गम्बुले जित्दाः ‘खिजीदेम्बाबासीमा हर्षको आँशु !’
लाक्पा जी शेर्पा
२०७९ जेष्ठ ४, बुधबार

लाक्पा जी शेर्पा
काठमाडौं (शेर्पाखबर) । खिजीदेम्बावासीले ‘हर्ष’ को आँशु वगाएका छन् । चर्चित नेता गम्बु शेर्पा गाउँपालिका अध्यक्षमा निर्वाचित भएको खुसीमा गाउँपालिकावासीले आँशु नै बगाएका हुन् ।
जनता समाजवादी पार्टीद्धारा आयोजित विजयी सभामा गम्बु शेर्पाको जितका पक्षमा ओर्लिएका अधिकांशका आँखा टिल्पिलिए, कतिपयले आँशु नै बगाए । १८ महिनादेखि राजनैतिक संगठन विस्तार अभियानमा रहेका चर्चित गायक समेत रहेका शेर्पाले सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका भूपेन्द्र बस्नेतलाई १ सय ३० को झिनो मतान्तरले जित हासिल गरेका थिए ।

विजयी सभामा नवनिर्वाचित अध्यक्ष शेर्पाले संबोधन गर्दा सभामा एक किसिमको सन्नटा छाएको थियो । उनले विकासको नयाँ मोडलसहित भ्रष्टाचाररहित गाउँपालिका निर्माण गर्ने अठोट गरेका थिए । त्यस्तै, सरकारलाई जनताले खोजेर आउने हैन अब सरकार जनता खोज्दै विकास लिएर घरघर जाने भनेका थिए । जनता दुई छाक टार्न धौ धौ भएका बेला स्थानीय सरकार कार्यकर्ता पोस्नमा मस्त बसकेको तर अब त्यसो हुन नदिने गम्बुले प्रतिज्ञा गरे ।
गरीब, दुःखी, असहायको सारथीको रुपमा आफूलाई सामाजिक सेवा मार्फत चिनाउँदै आएका शेर्पाले गाउँपालिकाको नेतृत्व गर्ने अवसरसँगै दीनदुःखीहरुको हितमा काम हुने भन्दै गाउँपालिकाबासी हर्षभिभोर भएर आँशु बगाएका हुन् । ‘यो खुसीको आँशू हो । गम्बु शेर्पा जस्तो नेता हामीले पायौं, अब हाम्रो दुःखका दिन गए । व्यक्तिको आर्थिक अवस्था हैन, अब गाउँपालिकाको समग्र अवस्था सुधार हुन्छ भन्नेमा हामी विश्वास्त छौं ।’ सभामा सहभागि खिजीदेम्बा ६ का नरकुमारी तामाङले खुसी हुँदै भनिन् ‘यस्तो नेता जन्मेको छ, हाम्रो घरदैलोमा आउनु हुन्छ भनेर सोचेका पनि थिएनौं ।’

राजनैतिक मुद्धासहित विकासका अनेकन योजनाहरु लिएर आफू आएपनि समाजको चेतना भने उठि नसकेको निर्वाचनको क्रममा आफूले महशुस गरेको शेर्पाको भनाइ थियो । अध्यक्ष शेर्पाले चुनाव अघि र मतदानको अघिल्लो दिनसम्मको महोल हेर्दा आफूले दुई तिहाई बढी मत ल्याएर जित्ने आँकलन गरेपनि नतिजा भने सोच जस्तो प्राप्त नगरेको भन्दै असन्तुष्टि समेत पोखे । उनले भने ‘तर, अब म सबैको नेता हुँ, समग्र गाउँपालिकाको अध्यक्ष भएको हैसियतले कसैलाई लाखापाखा नगरी काम गर्छु । पार्टीगत, व्यक्तिगत रुपमा लाग्ने छैन ।’
क्रमागत रुपमा विकासका कार्यक्रमहरु अघि बढाउने उल्लेख गर्दै अध्यक्ष शेर्पाले संघ, प्रदेश, दातृ निकाय र आन्तरिक स्रोत परिचालन गर्ने र सबै शक्ति प्रयोग गरेर समृद्ध खिजीदेम्बाको सपना पूरा गरेरै छाड्ने भनाइ राखे । विगतका सरकार हात थापेर बसेको आरोप लगाउँदै शेर्पाले भने ‘अब हात थापेर बस्ने हैन, हात हालेर बजेट र योजना लिएर आउने हो । त्यो सामथ्र्य मसँग छ ।’

स्थानीय सरकार आएसँगै भ्रष्टाचार र आर्थिक सुशासन कमजोर हुँदै गएको तर्फ इंगित गर्दै अध्यक्ष शेर्पाले गाउँपालिकामा यस्ता विकृतीहरु रहेको तर अब त्यस्ता खाले कुकृत्य गर्नेहरुलाई अघि बढ्न नदिने बताए । सामाजिक रुपान्तरण, आर्थिक विकाससँगै जातजाति, संस्कार संस्कृति, परम्परागत मान्यताहरुलाई स्थापित गर्ने खाले नीति बनाएर अघि बढ्न आफू लागी पर्ने शेर्पाको भनाइ थियो ।
चौमासिक रुपमा वडागत अनुगमन, निरीक्षण गर्ने, विकासको अवस्था र आवश्यकता पहिचान गरी काम गर्ने बताउँदै अध्यक्ष शेर्पाले त्यसका लागि राजनैतिक दलीय विचार भन्दापनि सहकार्य गरेर अघि बढ्न नवनिर्वाचित जनप्रतिनिधीहरुलाई आह्वान गरे ।
कार्यक्रममा लामो मन्तव्य राखेका शेर्पाले आजसम्म भाषण गर्ने र पदभार ग्रहण गरे लगतै काममा लाग्ने बताए । अनेकन संभावना बोकेको खिजीदेम्बालाई विकासको नयाँ खाका दिने क्रममा आफ्नो पहिलो प्रथामिकता सडक कालोपत्रे, चण्डेश्वरीमा रहेको विमानस्थललाई सञ्चालन र स्तरोन्नती रहेको समेत प्रष्ट पारे ।
