मागको चाङसहित खिजीदेम्बा अध्यक्ष शेर्पा मन्त्रालयमा

शेर्पाखबर

२०७९ भाद्र १५, बुधबार


ओखलढुंगा (शेर्पाखबर) । खिजीदेम्बा गाउँपालिका ओखलढुंगाका अध्यक्ष गम्बु शेर्पा संघीय मन्त्रालयको ढोका ढकढक्याउन पुगेका छन् । गाउँपालिकाभित्रका समस्या र आवश्यकताको फाइल लिएर अध्यक्ष शेर्पा विभिन्न मन्त्रालय पुगेका हुन् ।  
अध्यक्ष शेर्पाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रलयमा पुगेर औद्योगिक ग्राम र कृषि बागवानी स्थापनाका लागि पूर्वाधार निर्माणका गर्ने बजेट माग गरे  । गाउँपालिकालाई औद्योगिककरण मार्फत स्थानीयस्तरमा समुदायको आर्थिक हैसियत उठाउने, पर्यटन प्रबद्र्धन गर्ने र रोजगारीको अवसर सिर्जना गर्ने गाउँपालिकाको योजनालाई साकार पार्न मन्त्रालय चहार्नु परेको अध्यक्ष शेर्पाको भनाइ छ । गाउँपालिकाले वडा नं. ६ हातेमा औद्यौगिक ग्राम स्थापनाका लागि जग्गा समेत व्यवस्थापन गरिसकेको वडा अध्यक्ष पासाङ निमा शेर्पाले जानकारी दिए । 
 

त्यस्तै, अध्यक्ष शेर्पाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पुगि गाउँपालिकामा निर्माण भएको अस्पतालका लागि विशेष बजेट व्यवस्था गरी दिन अनुरोध गरेका छन् । भवन निर्माण सम्पन्न भएतापनि अस्पताल सञ्चालनमा ल्याई सेवा सुचारु गर्न गाउँपालिकासँग आन्तरिक स्रोत नभएकाले आवश्यक जनशक्ति, सामाग्री र बजेटको विशेष व्यवस्था गरी माग पत्र पेश गरे । 
अध्यक्ष शेर्पाले युवा तथा खेलकूद मन्त्रालयमा एक वडा एक प्रदेश स्तरीय खेल मैदान र कर्वाड हल निर्माणका लागि बजेट माग गर्दै मन्त्री महेश गहतराज समक्ष अनुरोध गरे । सामान्य खेलकूद मैदान नहुँदा युवाहरुलाई खेल क्षेत्रमा अघि बढाउन समस्या भएको र गाउँपालिकासँग पर्याप्त बजेट नभएकाले संघीय सरकारलाई गुहार्नुपरेको अध्यक्ष शेर्पाको भनाइ छ ।
अध्यक्ष शेर्पाले यसअघि पनि विभिन्न मन्त्रालयमा पुगेर गाउँपालिकाको दिगो विकास, आर्थिक हैसियत उठाउने खाले योजना पेश गरी बजेट माग गरेका थिए । सडक, पुल, खानेपानी, प्रशासनिक भवनको तल थप्ने लगायतका मागहरु पूरा भई कार्यान्वयनको चरणमा रहेको अध्यक्ष शेर्पाका सचिवालय सदस्य ल्हमु शेर्पाले जानकारी दिए । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho