चण्डेश्वरी विमानस्थलका लागि २० करोड माग

लाक्पा जी शेर्पा

२०७९ श्रावण ७, शनिबार


काठमाडौं (शेर्पाखबर) । ओखलढुंगाको खिजीदेम्बा ३ स्थित चण्डेश्वरी विमानस्थल तत्काल सञ्चालन गर्न २० करोड बजेट माग गरेको छ । गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले पर्यटन मन्त्री जीवनराम श्रेष्ठलाई माग पत्र पेश गर्दै विमानस्थल तत्काल सञ्चालन गर्न माग गरेको हो । 
खिजीदेम्बा गाउँपालिकाले संस्कृती, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, सिंहदरबारमा पेश गरेको माग पत्रमा निर्माणाधिन चण्डेश्वरी विमानस्थल परीक्षण उडान भएतापनि सञ्चालनमा आउन नसकेको उल्लेख छ । 
तत्कालिन पर्यटन मन्त्री योगेश भट्टराईको उपस्थितीमा २०७६ पौष ७ गते परीक्षण उडान भएको थियो । पूर्वाधारहरुको निर्माण तथा व्यवस्थापन हुन नसक्दा विमानस्थल घाँसे मैदानमा परिणत भएकाले उक्त विमानस्थल तत्काल सञ्चालनका लागि पूर्वाधार निर्माणमा चासो दिन पत्रमा भनिएको छ । 
विमानस्थलका लागि ग्राबेल तथा कालोपत्रे, टेवा पर्खाल, टर्मिनल भवन र कन्ट्रोल टावर तत्काल निर्माण गर्न भनिएको छ । त्यस्तै, तार घेरावार र सुरक्षा पोष्ट समेत निर्माण गर्न २० करोड रुपैयाँ बजेट व्यवस्था गरी दिन अनुरोध गरेको गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिए । त्यसभेगबाट पर्यटकहरुको आगमनमा अझ बृद्धि भई पर्यटन प्रबद्र्धन र स्थानीयको आर्थिक हैसियत समेत बृद्धि गर्न विमानस्थल नियमित सञ्चालनको विकल्प नभएको अध्यक्ष शेर्पाको भनाइ छ । 
मागपत्र बुझ्दै मन्त्री श्रेष्ठले विमानस्थल सञ्चालनका सम्वन्धमा आफू सकारात्मक रहेको र तत्काल सम्वन्धित निकायसँग परामर्श गरेर काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho