बौद्ध धर्मः घेवा अर्थात संस्कार सुधारको पक्षमा

विना थिङ

२०७५ श्रावण १७, विहिबार


काठमाडौँ — धार्मिक पृष्ठभूमि अनुरूप हामीले मानिआएका रीतिथिति, चालचलन र संस्कारमा विविधता पाइन्छ । धर्म कर्तव्य, अधिकार, न्याय, चरित्र, आस्था, विश्वाससँंग जोडिएको हुन्छ । धर्म आत्मिक सुख र अनुशासनको कडी हो ।
तर यही धर्म–संस्कारले कहिलेकाहीं साङ्लो बनेर मानिसलाई मानसिक र भौतिक रूपमा बाँधिराख्छ । बाँचुन्जेल मात्र नभई मरेपछि पनि संस्कारका नाममा मानिस प्रताडन खेप्न बाध्य छन् ।
तामाङ जाति धार्मिक अभ्यासले बौद्ध धर्मको नजिक छ । बौद्ध धर्म भौतिकवादी धर्मका रूपमा परिचित छ । यस धर्ममा जन्म र मृत्यु सम्बन्धी संस्कार अरूको भन्दा खुकुलो र कम कष्टकर छ । यद्यपि क्षेत्रगत हिसाबले यस्तो संस्कारमा विविधता भेटिन्छ । हिन्दु धर्मको प्रभावमा परेका तामाङहरूले आफन्तको मृत्युपश्चात तेह्र दिन नुन बार्ने, सेतो वस्त्र धारण गर्ने, भौतिक वस्तुहरू दान दिने गरेका छन्– जुन बौद्ध धर्मको नियमभित्र पर्दैन ।

मृतकको परिवार जति शोकमा रह्यो, जति कष्टकर आशौच बार्‍यो, त्यति नै मृतक आत्मालाई कष्ट हुन्छ भन्ने मान्यता तामाङ संस्कारमा छ । परिवारको सदस्यको मृत्यु भएको तेह्र दिनदेखि उनन्चास दिनभित्रमा घेवा गर्ने परम्परा छ । त्यसको वर्ष दिनमा वार्षिकी मनाइन्छ । वार्षिकीमा गुम्बामा गएर मृतकको सम्झनामा छ्युमी (घ्युको बत्ती) बाल्ने गरिन्छ । यो कसै–कसैले तीन वर्षसम्म गर्छन् । त्यसपछि मृतात्माको पूर्ण मुक्ति भएको मानिन्छ । हिन्दुमा जस्तो आजीवन श्राद्ध गर्ने चलन बौद्ध संस्कारमा छैन । तर तामाङ संस्कारमा केही यस्ता चलन छन्, जसले मृतक परिवार लगायतका समुदायले अझै सकस व्यहोर्नु परिरहेको छ ।

गत भदौमा एक मित्रको सासू बितिन् । दुर्घटनामा घाइते उनलाई संखुवासभाबाट हेलिकप्टर चार्टर गरेर उपचारार्थ राजधानी ल्याइएको थियो । उपचारका क्रममा एघार लाख रुपैयाँ सकियो । र पनि बिरामी बचाउन सकिएन । दाह संस्कारको साइत हेर्दा तीन दिनपछि मात्र देखियो । मृत्यु भएदेखि दाह संस्कारको दिनसम्मको पूजाआजा प्रक्रियाले व्ययभार अझ बढायो । त्यसपछि तेह्र दिनमा गरिएको घेवामा लामा, आनी दानदक्षिणा, पाहुना सत्कार (पुलाउदेखि पेयसम्म) ले थप चार लाख खर्च भयो । सामान्य घेवा गरेर पठाउँदा हैसियतमाथि प्रश्न उठ्ने डरकै कारण अहिले उनी ऋणमा छन् ।

घेवा, विवाह लगायतमा गरिने खर्चले सामाजिक हैसियत निर्माण गर्ने यो कस्तो चलन ? यस्तो स्पर्धा विकृति नै बनेर देखिएको छ । यसले तामाङ समाजलाई कतातिर लाँदैछ ? यतातिर तामाङ बुद्धिजीवीहरूको ध्यान तानिनु जरुरी छ ।

पहिले–पहिले तामाङ समुदायमा घेवा गरिने दिन गाउँभरिका सबैले घरायसी उत्पादन अन्न (कोदो), रक्सी, पकाएको अन्डा लिएर जान्थे । बजार विस्तार भएपश्चात फलफूल, चाउचाउ, लेज, कोकोकोला, चकलेट, वनस्पति घ्युजस्ता सामग्रीले ती स्थानीय सामग्रीलाई विस्थापित गरिदियो । अचेल मृतकको घुर (प्रतिमा) मा आयातित महङ्गा खाद्य सामग्री चढाएर घेवा सकिएपछि खोलामा फ्याँकिन्छ । यस्तो लोकाचार हास्यास्पद छ । बजारिया सामग्री खरिदमा अनावश्यक खर्च भइरहेको छ ।

मृतक परिवार लगायत समुदाय नै आर्थिक भार थपिएको छ । मरेको मान्छेका लागि यति पनि गर्न नसक्ने भनेर भावनात्मक ‘ब्ल्याकमेल’ गर्नु एक प्रकारको शोषण नै हो । जीवित छँदा बिरामीको खानपिन लगायत उपचारमा दत्तचित्त हुनु जतिको धर्म अरू के होला ? यसको अर्थ यो होइन कि मरेपछि अन्त्येष्टि नगर्नु । पाल्देन लामा (लामा गुरु) का अनुसार मृतात्माको मुक्तिका लागि त्यसरी अनेक परिकार राख्नुपर्छ भन्ने धर्मग्रन्थमा लेखिएकै छैन ।

जुन विधि अनावश्यक छ, त्यो त्याग्दै जानुपर्छ । खोलामा फ्याँकेर कुहाउने खानेकुरा बरु भोकै बसेकालाई दिन पाए कति जाती हुन्थ्यो । धर्म संस्कार सदैव मानव हितका लागि हुनुपर्छ । जेले मानिसलाई दु:ख दिन्छ, ती कुरा परिमार्जन गरिनुपर्छ । चार–पाँच वर्ष पहिले हाम्रो गाउँ बूढानीलकण्ठ–१ तौलुङमा घेवामा अनावश्यक सामग्री खरिदमा खर्चनुको सट्टा त्यति बराबर मृतक परिवारलाई राहत दिऊँ भन्ने प्रस्ताव राख्दा पुरातन सोच भएका अगुवाहरू रिसले क्रुद्ध भए ।

पुन: दुई वर्ष अगाडि साठी घरपरिवारलाई विश्वस्त पारेर एउटा समूह तयार पारियो । समूहले घेवाको दुई हप्ता अगाडि नै त्यो सामग्री खरिदमा लाग्ने अनुमानित खर्च उठाएर मृतक परिवारलाई हस्तान्तरण गर्ने परिपाटी लागु गर्‍यो । यसले गर्दा सामान्य घेवाको लागि लाग्ने खर्च व्यवस्थापनमा ठूलो सहायता मिलेको छ । यो समूहका सदस्यहरू मृत्यु संस्कारका लागि ऋण लिन बाध्य हुनुपरेको छैन ।

एक त हामी नेपालीको औसत आम्दानी नै कम छ । त्यसमा कति प्रतिशत नै बचत गर्न सक्छौं र ! जन्मेदेखि मृत्युसम्म विविध संस्कारका नाममा हामी आर्थिक रूपमा दपिटिइरहेका छौं । हुने–खानेलाई यो विषयले खासै नछोला, तर हुदाँ खानेलाई परेको मारको कथा बेग्लै छ । हामी सच्चिएर जानुको विकल्प छैन ।

@कान्तिपुरबाट साभार

विना थिङका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho