शेर्पाको पहलमा दुर्गममा ‘स्वास्थ्य केन्द्र’

ओखलढंगा समाचारदाता

२०७५ कार्तिक १४, बुधबार


ओखलढुंगा । ५ वर्ष अघिसम्म सिद्धिचरण नगरपालिका वडा नं. ६ जन्तरखानीस्थित रहेको दुर्गम गाउँ दम्मारका बासिन्दाले स्वास्थ्य सेवा विरलै पाउँथे । साविकको जन्तरखानी गाविसमा रहेको स्वास्थ्य चौकी पुग्नै ३ घण्टा पैदल हिँड्नुपर्ने बाध्यताले गर्दा गाउँभरिका सबै धामीझाँक्री र जडीबुटीकै भर पर्नुपर्ने बाध्यता थियो । स्वास्थ्य संस्थाको पहुँच नहुँदा उपचार नपाएर कतिको ज्यान समेत जान्थ्यो । गाउँका गर्भवती महिलाहरु सबैभन्दा बढी जोखिममा थिए । हुनेखानेले हेलिकोप्टर चार्टर गरेर राजधानी विरामी पु¥याउँथे ।
आफ्नो गाउँको यस्तो समस्या देख्दा दम्मार गाउँका पर्यटन व्यवसायी ङिमा शेर्पालाई भने सधैँ पोल्ने गथ्र्यो । त्यसैले स्वास्थ्यका क्षेत्रमा गाउँमा केही गर्न सकिन्छ कि भनेर उनी सधैँ सोच्ने गर्थे । सामान्य उपचारका लागि हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता बढ्दै गएपछि भने उनले आफू रहेको देश इटालीमा सहयोगी हातहरु खोज्न थाले । 
यही क्रममा इटालीमा भेटियो कासा आलेसिया नामक संस्था । बालबालिका लक्षित कार्यक्रम गर्दै आएको उक्त संस्थाले दम्मार गाउँमा स्वास्थ्य केन्द्र स्थापना गर्न चासो देखायो । उक्त संस्थाकै सहयोगमा ङिमाले ५ वर्षअघि आफ्नै घरमा स्वास्थ्य केन्द्र स्थापना गरेर विरामी, गर्भ जाँच र औषधि वितरण गर्ने व्यवस्था मिलाए । उनको पहलमा सञ्चालनमा ल्याइएको स्वास्थ्य क्लिनिक उद्घाटनको दिन एउटा अपत्यारिलो घट्ना घट्यो । स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रममा सहभागी भएकी ङिमाकी ४० वर्षीया बहिनी दाली शेर्पा कार्यक्रमबाट घर फर्कंदै गर्दा सुत्केरी भइन् र अत्याधिक रक्तस्रावले उनको बाटैमा मृत्यु भयो । 
यो घटनापछि ङिमा आफ्नो गाउँठाउँमा स्वास्थ्यका क्षेत्रमा केही गर्नुपर्छ भन्ने थप अठोटका साथ अगाडि बढे । उनले आफ्नो गाउँ दमारसहित पात्ले र छेर्मादिङ गाउँमा समेत बहिनी दाली शेर्पाको नाममा दाली शेर्पा मेमोरियल स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने योजना बनाए । उनको योजना अनुसारै अहिले दम्मार गाउँमा १२ लाख रुपैयाँमा स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । उक्त केन्द्रमा २ जना अहेब र १ जना अनमी कार्यरत छन् । पात्ले र छेर्मादिङमा भने जग्गा प्राप्त गरी भवन निर्माणको प्रक्रिया थालनी भएको छ । “एक पत्ता सिटामोललाई एक हजार दिन्छु भन्दा पनि गाउँमा नपाइने अवस्था थियो, गर्भवती महिलाहरुलाई सबैभन्दा बढी जोखिम थियो” ङिमाले भने, “त्यसैले स्वास्थ्यका क्षेत्रमा पिछडिएका गाउँमा केही गरौं भन्ने उद्देश्यले स्वास्थ्य केन्द्र खोलिएको हो ।”
ओखलढुंगा नौ डाँडा संस्थामार्फत् स्वास्थ्य केन्द्र भवन निर्माणमा कासा आलेस्सा संस्थाको सहयोग छ । जसमा औषधि उपचार र जनशक्ति भने न्युजिल्याण्डको फारगोट्टन शेर्पा ट्रष्टले व्यहोर्दै आएको छ । हाल पात्ले र छेर्मादिङ गाउँमा स्वास्थ्य केन्द्र निर्माण भइनसकेकाले नियमित स्वास्थ्य क्लिनिक सञ्चालनको व्यवस्था मिलाइएको छ । दम्मार गाउँमा सञ्चालनमा आएको स्वास्थ्य केन्द्रबाट ओखलढुंगाको बाख्रे, नलीडाँडा, माझखर्क, सुर्के, घट्टेखोलालगायतका गाउँका बासिन्दा लाभान्वित भएका छन् । यस्तै उक्त केन्द्रमा सोलुखुम्बुको ढिकुरे, टाप्टिङ, झाप्रेलगायतका गाउँबाट समेत सेवाग्राही आउने गरेका छन् । स्वास्थ्य केन्द्रमा दैनिक एकदर्जन विरामी आउने गरेको स्वास्थ्य केन्द्रमा कार्यरत अहेव टुकुनी शेर्पाले बताइन् । जसमा सबैभन्दा बढी गर्भवती महिलाहरु गर्भ जाँच गराउनका लागि आउने गरेको उनको भनाई छ ।
स्वास्थ्य केन्द्रबाट विरामीहरुको स्वास्थ्य जाँच गर्ने र जटिल अवस्थाका विरामीहरुलाई जिल्ला स्वास्थ्य कार्यालय, ओखलढुंगा सामुदायिक अस्पताललगायत राजधानीका अस्पतालमा रेफर गर्ने गरिएको छ । सरकारले प्रवाह गर्ने स्वास्थ्य सेवा उपभोगबाट बञ्चित नागरिकहरुलाई ङिमाको पहलमा सञ्चालनमा आएको स्वास्थ्य केन्द्रले राहत प्रदान गरेको सञ्चालन समितिका अध्यक्ष कुंगा शेर्पाले बताए । भवन निर्माण हुँदै गरेका पात्ले र छेर्मादिङमा जतिसक्दो चाँडो भवन निर्माणको काम सकेर स्वास्थ्य सेवा प्रदान गरिने भएको छ ।
ङिमा गाउँमा समाजसेवामा सक्रिय छन् । स्वास्थ्य सेवाका साथै अन्य विभिन्न क्षेत्रहरुमा विभिन्न दाताहरुमार्फत् सहयोग गरिरहेका छन् । ङिमाकै पहलबाट यसअघि दम्मार गाउँमा सोलार वितरण, शैक्षिक सामग्री वितरण, खानेपानी आयोजना निर्माण, विद्यालय निर्माणलगायतका काम भएका थिए ।
 

ओखलढंगा समाचारदाताका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho