उपत्यकाको सवारी ब्यबस्थापन र ट्राफिक प्रहरीको मनोबल

शेर्पाखबर

२०७५ भाद्र १९, मंगलबार


  
नेपाल भ्रमणको क्रममा करिब दुई साता अगाडि एक साँझ उपत्यका ट्राफिक कार्यालय, बग्गीखानाका प्रमुख एसएसपी बसन्त पन्तसँग गफिइरहँदा एसएसपीको मोबाइल बज्यो।

उनको मोबाइल कुराकानीको क्रममा अनुमान गर्न सकिन्थ्यो कि त्यो फोन उपल्लो दर्जाको प्रहरी अधिकृतको हुनुपर्छ। किनकि, त्यहाँ सोधखोज ट्राफिक प्रहरीको चेकिङ कहाँ कहाँ भइरहेको छ? भन्ने जिज्ञासासँग सम्बन्धित सुनिन्थ्यो।

कुराकानीको अन्त्यमा एसएसपी पन्तले कुरा टुंग्याए- ‘हस सर म कन्ट्रोलमा बुझ्छु।’

पछि थाहा भयफ, त्यो कल भर्खरै भूपु भएका नेपाल प्रहरीका डिआईजीको रहेछ। जो त्यस साँझ एउटा पार्टीबाट घर फर्कने क्रममा थिए र पार्टीको रमझममा गाडी ड्राइभ कत्तिको सुरक्षित छु (ट्राफिक प्रहरीको मापसे चेकिङ्ग बाट) पत्ता लगाएर ढुक्क हुन् चाहन्थे।

मलाइ आश्चर्य लाग्यो, हाम्रो ट्राफिक प्रहरी अरूको लागि मात्र हैन, आफ्नै उपल्लो दर्जाकासँग पनि यति अदबका साथ् कारवाही गर्न सक्ने भएका छन्? तब एसएसपी पन्तले बताए ‘साथी, हाम्रा केटाहरूले कसैलाई पनि छाड्दैनन’, मलाई गज्जब लाग्यो अनि खुसी पनि।

मापसे चेकिङको जनस्तरमा सकारात्मक दबदबा त सुनिएकै हो तर, यो लेभलमा प्रहरीका हाकिम नै सजग र सतर्क हुने कुराले मलाई बिगत सम्झाइदियो।

जब उपल्लो दर्जाका हाकिमहरू चेकिङमा रहेका आफ्नै जुनियरलाई दर्जाको रवाफमा उल्टो आदेश दिनसक्ने हैसियतमा बस्थे। तर, अहिले धेरै परिवर्तन भइसकेको महसुस भयो- अरू त अरू यिनै एसएसपी ट्राफिकमा एसपी हुँदा तत्कालिन प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालको छोराले एउटा सामान्य ट्राफिक सम्बन्धि गल्ति गरेछन्, यीनै पन्तले उनलाई चिट काट्न लगाएर ट्राफिक सम्बन्धि क्लासमा राख्न लगाए।

उनको बुवा तत्कालिन आइजीपी अर्यालले पनि छोरालाई ‘तैले झन् बढी नियम पालन गर्नुपर्छ, बुझिस् छोरा?’, भनेर ट्राफिक नियम सम्बन्धि क्लास लिन पठाएका रहेछन्। तब अरूको के कुरा।

जनस्तरमा पनि ट्राफिक प्रहरीको अर्कै इमेज बनिसकेको रहेछ –‘ट्राफिकले भेट्यो भने त छाड्दैन।’ यो ‘इमेज’ ले निकै ‘काम गरिरहेको देखियो। उपत्यकाको सडकले धान्नसक्ने भन्दा बढी जनसंख्या अनि सवारी साधनको चाप रहेको सन्दर्भमा हुनसक्ने सानो कमजोरीले पनि उपत्यकामा ठूलो अस्तव्यस्तता ल्याइदिन सक्छ।

त्यसमा पनि असरल्ल जहा र जतिबेला नि पाइने ब्राण्ड ब्रान्डका मादक पदार्थको कारणले निम्त्याएका अर्थात निम्त्याउन सक्ने दुर्घटनाको स्वरूप त अर्कै छँदैछ। त्यसैले पनि उपत्यका ट्राफिक प्रहरी सबल र सक्षम हुनु जरूरि छ। जुन कुरा पहिलेभन्दा निकै सुधारिएकोस्तरमा पुगेको देखिन्छ। तर, यो स्वरुप जहाँ जहाँ ट्राफिक प्रहरीको उपस्थिति छ, त्यहाँ मात्र महशुस हुन्छ, जहाँ ट्राफिक हुन्न, त्यहाँ आफ्नै ‘उही राज’ छँदैछ। यस्तो लाग्छ यो सबै ट्राफिक प्रहरीको लागि मात्रै हो।

उपत्यका ट्राफिक प्रहरीलाई देखिएको मुख्य च्यालेन्ज भनेको ठाउँ ठाउँमा हुने ‘नियमित जाम’ हो। चाहे त्यो कोटेश्वरको होस् या चाहबिलको वा गौशाला अनि कलंकीको, सबैको एकनास दुखेसो सुनिन्छ, तर त्यो ट्राफिक प्रहरीको मात्रै एक्लो जिम्मेवारी होइन। ट्राफिकको एकोहोरो प्रयासले मात्र यो सुध्रिनेवाला छैन।

सवारी चालकले न त सडकको लेन पालना गर्छ, न त कसैलाई प्राथमिकतामा राखेर अगाडि जान दिन्छ। अरु त अरु एम्बुलेन्सलेसमेत साइरन बजाउँदै बाटो खोज्नुपर्ने अवस्थामा बस्नुपर्ने देखिन्छ।

यस अवस्थामा युरोपतिरको यत्रो बिशाल ट्राफिकमा पनि बिना ट्राफिक प्रहरी यातायात ब्यवस्था ब्यवस्थित अनि सुचारू भइरहन कसरी सम्भब भयो होला त? यसको अध्ययन हाम्रो लागि सान्दर्भिक हुनसक्छ।

विशेषत: सिस्टमलाई फलो गर्ने चालक नै त्यसको जवाफ हो - जहाँ पहिलो प्राथमिकता आफू होइन, अरुलाई दिइन्छ, हाम्रोमा ‘म’ पहिले जान्छु भन्ने मान्यता छ, भने युरोपमा ‘तिमी’ पहिले जाउ भन्ने मान्यता स्थापित छ।

हुनत पर आइरहेको गाडीलाई देखेर सिग्नल दिन झिलिक्क बालिने ‘हेड लाइट’  को अर्थ नै बेग्लाबेग्लै छ - हाम्रो नेपालमा अगाडि गाडीलाई झिलिक्क हेड लाइट बाल्नु भनेको ‘तिमी पख, म जान्छु’ भन्ने बुझिन्छ, उता युरोपमा भने त्यसको अर्थ ‘म पर्खन्छु, तिमी पहिले जाउ’ भन्ने हो। यो पनि एउटा कारक हो। हाम्रोमा ट्राफिक जाम हुने अनि युरोपमा सुब्यबस्थित हुने। हाम्रोमा तछाड मछाड हुन्छ, बिचरा ट्राफिक प्रहरीको मुख नै सुकिसकेको हुन्छ सिट्ठी फुक्दा फुक्दा। तर, सवारी चालकलाई बहादुरी नदेखाई हुँदैन, तसर्थ यस्ता बहादुर चालकलाई सही ट्रयाकमा ल्याउन बहादुर ट्राफिक प्रहरी र यस्तै निर्भिक नेतृत्वको जरूरत पर्छ।

जहाँ सयौंको संख्यामा सांसद, मन्त्रि अनि नेताको आवागमन अनि बसोबास हुन्छ, जहाँ प्रत्येक दिन कहिँ न कहिँ ट्राफिक प्रहरीसँग यीनै शक्तिशाली ठोक्किन आउँछन्। तब दवाब त भोग्नु नै पर्छ। एउटा ट्राफिक प्रहरीका हवल्दारले सायद एउटा माथि कसैको दवाब दिन खोज्ने सवारी चालकलाई कुनै घटनाको दृस्टान्त दिँदै थिए।

भएछ के भने यीनै एसएसपी पन्त ट्राफिकमै एसपी छँदा एक जना ट्राफिक जवानले पूर्व मन्त्री, तत्कालिन सभासद (जो सत्तारुढ पार्टीका उपत्यकाका प्रभावशाली नेता अनि हाल सांसद पनि हुन्) लाई कुनै सवारी गल्तीमा चिट काटेछन्, तब ती पूर्व मन्त्री बग्गीखाना आएर यिनै एसएसपीसँग बडो बेढंगले ठूलो ठूलो स्वरमा कड़किएछन्।

चिट काट्ने ती ट्राफिक सिपाहीको बारेमा सिकायत गरेछन् र आफू ट्राफिकको क्लासमा नबस्ने अड्डी कसेछन्। तत्कालिन एसपी पन्तले नम्र भावमा सम्झाउने प्रयास गरेछन्-‘नियम सबैलाई उही हो हजुर।’ तब झन् आफू पूर्व मन्त्री भएको कुरा सम्झाउन खोजेछन्, हुँदा हुँदा ती पूर्व मन्त्रीले यति उग्रता लिएछन् कि सँगै गाडीमा आएकी उनकी श्रीमतीले समेत ‘आफू नियम उलंघन गर्ने अहिले आफ्नै बेइज्जत हुनेगरी कराउने? यदि तपाईँ यस्तै व्यहोरा देखाउनु हुन्छ भने म हिँडेरै घर जान्छु’, भनेपछि बल्ल पूर्व मन्त्री ठेगानमा आएछन्।

जे होस् पूर्व मन्त्रीजी ट्राफिक क्लासमा बसेर नियम सिकेरै घर गएछन्।

जे होस्, अहिलेको उपत्यका ट्राफिक प्रहरीको मनोबल र सक्रियता निकै सबल महशुस हुन्छ, तर त्यति मात्रै यातायात ब्यवस्थापनको लागि पर्याप्त नहुँदो रहेछ। यसमा जनस्तरबाट पनि त्यति नै साथ र सहयोग जरूरि हुन्छ।

जे होस् आफ्नै प्रहरी भित्र त ट्राफिक प्रहरीले राम्रैसँग उपस्थित देखाइसकेको रहेछ। त्यसको ज्वलन्त उदाहरण एक जना नेपाल प्रहरीका बहालवाला जिल्ला एसपीले भन्थे-‘मापसे गरेर गाडी चलायो अनि ट्राफिकको जवानले चेकिङ्गमा फेला पार्‍यो र आफूले आफ्नो परिचय दिदै अनुरोध गर्‍यो भने, ती जवानले सेटमा कन्ट्रोललाई सोधिहाल्छ- ‘मापसेमा चेक गर्दा एसपी सा'ब हुँ, भन्नुहुन्छ, उहाँलाई के गरौं सर?’.....तब पुगिहाल्यो नि।

उपत्यका ट्राफिक भित्र भएको आन्तरिक आदेश के रहेछ भने- ‘यदि कसैले ट्राफिक गल्तीमा प्रहरीको सिनियर अफिसरलाई कारबाही गर्‍यौं भने पुरस्कृत हुनेछौ।’

तब के चाहियो र? यति मनोबल हुनु भनेको धेरै ठूलो कुरा हो। तर, एउटा सत्य के पनि हो भने ट्राफिक प्रहरीले चाहेर मात्रै उपत्यकाको ट्राफिक ब्यबस्थापन चुस्त र दुरुस्त चाही हुन् सक्दैन,यसमा सम्बन्धित सबैको चासो रहनुपर्छ ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho