नभई वाक् र चित्त हुँदैन। यसैगरी वाक् र चित्त नभई काया मात्रै भयो भने त्यो मृततुल्य हुन्छ। काया र चित्त भए पनि वाक् भएन भने त्यो काया र चित्तले कुनै कार्यसम्पादन गर्न सक्दैन। चित्तशुद्धिबाट वर्षभरि कुशल कार्यसम्पादन गर्न आफूलाई योग्य र सक्षम बनाउन म्हःपूजा गर्न थालिएको हो धेरै संस्कृतिविद्ले उल्लेख गरेका छन्।
म्हःपूजाको परम्परागत विधि र प्रक्रियालाई बिर्सेर आधुनिकीकरण गरेको पनि पाइन्छ।

- नागरिक दैनिकबाट

 रत्न प्रजापतिका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho