शेर्पा जातिको मुद्धालाई शिरोपर गरेर अघि बढ्छुः सोनाम गेल्जेन शेर्पा
लाक्पा जी शेर्पा
२०७८ चैत्र १३, आईतबार

लाक्पा जी शेर्पा
काठमाडौं (शेर्पाखबर) । राष्ट्रिय सभाका सदस्य सोनाम गेल्जेन शेर्पाले समुदायले उठाउँदै आएको मुद्धालाई शिरोपर गरेर अघि बढ्ने बताएका छन् । नेपाल शेर्पा सघले राजधानीमा आयोजना गरेको सम्मान कार्यक्रममा शेर्पाले यस्तो विचार राखेका हुन् ।
नेपाल शेर्पा संघले राज्यको विभिन्न पद, ओहोदा ग्रहण गर्ने तथा ख्याती कमाउने व्यक्तित्वहरुलाई अभिनन्दन तथा बधाई ज्ञापन गर्ने कार्यक्रममा सम्मान ग्रहण पछि सदस्य शेर्पाले नीति निर्माण तहमा शेर्पाको पहिचान लगायत विषयलाई उठान गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
६ बर्षको कार्यकाल रहेको र जुन अवधीमा समुदायको हितका लागि सबै खाले प्रयत्न गर्ने बताउँदै शेर्पाले आर्थिक, सामाजिक, राजनैतिक रुपमा समुदाय अघि बढ्नुपर्नेमा जोड दिए । हिमाली क्षेत्रमा भएका समस्या र शेर्पा समुदायले खेप्दै आएको समस्यातर्फ राज्यको खास ध्यान नपुगेको स्वीकार्दै शेर्पा अघि भने ‘१८ बर्षदेखि हामी हिमाली सभ्यताको रक्षाका लागि लागि रहेका छौं । भाषा, संस्कार, संस्कृतिका साथै शैक्षिक उन्नतीका लागि समेत काम गर्दै आएकोछु । राज्यकै स्रोत परिचालन गरेर भाषा, संस्कारको विकास गर्ने खुम्बु क्षेत्र पहिलो हो ।’

शेर्पा जातिको जातित्व विस्तारै लोप हुँदै गएको हो भन्ने आफूलाई भान भैरहेको बताउँदै उनले भने ‘सबै कार्यक्रम, औपचारिक अनौपचारिक भेटघाटमा हामी अरु भाषा प्रयोग गर्छौ । भेषभूषा त्यस्तै धारण गर्छौं । कसरी हामी शेर्पा भनेर चिनिने ?’
सदस्य शेपाले समुदायबाट राजनैतिक क्षेत्रमा समेत चासोका साथ अघि बढ्नु पर्ने र शेर्पा संघले सञ्चालन गरेको अभियानहरु अनुकरणीय रहेको भन्दै प्रसंश गरे । केही समयअघि भएको राष्ट्रिय सभा निर्वाचनमा शेर्पा एमालेबाट निर्वाचित एक मात्रै सदस्य हुन् ।