लिसंखुपाखरबाट गाउँपालिका अध्यक्षमा विकास सर्वसम्मत

शेर्पाखबर

२०७९ बैशाख १, विहिबार


जनता समाजवादी पार्टीले लिसंखुपाखर गाउँपालिकामा आगामी स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष उम्मेदवार सर्वसम्मत चयन गरेका छन् । पार्टीको पालिका स्तरीय बैठकबाट बृहत् छलफल गरी युवा नेता विकास योञ्जन तामाङलाई उम्मेदवार छनौट गरेको हो । अध्यक्ष पदका लागि उनी सहित ३ जनाको उम्मेदवारी परेको थियो ।

तामाङले “पहिचान, संघीयता, सुशासन र सदाचार स्थानीय सरकार समृद्धिको मूल आधार” भन्ने नारालाई स्थापित गर्न सक्ने क्षमता आफूमा भएकाले पालिका अध्यक्षमा दाबी गरेको बताए ।

तीनै तहका सरकार बिच सहकारिता, समन्वय र सहअस्तित्वका आधारमा पालिकाको समग्र विकासमा दत्तचित्त भई लाग्ने अठोटका साथ युवा सशक्त र सक्षम छन् भन्ने उदाहरण दिन पनि मेरो उम्मेदवार रहेको बताए ।

युवा नेता तामाङले भने “लिसंखुपाखर सांस्कृतिक सम्पदाको केन्द्र भएकोले यसलाई मौलिक कल्चरल हेरिटेजको रूपमा स्थापना गरी ‘कल्चरल टुरिजम’ को संरक्षित क्षेत्रको रूपमा पालिकालाई स्थापना गर्ने र भाषा, संस्कृति र ललितकलाको संरक्षण र सम्बद्र्धनमा पालिका प्रज्ञा प्रतिष्ठान गठन” गर्ने बताए । यसबाट स्थानीय तहको संस्कृति, ललितकला जस्ता अभौतिक सम्पदाको साथै स्थानीय भञ्जाङ, थुम्का, खोला, नदी, बन बाजागाजा, पहिरन, धार्मिक तथा ऐतिहासिक स्थल आदि जस्ता भौतिक सम्पदाको संरक्षण र सम्बद्र्धन साथसाथै पर्यटन विकासमा समेत टेवा पुग्नेमा उनी विश्वस्त छन् ।

“पालिका भाषा ऐन पारित गरेर पालिकाको सरकारी कामकाजको भाषाको रूपमा पालिकाका मातृभाषाहरू लागु गर्न आफू प्रतिबद्धता” रहेको समेत उनले बताए । त्यसै गरी पालिकाको गुणात्मक शिक्षाका लागि ‘नो वान लेफ्ट बिहान्ड– कोही नछुटुन्’ सिद्धान्तलाई आत्मसाथ गर्न आफू कटिबद्ध रहेको बताए ।

उनी पहिचानको आन्दोलनमा विगत देखि नै सक्रिय रूपमा लागि परेका छन् । उनी सँग देश तथा विदेशमा समेत पार्टी संगठनमा रहेर काम गरेको अनुभव रहेको छ । उनी जनता समाजवादी पार्टी प्रवास संगठन कोरियाका संस्थापक सदस्य हुँदै कोषाध्यक्ष र सल्लाहकार भएको अनुभव छ । हाल उनी जिल्ला पार्टी उपाध्यक्षको समेत जिम्मेवारी सम्हाली रहेको छ । यस अघि दुई वर्ष जिल्ला सह सचिव समेत भई सकेका छन् ।

उनले कोरोना महामारीको विभिन्न चरणमा भएको लकडाउनका कारण समस्यामा परेका जनतालाई सहयोगका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । त्यसै गरी जिल्लामा भएका दैविक तथा प्राकृतिक प्रकोपमा परेकाहरूको उद्धार तथा राहतवितरणमा समेत सक्रिय रूपमा लागि परेको अनुभव छ ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho