‘नेपहपको श्रीपेच’ बौद्ध धर्मगुरुलाई फिर्ता
शेर्पाखबर
२०७९ असार २१, मंगलबार

काठमाडौं । र्याप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेतालाई पहिर्याइएको मुकुटमा विवाद समाधान भएको छ । काठमाडौंका मेयर तथा ‘नेपहपको श्रीपेच’का एक निर्णायक बालेन्द्र साहले आज बज्राचार्य गुरुलाई उक्त मुकुट हस्तान्तरण गरे ।
रियालिटी शोको शनिवार आयोजित फाइनलमा मेयर साहले विजेता भाइबर साइमनलाई पञ्चबुद्धको आकृतिसहितको मुकुट लगाइदिएका थिए ।
बौद्ध धर्ममा यस्तो मुखः (मुकुट) बज्राचार्यहरूको पूजामा गुरुहरूले पञ्चअभिषेक दिँदा लगाइदिने परम्परा छ । तर, एउटा सांगीतिक कार्यक्रममा धार्मिक महत्त्वको मुकुट दुरुपयोग गरिएको भन्दै विवाद उत्पन्न भएको थियो ।
यस विषयमा हिजो महानगरपालिकामा मेयरसहितको छलफल भएको बुझिएको छ । उक्त छलफलमा मेयर साहले जानेर–नजानेर गल्ती भएको स्वीकार्दै यसलाई सच्याउने प्रतिबद्धता जनाएका थिए । त्यसैअनुरूप आज थँ हिति ज्याथास्थित छुस्या बहास् मा आयोजत एउटा सानो कार्यक्रममा बालेन्द्र स्वयम्ले गुरु देय थस्पा लाई मुकुट हस्तान्तरण गरेका हुन् । कार्यक्रममा पत्रकारहरूलाई निम्त्याइएको थिएन ।
‘नेपहपको श्रीपेच’ का निर्माता सुदिप पोख्रेलले बज्राचार्य समुदायको विशेष मुकुटका विषयमा आफूहरुलाई ज्ञान नभएको बताए ।
‘हामीलाई यो श्रीपेचकों बारेमा त्यति ज्ञान थिएन । बेच्न राख्नुभएको थियो, हामीलाई मन परेर लिएर आएका हांैं । आज हामीले उहाँहरुको संस्कृतिको कदर गर्दै बालेनजी र विभिन्न बौद्ध धर्मसँग सम्बन्धित संघ–सस्थाहरुको उपस्थितिमा उक्त मुकुट बालेनजीको नै हातबाट बुद्धिस्ट गुरुहरुलाई फिर्ता गरेका छौँ ।’
मन्त्र जपेर उक्त मुकुट बौद्ध विहारमा राख्ने सहमति भएको उनले बताए ।
‘हाम्रो विजेता भाइबर साइमनलाई पनि उहाँहरुले आशिर्वाद दिनुभएको छ । हामीले हाम्रो विजेताको लागि अर्को डिजाइनको श्रीपेच बनाउन दिएका छौँ । केही समयपछि सानो प्रेसमिट गरेर हामी त्यो श्रीपेच सार्वजनिक गर्ने छौं,’ उनले भने ।