किन मर्छन्, लेक लागेर वर्षेनी दर्जनौं ?

कुम्भराज राई

२०७५ श्रावण २०, आईतबार


ओखलढुंगा (शेर्पाखबर) । गत जेठ ६ गते सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा दुधकुण्ड नगरपालिका १० टाप्टिङका २९ वर्षिय पेमारिन्जी शेर्पाको लेक लागेर मृत्यु भयो । आमालाप्चा पार गरेर मेरा पिक जाने क्रममा लेक लागेपछि फर्किने क्रममा उनको खारे भन्ने ठाउँमा ज्यान गयो ।
सोही दिन सोही गाउँपालिकाको कोठे भन्ने ठाउँमा सुनसरी इटहरीका डिल्लीप्रसाद पौडेलले पनि लेक लागेकै समस्याले ज्यान गुमाए । उनलाई हेलिकप्टरबाट उद्दारको प्रयास गर्दा समेत प्रतिकुल मौसमको कारण सम्भव भएन । उनी पेल्ट्रिक सेट (विद्युत मेसिन) जडानका लागि आएका थिए ।
यी दुईमध्ये शेर्पालाई लेक लाग्ने समस्याबारे ज्ञान भएपनि जर्बजस्ती गरेको र पौडेललाई त्यसबारे ज्ञान नभएको अनुमान गर्न सकिन्छ । किनभने शेर्पा आफै उच्च भुभागमै जन्मे हुर्केका हुन् भने पौडेल यसबारे ज्ञान नहुने ठाउँका हुन् । 
यी केही उदाहरण मात्र हुन् । तर लेक लागेर मृत्यु हुने प्राय यिनै कारण हुन् । एक यसबारे ज्ञान नभएर, अर्को ज्ञान भएपनि जर्बजस्ती उकालो जाने प्रयास गरेर । ‘लेक लाग्नु आफैमा कुनै रोग होइन । यो त जति उचाईमा गयो शरिरलाई आवश्यक अक्सिजन कम भएपछि देखिने समस्या हो ।’ हाई अल्टिच्यूड विशेषज्ञ डा. निमा नाम्गेल शेर्पाले भने, ‘यसका लागि हामीले आवश्यक ज्ञान लिएर पालना मात्र गर्ने हो भने पनि कोही मर्नुपर्दैन ।’
‘लेक लाग्नु’ के हो ?
जति उचाईमा गयो त्यति बोटविरुवा कम पाइन्छन् । बोट बिरुवा जति कम हुँदै जान्छन्, त्यति  अक्सिजनको मात्रा कम हुन्छ । त्यसैले उचाईमा जाँदा शरिरलाई अक्सिजनको मात्रा पुग्दैन । अनि स्वासप्रश्वास बढ्नु, टाउको दुख्नु, निंद्रा लाग्नु, शरिर कमजोर हुनु, होस गुमेजस्तो हुनु आदि लेक लाग्नुका लक्षण हुन् । राती निंद्रामै स्वासप्रश्वासमा समस्या भएर ब्यूंझिनु जस्ता लक्षण देखिन्छन् ।
लेक लागेपछि ज्यान जाने खतरा बढ्छ । शरिरमा अक्सिजनको मात्रा कम हुने बित्तिकै शरिरको सबै अंगमा यसले असर गर्छ र बिरामीको केही घण्टामै मृत्यु सम्म हुनेगर्छ । ‘तीन हजार मिटर भन्दा माथी उचाईमा जाने ९० प्रतिशत भन्दा बढीलाई लेक लाग्ने समस्याको कुनै न कुनै लक्षण देखिन्छ ।’ डा. निमा भन्छन्, ‘त्यसमध्ये अनुमानित ४० प्रतिशत उकालो जानै नसक्ने गरि समस्याबाट पीडित हुन्छन् ।’
कसरी बच्ने ?
लेक लागिहालेमा पहिलो विकल्प भनेको तल झर्ने (पछाडी फर्किने) नै हो । कम्तिमा १ सय देखि २ सय मिटर फर्किहाल्नुपर्ने हुन्छ । आफूलाई गाह्रो भएमा नलुकाई साथीभाईलाई समस्या सुनाउनुपर्छ । अन्तराष्ट्रिय मान्यता अनुसार ३ हजार मिटर भन्दा उचाईमा गएपछि एकदिनमा ३ सय मिटर भन्दा बढी हिँड्न नहुने डा. निमा नाम्गेल शेर्पा बताउँछन् ।
‘हामी दिनमा ३ सय मिटर भन्दा माथी गएनौ“ भने प्राय यो समस्या कमैमा मात्र देखिन्छ ।’ डा. निमाले भने, ‘तर हामी समय छ र शरिर स्वस्थ छु भनेर अझै माथी जाने प्रयत्न गछौं । जड समस्या त्यही हो ।’ 
उचाईमा जाँदा धेरैभन्दा धेरै तातो पानी पिउने, झोलिाले पेय पदार्थ जस्तै सुप, जुस पिउनुपर्छ । जसले शरिरमा अक्सिजनको मात्रा बढाउ“छ । उचाईमा अल्कोहल पिउन हुन्न । अल्कोहल धेरै पिउनेहरुले समेत लेक लाग्ने समस्याले ज्यान गुमाउने गर्छन् । 
किन वर्षेनी मर्छन् मान्छे ?
लेक लाग्नु कुनै रोग नभएपनि वर्षेनी विदेशी र स्वदेशी दुवै मर्ने गरेका छन् । केन्द्रिय प्रहरीस“ग भएको तथ्यांक अनुसार २०७३ सालमा सोलुखुम्बुमा दुईजनाको मृत्यु भएको थियो । त्यसमध्ये एकजना नेपाली र एकजना चाइनीज थिए । त्यसैगरि २०७४ सालभरिमा सोलुखुम्बु, मुस्ताङ, मुग, हुम्ला, मनाङ र दोलखामा गरि १० जनाले ज्यान गुमाएका थिए । त्यसमध्ये चार विदेशी र ६ नेपाली थिए ।
यस अघिपछिका तथ्यांक तत्काल फेला नपरेपनि वर्षेनी दर्जन हाराहारीमा पदयात्रीहरुले लेक लागेकै कारण ज्यान गुमाउने गरेको अनुमान छ । यसरी ज्यान गुमाउनुको मूख्य कारण लेक लाग्नेबारे ज्ञान नहुनु हो । ‘धेरैलाई घुमाउन ल्याउने कम्पनीले आवश्यक ज्ञान दिएका हुँदैनन् ।’ साहसिक पर्यटन तथा माउन्टेनरिङ सम्बन्धि विज्ञ चक्र कार्कीले भने, ‘जति सक्दो नेपाली र विदेशी दुवैलाई यसबारे पर्याप्त ज्ञान दिन सके कसैले ज्यान गुमाउनै पर्दैन ।’
‘हिमालय मेडिक्स’ नामक संस्था समेत सञ्चालन गरिरहेका डा. निमा नाम्गेलले लेक लाग्ने समस्याबाट ज्यान गुमाउने संख्या घटाउनकै लागि छुट्टै काम शुरु गरेको बताए । उच्च हिमाली क्षेत्रमा जाने पदयात्रीलाई ब्रिफिङ गराएर पर्याप्त ज्ञान दिई पठाउनका लागि त्यसले काम गर्ने शेर्पाले बताए । पर्यटकबाट कर मात्र संकलन नगरि सरकारले समेत यस्ता समस्या सम्बन्धि चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले बताए । हिमाली क्षेत्रमा बेपत्ता हुने अधिकांश पर्यटक लेक लागेरै मर्ने गरेका छन् । जसका कारण नेपाली पर्यटन समेत प्रभावित हुनेगर्छ । 

 

प्रस्तुत तस्वीर सगरमाथा जाने बाटोमा पर्ने थुक्लापासमा आरोहणका क्रममा तथा लेक लागेर मर्ने आरोही र पर्यटकको सम्झनामा बनाईएका स–साना स्मारकहरु ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho