ओखलढुंगाका प्रकाश सुनुवारसहितको शव त्रिविमा
शेर्पाखबर
२०७९ जेष्ठ १८, बुधबार

ओखलढुंगा (शेर्पाखबर) । तारा एयर दुर्घटनामा ओखलढुंगाका ओखलढुंगाका प्रकाश सुनुवारसहितको शवलाई पोष्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल राखिएको छ । सुनुवार जिल्लाको मोलुङ ६ पात्लेस्थित जेसे गाउँका हुन् । लामो समयदेखि पर्यटन व्यवसायमा संलग्न उनी कलाकारितामा समेत क्रियाशिल थिए ।
आइतबार बिहान देखि सम्पर्कविहीन तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त हुँदा ज्यान गएकाहरुको शवलाई पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने जनाइएको छ ।
शवलाई नेपाली सेनाको हेलीकपटरबाट काठमाडौं ल्याइएको छ । एन–एईटी कलसाइनको जहाजमा सुनुवारसहित २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाज दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–११ लोटाका एकै परिवारका सात सदस्य पनि परेका छन् ।
क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएको जहाजमा पाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा थिइन् ।
पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीनअटर जहाज बेलुकीसम्म पनि नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो । सोमबार बिहानैबाट पुनः खोजी थालिएको थियो ।