न्यायको माग गर्दै राजदूत शेर्पाले दिइन् राजीनामा !

शेर्पाखबर

२०७५ माघ १८, शुक्रबार


अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा आज राति चाइना साउदर्नको फ्लाइटबाट सपरिवार स्वदेश फर्केकी छिन्।

दुई साताअघि क्यानबेरा आइपुगेकी लक्की शेर्पाले अस्ट्रेलिया बसाइको दौरान आफ्ना पारिवारिक व्यवस्थापनमा जुटेकी थिइन्।  उनी राजधानी क्यानबेरा बसुन्जेल कामकाजमा भने सरिक भइनन्।

सरकारले उनलाई दुई साताभित्र व्यवस्थापन सकेर फर्कन निर्देशन दिएको थियो। सोहीबमोजिम उनी आज नेपाल आउन लागेकी हुन्।

उनले काठमाडौं पुगेर परराष्ट्र मन्त्री समक्ष राजीनामा पत्र बुझाउने भएकी छन्।

यहाँ बसुञ्जेल केही नजिकका साथीभाइ इष्टमित्र मात्र भेटेकी उनले राजदूतावासका कर्मचारीलाई भने काठमाडौं फर्केर निर्णय लिने बताएकी थिइन्।

‘उहाँ यहाँ भए पनि बसुन्जेलसम्म कार्यालय भने आउनुभएन,’ राजदूतावासकी उपसचिव द्रुपदा सापकोटाले भनिन्,‘हामीले सोध्ने कुरा पनि भएन तर उहाँले आफूलाई भेटघाटमा मात्र सीमित राख्नुभयो।’

साँझ क्यानबेराबाट सिड्नीको फ्लाइटमा सिड्नी आइपुगेकी राजदूत शेर्पा सिधै अन्तर्राष्ट्रिय टर्मिनलमार्फत् सपरिवार नेपाल फर्केकी हुन्। क्यानबेरामा उनलाई राजदूतावासका कर्मचारी तथा केही हितैषीहरूले बिदाई गरेका थिए।

विवादमा परेपछि शेर्पाले एक महिना नेपाल बसेर प्रधानमन्त्री केपी शर्मा ओली तथा सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर आफूबारेका आरोपको सफाइ दिएकी थिइन्।

उनलाई राजीनामा गर्न सुझाव दिइएको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताएका थिए।

उनका एक निजी सहायक वाङचु शेर्पाले पैसा लिएर अस्ट्रेलिया ल्याएको र दु:ख दिएको आरोप लगाएपछि राजदूत शेर्पा विवादमा तानिएकी थिइन्। सोही विवादले उग्र रूप लिएपछि राजदूतलाई मन्त्रालयले स्पष्टीकरणका लागि नेपाल बोलाएको थियो।

के भनिन् विज्ञप्तिमा ?

शेर्पाले विज्ञप्ति जारी गर्दै आफूमाथि लागेको आरोपको खण्डन गरेकी छन् । ‘घटनाको वास्तविकता र यथार्थलाई थाती राखेर एकाध मिडियाको पछाडि लागेर आफ्नो देशको डिप्लोम्याट जो रातदिन देश र जनताको हितार्थ समर्पित छ त्यस्ता व्यक्तिहरुलाई मानमर्दान गर्ने परम्पराको थालनी हुनु दुखद छ’ उनले भनेकी छन् ।

शरणार्थी माध्यमबाट पी.आर. पाउने कुचेष्टाले शेर्पालाई प्रयोग गरिएको उनको दाबी छ । आफू मानव तस्करीविरुद्ध लड्दै आएको स्मरण गराउँदै उनले भनेकी छन्, मेरो जीवन खुला किताब जस्तै छ । मेरो सर्बस्व भनेकै इमान्दारिता हो ।’

निजी सहयोगी कार्यगत र भाषिक परीक्षण लिए पनि नियत र इमान्दारिताको परीक्षण लिन चुकेको उनले बताएकी छन् । ‘विदेशमै बस्ने लालशाले जसरी पनि पीआर पाउन यसैको सौदाबाजी गर्ने ब्यक्तिको चंगुलमा पुगें’ उनले भनेकी छन् ।

केही सञ्चार माध्यमले वास्तविकता नबुझेर एकपक्षीय प्रचार गरेको उनको गुनासो छ । आफूविरुद्ध आरोप लागेपछि अनुसन्धानमा सहयोग गर्न ‘कूटनीतिक उन्मुक्ति खुला’ अष्ट्रेलियन सरकारसमक्ष पेश गरेको र आरोप झुठा साबित गर्दै ससम्मान कूटनीतिक रुपमा काम गर्ने हौसला प्रदान गरेको उनको दाबी छ ।

सेतोपाटीबाट साभार गरि प्रकाशित ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho