दावा जाङवु शेर्पा ‘संघर्षशील जीवनको पर्याय’

लाक्पा जी शेर्पा

२०७५ फाल्गुन ९, विहिबार


काठमाडौं (शेर्पाखबर) । मानव चोला लिएर धर्तिमा आगमन भएपछि अनेकन चुनौती सामना गर्दै अघि बढ्नुपर्ने हुन्छ । जीवनको परिभाषा संघर्ष मात्रै हैन आशाका पालुवालाई सदुपयोग गर्दै अवसरहरु प्राप्त गर्नुपनि हो । जन्मस्थान, परिवार, समाज र क्रियाकलापहरुले हाम्रो जीवनमार्ग तय गर्दछ । सबैको सपनाहरु पूरा हुन्छ नै भन्ने छैन तर हामी मानव भएर धर्तिमा आएपछि कुनै न कुनै उद्देश्य लिएरै आएका हुन्छौं । समयले साथ दिए कति पूरा हुन्छन् त कति अधुरै रहनपनि सक्छ । यस्तै, सांसारिक चक्रव्यूहकाबीच जन्मिएका एक पात्र हुन ‘दावा जाङबु शेर्पा ।’ २०४१ साल माघमा बुबा पासाङ र आमा निम डोमाको कोखमा जन्मिएका दावाको बाल्यकाल गाउँमै वित्यो । सिन्धुपाल्चोकको पाँचपोखरी–थाङपाल ८, ओख्रेनीका दावाको १४ बर्षसम्मको उमेर बुबाआमासँग लेकतिर चौरी डुलाउँदै ठिक्क भयो । उनले न त शिक्षादिक्षा नै पाए न त आधुनिक समाजको अनुभूति गर्न नै पाए । राजधानीको नजिकको जिल्लामा जन्मिएपनि उनलाई शिक्षा, उचित भरणपोषणका लागि खास व्यवस्था भएन । कारण, ग्रामिण क्षेत्रमा आर्थिक उपार्जनका ठोस अवसरहरु प्राप्त नहुनु र अन्नापातसमेत राम्रोसँग उब्जाउ नहुनु । केही कुरा बुझ्ने भएपछि जिन्दगी चौरीं डुलाएर मात्रै हुँदैन, बाबु बाजेले गरेको कामले मात्रै खुसी, सुखी जीवन व्यातित् गर्न सकिदै भन्ने कता–कता उनको मनमा लाग्यो र चौरी गोठ छाडेर राजधानी काठमाडौं आए ।

अहिले जस्तो सञ्चार सम्पर्क त हुने कुरै भएन तरपनि उनले गाउँकै नातापर्ने एक जनाको फनिर्चर उद्योगमा काम पाए । मासिक ३ हजारमा फर्निचरमा ५ बर्ष काम गरे । काम त गरे तर समयमा तलव पाउँदैनथे । पेट पाल्न समेत मुस्किल हुन्थ्यो । अनेक समस्या झेल्नुपरेपछि उनमा विदेश गएर पैसा कमाउछु भन्ने लाग्यो । गाउँकै दाईहरुको सहयोगमा मलेसिया गए । उनले लगभग २ बर्ष उतै काम गरे । तर, त्यहाँपनि भने जस्तो अर्थोपार्जन भने गर्न सकेनन् । नेपाल फर्के, जोरपाटीमा किराना पसल खोले । केही समय त राम्रै चल्यो तर पछि त्यो पनि चलेन । घाटा खाएर वेच्नु पर्यो भएको त्यही पसलपनि । पसल बेचेर फेरि मलेसिया गए । त्यहाँ सोनी कम्पनीमा काम पाए । जापानमा २०११ मा आएको सुनामीको कारण कम्पनीको व्यापार खस्कीयो । कामदारले परिश्रमिक पाउने अवस्था नै बन्द भयो । मलेसियामा काम गर्दा पाएको दुःख देखेर उनी नेपालमै केही गर्ने अठोटसहित नेपाल फर्किए ।
सीप, अनुभव, अध्यायन केही थिएन । तालिम केन्द्रहरुमा ६–७ महिना धाएर अंग्रेजी भाषा सिकेका थिए । नेपाल आएपछि उनले भाइले काम गर्ने ट्रेकिङ कम्पनीमा काम मागे । भाई कम्पनीको लिडर थियो । तर, आफूले भरिया भएर काम गर्ने अवस्था सिर्जना भयो । विदेशको बसाई, संघर्ष र केही भाषिक ज्ञानका कारणले पहिलो पटक पोखरा–धम्पुस ट्रेकिङ ४ दिनका लागि टोली प्रमुख भएर जाने मौका पाए । पहुनाले कुनै गुनासा नगरेपछि भने उनमा हर्ष र आँटसँगै आयो । अब पर्यटन क्षेत्रमा काम गर्न सक्छु भन्ने जोसपनि पैदा भयो ।

यसरी उनले ट्रेकिङको कामहरु पाउँदै गए । उनलेपनि अथहा मिहिनेतले जिम्मेवारी पूरा गर्ने र विदेशी पाहुनालाई खुसी पार्ने काम गरे । कम्पनीले पनि उनको कामको प्रशंसा गरे । भाइकै सल्लाहमा नाथमबाट पथ प्रदर्शक तालिम लिए । विभिन्न तालिमहरु लिँदै ‘सिजन’मा ट्रेकिङ जादै गरे । यसबाट उनको आर्थिक अवस्थापनि सुधार हुँदै गयो भने मनोवलपनि बढ्दै गयो । यससँगै अब पर्वतारोहण गर्ने भन्ने जोश बढ्यो । 
मनले चाहेको सबै पूरा हुन्छ भन्ने छैन तर तिमी चित्ताउ म पुर्याउँछु भन्ने उखान त सुनेकै थियो । त्यही उखानलाई पछ्याउँदै उनले नेपाल पर्वतारोहण प्रशिक्षण संस्थाहरुबाट पर्वतारोहणसँग सम्बन्धित विभिन्न तालिमहरुमा सहभागि भए । आधारभूत पर्वतारोहण तालिम पासाङ ल्हमु प्रतिष्ठान, बालाजुको वाल क्लाईमिङ सेन्टर लगायतबाट तालिम लिए । उनले सन् २०१३ मा माउन्टेनेरिङ लिडर कोर्ष, त्यस्तै माउन्टेनेरिङ रक क्लाईविङ तालिम, इन्डोकटोरी रक क्लाईविङ, आधारभूत पर्वतारोहण लिडर तालिमहरु दर्जनौ पटक लिए । त्यस्तै, पर्वतारोहण सम्वन्धि हुने प्रतियोगितामा समेत सहभागि जनाए ।
 

अहिले उनी नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा रक क्लाइविङको सहप्रशिक्षकको रुपमा पनि ४ बर्षदेखि कार्यरत छन् । तालिमहरु हासिल गरिसकेपछि दावा पर्वतारोहणतर्फ लागे । उनले दर्जनौ पटक ६ हजार भन्दामाथिका हिमालहरु आरोहण गरिसकेका छन् । उनले सन् २०१३ देखि अहिलेसम्म आइसल्याण्ड पिक ६ हजार १ सय ६० मिटर १० पटक, पाल्दोर हिमाल, ५ हजार ८ सय ९६, लबुचे हिमाल, ६ हजार १ सय ४५ मिटर ३ पटक, त्यस्तै, मेरा हिमाल ६ हजार ६ सय ५४ मिटर ३ पटक आरोहण गरिसकेका छन् । त्यस्तै, ६ हजार ८ सय १४ मिटरको आमादोब्लोम हिमाल सन् २०१८ मा सफलतापूर्वक आरोहण गरि सम्मानित भएका छन् । 
तीन दिदी, तीन वहिनी, दाजु र २ भाईसहितको संयूक्त परिवारमा हुर्किएका दावाको श्रीमती र एक छोरा छन् । राजधानीको बौद्ध क्षेत्रमा अस्थायी रुपमा बसोवास गर्दै आएका शेर्पाले बर्षेनी पथ प्रदर्शक र हिमाल आरोहण गरी पर्यटन लिडरको रुपमा काम गर्दै आएका छन् । पथ प्रदर्शककै क्रममा उनले नेपालको ६४ वटा जिल्ला समेत भ्रमण गर्ने अवसर पाए ।
शुरुमा काम गर्दा २ बर्षसम्म धेरै संघर्ष गरेका दावा यतिवेला भने खुसी छन् । पर्यटन पेशामा लागेर हासिल गरेको खुसी र संभावना यतिवेला उनी सबै सामु बाँड्न चहान्छन् । पर्यटन प्रबद्र्धनका माध्यमबाट नेपालमै रोजगारीको अवसर सिर्जना गर्न सकिने र हामीले केही मिहिनेत गर्न सके नेपालमै पर्याप्त संभावनाहरु रहेको सन्देश दिन उनी सगरमाथाको आरोहण गर्ने लक्ष्यसहित अघि बढेका छन् । 
विशेष गरी ‘पर्यटन प्रबद्र्धन मार्फत आर्थिक समृद्धी र युवालाई रोजगार यहीँ संभव छ ।’ भन्ने सन्देशसहित सगरमाथा आरोहण अभियानमा लागेका दावाले सिन्धुपाल्चोकलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय तहलाई सघाउने ध्याउन्नमा छन् । त्यस्तै, हिमाली क्षेत्रको पर्यटन प्रबद्र्धन, सम्बद्र्धनका लागि युवाहरुको भूमिका उदाहरणीय रुपमा देखाउँदै सिन्धुपाल्चोकमा रहेको दोर्जेल्हाक्पा र उर्किमा जस्ता हिमालहरु आरोहण गर्ने योजना छ । 
सिन्धुपाल्चोकका युवाहरु पर्यटन क्षेत्रमा कमै उपस्थिती रहेकोले युवाहरुलाई पर्यटनमा आकर्षण गराउन उनी विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न अघि बढिरहेका छन् । त्यस्तै, भूकम्पपछि पनि हाम्रा हिमालहरु सुरक्षित छन् । भूकम्पका केन्द्र मानेको सिन्धुपाल्चोकका हिमालहरु जस्ताका तस्तै छन् ।

आरोहणका लागि कुनै समस्या छैन भन्ने सन्देश दिनुपनि उनको अभियानको उद्देश्य हो । भावी पीढीलाई पर्यटनको क्षेत्रमा आउन प्रेरणा दिने, पर्यटनमार्फत सिन्धुपाल्चोकको समृद्धीको खाका कोर्ने दावाको योजना छ । पाँचपोखरी–थाङपल गाउँपालिकाका एक मात्रै आरोहीको रुपमा आफ्नो पहिचान बनाएका दावाले सन् २०१९ मा सगरमाथा आरोहण गरी विश्वकीर्तिमान कायम गर्ने ध्येय छ । उनको अभियानमा सघाउँदै सपना पूरा गर्न सँगैसँगै हिड्नु हामी सबैको दायित्व हो । शेर्पा समुदायको शिर उँचो पार्दै राष्ट्रको हितको लागि दावाले थालेको अभियानप्रति सफलताको शुभकामना !

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho