काठमाडौं–दमक, धनकुटा म्याराथन शुरु
लाक्पा जी शेर्पा
२०७८ फाल्गुन ३०, सोमबार

ओखलढुंगा (शेर्पाखबर) । काठमाडौंबाट पूर्वको धनकुटा, दमकसम्म एकल म्याराथन प्रतियोगिता शुरु भएको छ । काठमाडौं दशरथ रंगाशालाबाट सोमबार शुरु भएको प्रतियोगितामा दुई जना धावक सहभागि छन् ।
संघीय समाजवादी खेलकूद महासंघ नेपालको आयोजनामा भएको एकल म्याराथनमा डेविट खेवा लिम्बु र मेघराज राई सहभागि छन् । खेवाले धनकुटासम्म ५ सय ३५ किलोमिटरको दुरी ५ दिनमा पूरा गर्ने लक्ष्य राखिएको छ । राईले दमकसम्मको दुरी पुरा गर्ने छन् । कार्यक्रमको उद्घाटनमा किर्तिमानी धावक बैकुण्ठ मानन्धर, अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल धाविका मिरा राईले गरिन ।

खेवा चैत्र ५ गते धनकुटा रंगाशाला र राईपनि सोही दिन दमक रंगशाला पुग्ने आयोजक समितिका अध्यक्ष नेत्रबहादुर नेम्बाङले जानकारी दिए । कार्यक्रमबारे आइतबार रिपोटर्स क्लवमा आयोजित कार्यक्रममा अध्यक्ष नेम्वाङले खेल पर्यटनको विकास र धावकहरुको सम्मानका लागि कार्यक्रम आयोजना गरेको बताए ।
खेलकूद क्षेत्रका विश्वव्यापी मानयतालाई अंगीकार गर्दै खेल क्षेत्रको समग्र विकास, विस्तार र अनुशासित जनशक्ति तयार गर्ने, जनजागरण पैदा गर्ने, रोगप्रतिरोधात्मक क्षमता विकास गर्ने, शरीरका अंगहरुलाई चलायमान राख्ने र खेलकूद जीवनको अभिन्न अंगको बनाउने हेतुले प्रतियोगिता आयोजना गरेको अध्यक्ष नेम्वाङले बताए ।
पत्रकार सम्मेलनमा जनता समाजवादी पार्टी खेलकूद विभागका प्रमुख डा. केके राई, खेलकूद महासंघका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।