१ नगरसहित ७ स्थानीय तहको नेतृत्वमा ‘शेर्पा’

लाक्पा जी शेर्पा

२०७९ जेष्ठ ५, विहिबार


लाक्पा जी शेर्पा
काठमाडौं (शेर्पाखबर) ।
सम्पन्न स्थानीय तह निर्वाचनमा शेर्पा समुदायको सहभागिता अपेक्षित देखिएको छ । एक नगरपालिकासहित ७ वटा स्थानीय तहमा शेर्पा समुदायले नेतृत्व लिन सफल भएको हो । 
सोलुखुम्बुको एक मात्रै सोलुदुधकुण्ड नगरपालिकाको अध्यक्षमा नाम्गेल जाङबु शेर्पाले पुनः नेतृत्व लिन सफल भएको जनाएको छ । त्यस्तै, कार्यकाल दोहोर्याउनेमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र संखुवासभाको चिचिला गाउँपालिकाको अध्यक्षमा पासाङ नुर्बु शेर्पा पनि छन् । 
सिन्धुपाल्चोककै भोटेकोसी गाउँपालिकाको अध्यक्षमा पासाङनुर्पु शेर्पा, संखुवासभा मकालु गाउँपालिकाको अध्यक्षमा वाङदी छिरिङ शेर्पाले अध्यक्षमा जित हासिल गरेका छन् । त्यसैगरी, विश्वकै उच्चशिखर सगरमाथा रहेको खुम्बुपासाङ ल्हमु गाउँपालिकामा मिङमार छिरि शेर्पा र ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाको अध्यक्षमा गम्बु शेर्पा अध्यक्षमा निर्वाचित भएका हुन् । 
नेपाली कांग्रेसबाट उम्मेदवार बनेका सोलुदुधकुण्डका मेयर शेर्पाले नेकपा एमालेका आङ काजी शेर्पालाई पराजित गरेका थिए । निर्वाचित शेर्पाले ४ हजार ९ सय ६८ मत प्राप्त गरे भने निकटतम् प्रतिस्पर्धी शेर्पाले ४ हजार ३ सय ९० मत पाएका थिए । हेलम्बुका अध्यक्ष शेर्पाले ५ हजार ३ सय ८६ मत प्राप्त गर्नु गरेर जित निकाले । कांग्रेसबाट उम्मेदवार बनेका शेर्पाका निकटतम् प्रतिस्पर्धी एमालेका दावा लामा थिए । 
चिचिलाका अध्यक्ष शेर्पाले १ हजार ८ सय ६१ मत प्राप्त गरेर विजयी भएका थिए । उनीपनि कांग्रेसबाटै उमेदवार बनेका थिए । कांग्रेसबाट उम्मेदवार बनेका भोटेकोसीका अध्यक्ष शेर्पाले २ हजार ६ सय ५ मत प्राप्त गरेर विजय हासिल गरे भने मकालुका अध्यक्ष शेर्पाले ३ हजार १७ मत पाएर विजयी बने । उनीपनि नेपाली कांग्रेसबाटै उम्मेदवार थिए । त्यसैगरी, एमालेबाट उम्मेदवार बनेका खुम्बुपासाङ ल्हमुका अध्यक्ष शेर्पाले २ हजार २८ मत प्राप्त गरेर निर्वाचित भए । उनले कांग्रेसका चुङबा शेर्पालाई करीव ४ सय मतान्तरले पराजित गरेका थिए । 
जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बनेका ओखलढुंगा खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले निकटतम् प्रतिस्पर्धी कांग्रेसका भूपेन्द्र वस्नेतलाई १ सय ३० मतान्तरले पराजित गर्दै जित निकाले । शेर्पाले २ हजार ८ सय ८२ मत प्राप्त गरेका थिए । 
स्थानीय तह निर्वाचन २०७४ मा शेर्पा समुदायबाट खुम्वुपासाङ ल्हमु, सोलुदुधकुण्ड नगरपालिका सोलुखुम्बु, बाह्रविसे नगरपालिका र हेलम्बु गाउँपालिका सिन्धुपाल्चोक र चिचिला गाउँपालिका संखुवासभामा मात्रै जितेको थियो । 
मत गणना जारी रहेको र सम्पूर्ण मत परिणाम आइ नसकेतापनि शेर्पा उम्मेदवार भएका स्थानीय तहको भने लगभग विवरणहरु आइसकेको नेपाल शेर्पा संघका केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिए । अध्यक्ष शेर्पाले संघको नीति, कार्यक्रम र अभियानले पनि शेर्पा समुदायको बढी भन्दा बढी राजनैतिक तथा नीति निर्माणको तहमा उपस्थिती होस् भन्ने रहेको र त्यसै अनुरुप उपलब्धि हासिल हुनु सुखद रहेको बताए । 

नोटः खुम्बुपासाङल्हमुका अध्यक्षको तस्वीर भुलबस फरक व्यक्तिको पर्न गएकाले सच्याइएको छ । –स

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho