चिनियाँ पर्यटकवीच जुँगाको लडाई !

शेर्पाखबर

२०७५ फाल्गुन २, विहिबार


चितवन । चितवनलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा लिने गरिएको छ । काठमाडौं र पोखरापछि यो जिल्ला तेस्रो पर्यटकीय गन्तव्यमा पर्छ । विषेश गरी चितवन राष्ट्रिय निकुञ्ज, दुर्लभ एकसिंगे गैंडा, हात्ती, पाटे बाघ र विभिन्न चराचुरुङ्गी हेर्न तथा जंगल सफारीको आनन्द लिन पर्यटकहरु चितवन आउने गरेका छन् ।

वार्षिक करीव २ लाख पर्यटक चितवन आउने गरेको तथ्यांक छ । नेपाल आउने पर्यटकको जम्मा २० प्रतिशतमात्रै पर्यटक चितवन आउने गरेको पाइन्छ । जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा सौराहालाई लिने गरिन्छ ।

चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने अधिकांश पर्यटकहरु सौराहा क्षेत्र भएर नै निकुञ्ज प्रवेश गर्ने गरेका छन् । सौराहाका अलवा पटिहानी, मेघौली, देवघाट जस्ता क्षेत्र पनि यहाँका पर्यटकीय केन्द्र हुन् ।

तर, दुर्भाग्य यी निकायहरुका वीचमा कहिल्यै पनि समन्वय र सहकार्य भएको पाइँदैन । कुनै एक क्षेत्रमा आउने पर्यटकहरु त्यहीँबाट नै फर्कने गर्दा यसले यहाँको पर्यटक व्यवसाय फस्टाउन सकेको छैन ।

सरकारले पछिल्लोपटक सार्वजनिक गरेको एक सय नयाँ पर्यटकीय गन्तव्यमा यस जिल्लाका दुई क्षेत्रहरु समेटिएका छन् । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सार्वजनिक गरिएका नयाँ पर्यटकीय गन्तव्यहरुको सूचीमा पहिटानीसँगै माडीको सोमेश्वर डाँडा पनि परेको छ । नयाँ पर्यटकीय केन्द्र घोषणाले चितवनको पर्यटन व्यवसायलाई थप टेवा पुग्ने विश्वास गरिएको छ ।

दुईराते पर्यटन !

चितवन आउने पर्यटकहरुको औसत बसाइ प्रायः दुई रात रहने गरेको छ । चितवनमा पर्यटकहरु हतारमा आउँछन्, हतारमै जान्छन् । सौराहा आउने पर्यटकहरु कमै मात्र पटिहानी र मेघौली पुग्ने गरेका छन् । पटिहानी र मेघौली आउने पर्यटक कमै मात्र सौराहा जाने गरेका छन् । यसको एउटा कारण के पनि हो भने एकले अर्को पर्यटकीय केन्द्रका बारेमा पर्यटकहरुलाई कुनै सूचना वा जानकारी दिँदैनन् ।

यीबाहेक जिल्लामा अन्य पर्यटकीय गन्तव्यहरु छन् । चितवन मात्रै यस्तो जिल्ला हो, जहाँ अग्ला डाँडामा अति सीमान्तकृत चेपाङ समुदायदेखि नदी तटीय क्षेत्रमा बस्ने बोटे, थारु, मुसहर जातिसम्मको संस्कृति र मौलिक रहन सहन देख्न पाइन्छ ।

देशको ७७ वटै जिल्लाका नागरिक यहाँ छन् । तराईको समथर क्षेत्रमा बसेर पनि हिमाल देख्न पाउने भाग्यमानी जिल्लामा पर्छ चितवन । लालीगुँरास फूल्ने र काफल फल्ने विकट पहाडदेखि तोरी फुल्ने र नरिवल फल्ने समथर भूभाग यहीँ पर्दछ । एकै जिल्लामा ७/८ डिग्रीसम्म तापक्रममा विविधता पाइन्छ । तल्लो तटीय क्षेत्रमा उखरमाउलो गर्मीले सताउँदा यहाँका पहाडी भूभागमा सिरक ओढ्नुपर्ने अवस्था आउँछ ।

तर, यी सबै विषयको ब्राण्डिङ गर्न यहाँका पर्यटन व्यवसायी सधैं चुकिरहेका छन् । एकले गर्ने पर्यटकीय गतिविधिमा अर्को निकायलाई समावेश गराउने काम पनि यहाँका पर्यटन व्यवसायीहरुले गर्न चाहँदैनन् ।

यस्तो छ हालत

हरेक पर्यटन समितिहरुका बीचमा नजानिँदो ढंगको ‘शीतयुद्ध’ चलेको देखिन्छ । पर्यटनमा सहकार्य गर्न कुनै पनि समितिले हात फैलाएको पाइँदैन । कुनै समितिहरु नाम मात्रैका छन् । कतैबाट पैसा आए जुर्मराउने, पैसा नआए बोर्ड मात्रै झुण्ड्याएर बस्ने समितिहरु पनि थुप्रै छन् । कति निश्किय भएका छन् ।

मेघौली पर्यटन विकास समिति कार्यवाहक अध्यक्षले चलाएका छन् । कृष्ण भुर्तेल प्रदेश सभाको सांसद भएपछि आर्थिक अधिकारसहित हरिचन्द्र महतोले पर्यटन विकास समिति सम्हालेका छन् ।

पटिहानी गाविस हुँदा सक्रिय रहेको पटिहानी पर्यटन विकास समिति भरतपुर महानगरपालिकाको वडा विभाजनमा यताउता परेपछि यो पनि त्यति सक्रिय छैन । गाविसका साविक ५ वटा वडा महानगरका विभिन्न वडामा परेका छन् । महानगरको वडा नं २२ ले अहिले यसको नेतृत्व गर्न खोजे पनि मतेक्य छैन । समिति निश्क्रियजस्तै भए पनि वडा नं २२ का अध्यक्ष विष्णु महतोले केही चलाउने प्रयास गरेका छन् ।

गएको मंसिरमा उनकै पहलमा पटिहानीमा पर्यटन सम्वन्धी कार्यक्रम भयो । तर, त्यो कार्यक्रममा सौराहाका पर्यटन व्यवसायीहरुलाई सहभागी गराइएन् ।

यस्तै, खैरहनी नगरपालिकाले सौराहालाई कुमरोज, कठार र कंकालीकोट सम्म जोडेर पर्यटन विकास गर्न पूर्वाधार निर्माण लगानी गरेको छ । तर, नगरपालिकाले सौराहाका पर्यटन व्यवसायीहरुसँग यसबारेमा कुनै समन्वय गरेको छैन ।

सौराहा आउने आन्तरिक तथा वाह्य पर्यटकलाई थप एक दिन खैरहनीमा बसाई लम्वाउने गरी पर्यटन पूर्वाधार निर्माण भइरहेको नगरपालिकाका मेयर लालमणि चौधरी बताउँछन् ।

पछिल्लो समय जीप सफारीका लागि प्रख्यात कुमरोज सामुदायिक वनको इचर्नी टापुमा क्रंकिटको नयाँ टावर निर्माण भइरहेको छ । सोही वनमा दराई बोटे ताल छ । टावर निर्माणका लागि खैरहनी नगरपालिकाले ३० लाख र दराई बोटे तालका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जीप सफारीका लागि बाटो निर्माण गर्न नगरपालिकाले ३० लाख खर्च गरेको छ ।

पर्यटन व्यवसायीवीच समन्वय नहुँदा पर्यटकको कुनै आधिकारिक तथ्यांक पनि भेटिँदैन । चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने पर्यटकहरुको तथ्याकंलाई नै चितवन आउने पर्यटकको संख्याका रुपमा लिने गरिएको छ । तर, चितवन आउने पर्यटक सवै राष्ट्रिय निकुञ्जभित्र नै प्रवेश गर्दछन् भन्ने पनि छैन ।

नाम मात्रैको पर्यटन विकास समिति

जिल्लामा चितवन पर्यटन विकास समिति भनेर छाता संगठन ०५१ सालमा निर्माण गरिएको थियो । साविक जिल्ला विकास समिति हुँदा केही बजेट लिएर चलेको पर्यटन विकास समितिले अहिले भने खासै कुनै काम गर्न सकेको छैन ।

जेएन थपलियाले एक कार्यकाल नेतृत्व गरेपछि निकै लामो समयसम्म दिलिप मैनाली अध्यक्ष बने । दुई महिनाअघि मात्रै उनले कार्यवाहक अध्यक्षको जिम्मा लगाएका छन् बद्रि अधिकारीलाई ।

अधिकारीले नेतृत्व लिएपछि अहिले जिल्ला समन्वय समितिसँग समन्वय गरी त्यहाँ नै कार्यालय स्थापना र व्यवस्थापन गरिएको जनाए ।

सरोकारवाला के भन्छन् ?

जिल्ला पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदी जिल्लाका पर्यटन समितीहरुका वीचमा अस्वस्थ प्रतिस्पर्धा देखिएको बताउँछन् । ‘विकासमा प्रतिस्पर्धा गर्ने हो, तर पर्यटनमा सहकार्य गर्नुपर्छ’ महासचिव सुवेदीले अनलाइनखबरसँग भने, ‘पर्यटन भनेको सीमाविहीन विषय हो, यसको विकास सहकार्यबाट मात्रै सम्भव छ ।’

आफ्नो क्षेत्रमा मात्रै होइन, अरु क्षेत्रमा पनि कसरी पर्यटक लैजाने भन्ने सोच यहाँका समितिहरु वीचमा हुन आवश्यक भएको जिल्ला पर्यटन विकास समितिका महासचिव सुवेदीले बताए ।

‘पर्यटनलाई जति विशाल क्षेत्रमा फैलाउन सक्यो, त्यति नै स्थानीयले लाभ लिन सक्छन्’ महासचिव सुवेदीले भने ‘फरक–फरक पर्यटकीय क्षेत्रका फरक–फरक विषेशता हुन्छन् । त्यसले पर्यटकहरुलाई पनि फरक अनुभूति गराउँछ । कुनै एक पर्यटकीय गन्तव्य मात्रै पूर्ण हुन सक्दैन ।’

जिल्लामा कुन पर्यटकीय केन्द्रमा कति पर्यटक गए भन्ने तथ्यांक राख्ने काम नभए योजना बनाउन र पर्यटकीय गतिविधि बढाउन पनि समस्या हुने सुवेदी बताउँछन् । स्थानीय तहहरुमा पर्यटन विकास समिति बनाएर सक्रिय बनाउनुपर्ने र जिल्लामा पर्यटन परिषद् वा पर्यटन विकास समितिलाई सक्रिय पारिनुपर्ने सुवेदीको भनाइ छ ।

त्यसैगरी क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे, पर्यटन व्यवसायीवीचको अस्वस्थ प्रतिस्पर्धाले जीत कसैको पनि नहुने बताउँछन् । एकले अर्को पर्यटकीय गन्तव्यहरुका बारेमा पर्यटकहरुलाई सूचना दिने र प्रसार प्रसारमा सहयोग गर्ने गरी छाती फराकिलो पार्नुपर्ने उनी बताउँछन् ।

सौराहालाई पटिहानी र माडी जोड्ने प्रयास भैरहेपनि मूर्तरुप नपाएको अध्यक्ष घिमिरेको भनाइ छ । उनका अनुसार केही समयअघि सौराहाका पर्यटन व्यवसायीले सेभेन पोइन्ट टुर कार्यक्रम सार्वजनिक गरेका थिए । सौराहा आउने पर्यटकहरुलाई देवघाटदेखि नवलपुरको शाश्वतधामसम्म लैजाने गरी प्याकेज निर्धारण गरिएको छ ।

‘हामी पनि सौराहा मात्रै भनेर बस्ने पक्षमा छैनौं, सिचाइचुली, उपरदाङगढी, लामो झरना जस्ता क्षेत्रमा पनि पर्यटन व्यवसायलाई विस्तार गर्नु नै पर्दछ’ क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष घिमिरे भन्छन्, ‘सौराहा अगुवा पर्यटकीय गन्तव्य भएका कारणले गर्दा पनि नेतृत्व लिन तयार छौं ।’

कालिका पर्यटन विकास समितिका अध्यक्ष हिम्मत पुरीले पर्यटन समितिहरुले क्षेत्रगत रुपमा काम गरे पनि समन्वय भने नभएको स्वीकार गर्छन् । जिल्ला र क्षेत्रगत समितिका वीचमा समन्वय हुनुपर्ने तर्क पुरीको छ । क्षेत्रगत समितिहरुको क्षमता वृद्धि, पर्यटकहरुलाई सूचना दिन साझा प्रचारप्रसारका सामाग्री, रुट निर्धारण तथा आधिकारीक तथ्याकं संकलन जस्ता काममा छाता संगठनबाट काम हुनुपर्ने भनाइ अध्यक्ष पुरीको छ ।

पुरीकै धारणामा सहमत देखिन्छन् मेघौली पर्यटन विकास समितिका अध्यक्ष हरिचन्द्र महतो पनि । महतोले जिल्लाका पर्यटन विकास समितिहरुका वीचमा सहकार्य नहुनु दुःखद भएको बताए ।

जिल्लाका पर्यटकहरुको छाता संगठन चितवन पर्यटन विकास समितिका कार्यवाहक अध्यक्ष बद्रि अधिकारी भन्छन्– ‘बीचमा केही समय काम गर्न नसकेकै हो । अब मैले नेतृत्व लिएपछि कामले गति लिन्छ, हेर्दै जानुहोला ।’

नारायणगढको आदिकवि भानुभक्त माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेर विद्यालयको स्वरुप बदलेका अधिकारीले जिल्लाका सातवटै स्थानीय तहसँग क्रमैसँग बैठक गरेर सहकार्यसहित अघि बढिने बताए ।

प्रदेश नः ३ का मुख्यमन्त्रीको कार्यालयबाट समेत जिल्लाका प्रोमोसन गर्नुपर्ने कामका बारेमा माग गरिएकाले त्यसका लागिसमेत पहल भैरहेको उनले बताए । क्षेत्रगत समितिको क्षमता अभिवृद्धिसहित सहकार्य गरेर कार्ययोजनासहित अघि बढ्ने उनको भनाइ छ ।

अनलाइनखबरबाट साभार

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho