शेर्पालुङको अध्यक्षमा दावा शेर्पा चयन
लाक्पा जी शेर्पा
२०७९ श्रावण १४, शनिबार

काठमाडौं (शेर्पाखबर) । जनता समाजवादी पार्टी निकटशेर्पालुङ राष्ट्रिय समन्वय समितिको अध्यक्षमा दावा शेर्पा चयन भएको छ । राजधानीमा आयोजित भेलाले शेर्पाको अध्यक्षतामा २७ सदस्यीय समिति गठन गरेको हो ।
पहिचानमा आधारित १० जोड १ राष्ट्रिय समिति अन्तर्गत शेर्पालुङ क्षेत्रको दुई वटा समितिलाई समेटिएर समन्वय समिति गठन गरेको केन्द्रीय सदस्य लाक्पा शेर्पाले जानकारी दिए । समितिको उपाध्यक्षहरुमा रिन्जी शेर्पा, ल्हमु शेर्पा, नुर्बु शेर्पा, दीर्घमान तामाङ रहेका छन् । त्यस्तै, मुख्य सचिवमा महेशकुमार रानामगर, सचिवमा फुर्पुछिरिङ लामा, नुरु शेर्पा, फुरगेल शेर्पा छन् । कोषाध्यक्षको जिम्मेवारी ल्हाक्पा डोमा शेर्पाले पाएको संघीय परिषद सदस्य छेल्हमु शेर्पाले जानकारी दिइन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यकारिणी सदस्य रामसहाय प्रसाद यादव, सांसद लिला सिटौला, पार्टीका केन्द्रीय सदस्यहरु, पहिचानसहितको राष्ट्रिय समितिका अध्यक्षहरु, जनवर्गीय संगठनका प्रमुखहरु सहभागि थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ सय ५० भन्दा बढी जसपा प्रवेश गरेका छन् ।
