सगरमाथामा उक्लिँदै झिँगाः आङ छिरिङ शेर्पा

आङ छिरिङ शेर्पा

२०७८ फाल्गुन ८, आईतबार


म १० वर्षको छँदा पहिलो पटक खुम्बु क्षेत्रबाट हिँडेर बनेपासम्म आएको थिएँ । त्यसबेला एउटा अमेरिकी आरोहण दल सगरमाथा चढ्ने भयो । त्यसको सरदार मेरा बा कोञ्चोक चुम्बी शेर्पा थिए । बा’ को नेपाली लेखन राम्रै थियो । तर, उहाँले मलाई अंग्रेजीमा गोराहरूलाई हिसाब बुझाउन मद्दत पुगोस् भनेर साथै ल्याउनुभएको थियो । 

यो २०२० साल आसपासको कुरा हो । म त्यसबेला अंग्रेजीमा हिसाब लेख्न र अलि अलि ‘कम्युनिकेट’ गर्ने भइसकेको थिएँ । नेपाली शेर्पा तेन्जिङ नोर्गेका साथ वि.सं २०१० जेठ १६ गते सगरमाथा चुचुरोमा पुग्ने पहिलो आरोहीको रेकर्ड बनाएपछि न्युजिल्यान्डका एडमन्ड हिलारीले ०१६/१७ सालमा खुम्जुङमा स्कुल स्थापना गरे । जो हिलारी स्कुलका नामले विश्वभर चर्चित छ । त्यही स्कुलमा पढ्ने म पहिलो ब्याचको विद्यार्थी थिएँ ।

मेरा बा सरदार रहेको अमेरिकी आरोहण दल सफल भएपछि त्यो नै ‘पहिलो सगरमाथा चुचुरोमा पुग्ने अमेरिकी आरोहण दल’ बन्यो । त्यसबेला यो आरोहण दल नआइएदिएको भए बनेपादेखि काठले बेरिएको लरी ट्रक चढेर काठमाडौं सहर मैले देख्न पाउने थिइनँ ।

काठमाडौंबाट सामलतुमल किनेर बनेपाबाट पैदल सगरमाथा आधार शिविरसम्म पुग्न हामीलाई २३ दिन लागेको थियो । ५०/५० जनाको कुल्लीको समूह बनाइएको थियो । अमेरिकी सगरमाथा आरोहण दलका लागि ९ सय ७ जना कुल्ली सहभागी भएका थिए । त्यसबेला बाटो बाटोमा दाउरा बाल्नु पर्थ्यो । अहिले जस्तो ग्यास, मट्टीतेल थिएन, न त सोलर प्रविधि आइसकेको थियो । दाउरा र उज्यालोका लागि सल्लाको झोरो बाल्नुपर्ने । यो क्रम सगरमाथा आधार शिविरसम्मै चल्थ्यो । खुम्बुमाथि चौंरी, याक, नाक र झुपाले सामलतुमल बोक्थे ।

०२५ सालतिर म १० कक्षाको जाँच सकेर काठमाडौं पढ्न आएँ । त्यसबेला जापानी फोटोग्राफर र स्वास्थ्यकर्मीहरूको समूह लाङटाङदेखि पश्चिम दार्चुलासम्मका ८ हजारमुनिका साना हिमालहरूको ‘प्रोफाइल–पुस्तक’ का लागि फोटो खिच्न नेपाल आएको थियो ।
त्यो समूहमा मैले दोभाषेको काम पाएँ । त्यसबेला उनीहरू सँगसँगै रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, जुम्ला, हुम्ला, बाजुरा, बझाङ र दार्चुला जाने भएँ । यो कार्यक्रम ठ्याक्कै दसैं/तिहार र जाडो बिदाको समय पर्थ्यो । त्यसबेला म अमृत साइन्स क्याम्पसमा आईएस्सी पढ्न भर्ना भएको थिएँ । बिदामा जापानी नागरिकहरूसँगै हिमाली गाउँ हुँदै पहाडको बाटो उनीहरूसँगै गएँ । यो काम फत्ते गर्न ४/५ वर्ष लाग्यो । हिउँदमा उनीहरू जान्थे । सकिएपछि हिमालबाट काठमाडौं आउँथे । अनि जापान फर्किहाल्थे । त्यसबेला अहिलेको कान्तिपथमा बोरिसको होटल थियो । ती जापानी त्यहीं र महाराजगन्जतिरका होटलमा बस्थे ।

त्यसबेला हिमाली गाउँमा महिलामा गलगाँडको समस्या देखिन्थ्यो । हात्तीपाइले रोग पनि व्यापकै थियो । दाउरा बाल्ने भएर दमका बिरामी पनि बाक्लै भेटिन्थे । त्यसबेला ग्रामीण भेगमा महिनौंसम्म पनि मुख नधुने, २/३ महिनासम्म ननुहाउने आदत थियो । दाउराको धूवाँले मानिसहरू काला–काला, लुगा र घर फोहोर देखिन्थ्यो । पानीका मुहान पर्याप्त हँॅुदैनथे । गाउँले आलु, सागपात खेती गर्थे हिउँदमा । जब हिमाली भेग पर्यटनले आकर्षित गर्‍यो । मानिसहरूले पशुपालन र कृषि छाडे । घिउ छाडेर आयातित तेल खान थाले । मोटोपन, सुगर जस्ता रोग देखिँदै छन् । जापानी टोलीसँगको काम सकिएपछि म कोलम्बो प्लानमा छानिएँ । भारतको दरभंगामा एमबीबीएस अध्ययन गर्न गएँ । तर, तेस्रो वर्षपछि मेडिकल अध्ययनलाई मेरो स्वास्थ्यका कारण अगाडि बढाउन सकिनँ । त्यसपछि मैले बाको पेसालाई निरन्तरता दिएँ । ३० को दशकको अन्त्यतिर मैले काठमाडौंमा एसियन ट्रेकिङ नामको कम्पनी खोलें । नेपाल घुम्न आउने विदेशीलाई पदयात्रा र हिमाल आरोहण यही कम्पनीबाट गराउन थालें । गाइडका रूपमा सगरमाथा र धौलागिरि हिमालको चुचुरो नजिकै विदेशीलाई पुर्‍याइसकेको थिएँ ।
मैले कलेज पढ्दा जापानी नागरिकहरूसँग दोभाषे भई गरेको कामको पुस्तक ‘हिमालयज’ प्रकाशन भएपछि नेपालमा ह्वात्तै विदेशी आए । त्यो नै पर्यटकलाई नेपालका हिमाल चिनाउने ‘हिमालको देश’ पहिलो पुस्तक थियो । त्यसको मूल्य नै १ लाख २२ हजार थियो ।
३० को दशकपछि मैले नेपालका हिमाली भूभागमा आरोहण दल, पदयात्री विदेशी लिएर हिँड्ने क्रम बढ्यो । पहिले पहिले हिमाली गाउँमा बाक्लै वन देखिन्थे । जस्तो मनास्लु मुन्तिर श्यालाको वन थियो । त्यो पछि डेढ वर्षमै सखाप भएको देखियो । नाम्चेमाथि स्याङ्बोचेमा धूपीको वन खुबै बाक्लो थियो । त्यो पनि एक/दुई वर्षमै सखाप भयो । हिमाली भेगमा पर्यटनको व्यापार चलेपछि दाउरा बाल्ने चलनले वनै सखाप भएका थुप्रै गाउँ छन् । ती भेगमा एउटा रूख परिपक्व हुन कम्तीमा सय वर्ष लाग्छ । तर स्थानीयले चेतनाको अभावले रूख ढाले । त्यसको असर अहिले खेप्नुपरेको छ । नाङ्गा डाँडामा सुक्खा पहिरो देखिएको छ ।

उहिले ३८ सय मिटरको खुम्जुङ आसपासमा काउली, बन्दा, गाँजर फल्दैनथ्यो । त्यहाँ फल्ने फापर, आलु, सलगम हुन्थ्यो । खुम्जुङमाथि त्याङबोचे, पाङबोचे, डिङबोचेतिर उवा फल्थ्यो । पहिले गाउँले ‘ट्राइ’ नगरेका होइनन् । तर, त्यसबेला काउली, बन्दामा फल लाग्दैनथ्यो । सुरिलो हुन्थे । फर्मेसन हुँदैनथ्यो । अहिले सालाखाला तापक्रम पनि ३/४ डिग्री हिमाली भेगमा बढ्यो । तराईका अन्नबालीका लागि हिमाली भेगमा तापक्रम अनुकूल हुँदै गएको देखिन्छ । आधार शिविरमा झिँगा देखिन थालेका छन् । आधार शिविरमुनि खुम्बु क्षेत्रमा लामखुट्टे देखिन थालेको छ । यिनले नयाँ रोग लैजाने भए ।

७ सालमा सरकारले नेपाल विदेशीका लागि खुला गर्नुअघि हिमाली भेगमा मानिसहरू पशुपालन र कृषिमै निर्भर थिए । पछि पछि पनि पदयात्रामा जाने पर्यटक हिमाली गोठमा बास बस्थे । म सानो छँदा असार–साउन र भदौमा हामी चौंरी गोठ ४७ सय मिटर उचाइको छुकुङ वा पश्चिमतर्फ ५१ सय मिटरको उचाइमा पर्ने गोरक्सेपसम्म लैजान्थ्यौं ।

हरेक दिन ४/५ घण्टा चौपायासँगै हिँड्दै जान्थ्यौं । जहाँ बास पर्‍यो, त्यहीँ निगालोका चित्राको छानो हालेर गोठ बसाउँथ्यौं । ८/१० दिन बस्थ्यौं । फेरि उक्लिन्थ्यौं । यसैगरी तीन महिना गोठमा समय बित्थ्यो । यो ०१६ सालतिरको कुरा हो । गोक्यो तालको पछाडितिर ओजुम्बा हिमताल थियो । त्यस आसपासमा हाम्रो गोठ थियो । बिहान–बेलुका हामी हिमतालमाथिबाट याक, चौंरी धपाउँदै चरनमा लैजान्थ्यौं ।

बेलुकी त्यही बाटो फर्किन्थ्यौं । चिप्लेटी खेल्थ्यौं । इम्जा पनि ०१६ सालतिर हिमताल मात्रै थियो । अहिले हिउँ पग्लिएर तालमा बदलिएछ । ०१८ सालतिर ती काठमाडौंको नागपोखरी जत्रा स–साना तालमा बदलिए । अहिले त गोक्यो तालको पछाडिका स–साना ताल गोक्यो जत्रै हुन आँटिसके ।

त्यसताका ६ हजार २६ मिटरको उचाइमा रहेको लोला पास काटेर खुम्बु क्षेत्रका शेर्पाहरू पारि तिब्बतमा व्यापार गर्न जान्थे । यता नेपालबाट अनाज लैजाने, उताबाट ऊन, सुकुटी, छम्पा ल्याउँथे । त्यही पासबाट मेरा हजुरबा तिब्बत गएको म सम्झन्छु । तर अहिले अब त्यो पास हिँड्नै सकिँदैन । ग्लेसियर पग्लेर बाटो बिलाइसक्यो ।

३२/३३ सालतिर आमादब्बल हिमालको फेदीको मिङ्बो च्छो ताल फुट्यो । त्यसले यति धेरै पूर्वाधार बगायो कि हिसाबै छैन । तल तल फेदीमा धेरै घर–खेत क्षति गर्‍यो । त्यसैबेलाको बाढीले २१ पटकसम्म सगरमाथा आरोहण गरेर रेकर्ड बनाएका चर्चित आरोही आप्पा शेर्पाको पनि घर–खेत बगाएको म सम्झन्छु । हिमताल फुटेर भोटेकोसीमा ठूलो बाढी आयो । करोडौंको धनसम्पत्ति नासिएको अर्को घटना २०४२ सालमा भयो । यसले खुम्बु बिजुली स्टेसन, पुलपुलेसा, साँघु, घर, खेत, गोठ मात्रै बगाएन तराईसम्म असर पार्‍यो ।

यी घटनाले के देखाउँछ भने हिमालमुनि रहेका थुप्रै हिमताल सुरक्षित छैनन् । फुट्दा यसले बेंसीमा पर्यटक हिँड्ने ट्रेल, होटल, लज, होमस्टे, गोठ आदि धनजनको क्षति पुर्‍याउँछ । यस्तै घटना हुने भएकाले हिमाली भेगमा बैंक तथा वित्तीय संस्थाले सजिलै ऋण दिँदैनन् । किनकि त्यहाँ धितोका रूपमा राखिने अचल सम्पत्ति जुनसुकै बेला हिमताल फुटेर सृजित हुने बाढी, सुक्खा पहिरोमा नष्ट हुन सक्छ ।

०६४ सालमा म जापानमा अन्तर्राष्ट्रिय वातावरण सम्मेलनमा भाग लिन नेपालबाट गएको थिएँ । त्यहाँ संसारभरबाट वैज्ञानिक, अध्येता, वातावरणविद्, विज्ञ सहभागी थिए । एकसे–एक वैज्ञानिकहरूको सभामा मैले नेपाल पर्वतारोहण संघको अध्यक्षका हैसियतले नेपालको हिमाली पर्यावरणबारे बोल्नुपर्ने तालिका थियो ।

सुरुमा दिग्गज वैज्ञानिकहरू बोल्दै गएपछि मैले त्यहाँ बोल्न नपाए हुन्थ्यो भन्ने सोचिरहेको थिएँ । किनकि उनीहरू सबै अनुसन्धानमा आधारित पेपर प्रस्तुत गर्दै थिए । मेरो पालो आएपछि मैले ‘प्राक्टिकल–ज्ञान’ मा आधारित नेपालको हिमाली भेगमा जलवायु परिवर्तनले पारेको असरबारे बोलें । अनि एउटा साथीको सहयोगमा त्यसै दिन बेलुकी ओसाकातिर लागें ।

भोलिपल्ट जापानका दैनिक पत्रिकाको फ्रन्ट पेजमा मेरो फोटोसहितका नेपालको सामाचारले प्राथमिकता पाएछन् । बोलावट भयो । म मात्सुमोतो फर्कें । त्यहाँ थुप्रै वैज्ञानिक मलाई कुरेर बसेका थिए । उनीहरू अनुसन्धानका लागि नेपाल आउने भए, मैले सघाइदिनुपर्ने भयो । उक्त सम्मेलनको दुई सातापछि १२ जना वैज्ञानिक काठमाडौं आए । मैले काठमाडौं विश्वविद्यालय र महावीर पुनसहितको टिम इम्जा हिम ताल पठाएँ । वैज्ञानिकहरू दोस्रो पटक जापान पुगेर विभिन्न उपकरण ल्याएर फर्के । इम्जा नापे । जाँच गरे । यो काम झन्डै चार वर्ष चल्यो । किताबमै अध्ययन सीमितता भएका जापानी अनुसन्धानकर्ताका लागि खुम्बुको अध्ययन उपयोगी भयो । उनीहरूले नेपाल सरकारलाई पनि अध्ययनपछिको रिपोर्ट दिए ।

काठमाडौंको दाँजोमा हिमाली भेगका मानिसहरूको रहनसहन कम्तीमा ५ गुना महँगो पर्छ । सधैं डाउन ज्याकेट, बाह्रै महिना खुट्टामा जुत्ता लगाइरहनुपर्छ । खान्की र न्यानो आदि इत्यादिमा पनि सचेत हुनुपर्छ । त्यहाँको जीवन सोचे जस्तो सजिलो छैन । काठमाडौंमा १ हजार पर्ने एक बोरा सिमेन्ट ग्योक्यो पुर्‍याउँदा १६ हजार रुपैयाँ पुग्छ । हिमाली जीवन बाहिरी सौन्दर्यभित्र पीडाको शिखरमा डुबेको छ ।

यो पीडामाथि ०७२ वैशाखको भूकम्पले झन् दुःख थपिदियो । पर्यटक हिँड्ने बस्ती छेउछाउका पानीका स्रोत सुके । एक ठाउँको स्रोत अर्को ठाउँ सरे । स्थानीयले करोडौं लगानी गरेर बनाएका पूर्वाधारलाई अब पानीको स्रोत सरेको ठाउँमा सार्न सकिँदैन । सिँचाइ नहुँदा तरकारी खेतीपातीमा असर परेको छ । पर्यटकलाई बोकेको पानीले रोपेको साग, मुला खुवाउन सकिँदैन । न त हेलिकोप्टर चार्टर गरेर ढुवानी गर्न सकिन्छ । भूकम्पका बेला गोरखादेखि सोलुखुम्बुसम्म पर्यटक र स्थानीय हिँड्ने ७२ वटा काठे पुल भत्किए । कतिपय झोलुंगे पुल ढल्किए । कतिपय त ग्रिप लगेर मर्मत गरायौं । विश्व खाद्य कार्यक्रम र डब्लूडब्लूएफले पनि जस्तापातालगायतमा अर्बौं खर्च गरे ।

फेरि कोरोना महामारीले हिमाली भेगको पर्यटन क्षेत्र ध्वस्त बनाइदिएको छ । पछिल्लो २ वर्ष महामारीका कारण नेपालका २१ वटा हिमाली जिल्लाको जनजीवन तहसनहस बनाइदियो । यो भेगमा कम्तीमा ४७ लाख मानिस छन् । तीमध्ये ८५ प्रतिशत पर्यटनमै आश्रित छन । कोरोनाअघि सरकारले २० लाख पर्यटक ल्याउने ‘नेपाल भम्रण वर्ष २०२०’ कार्यक्रम घोषणा गरेको थियो । ‘अब त पर्यटक उर्लेर आउने भए’ भन्दै हिमाली भेगमा जीवनभर कमाएको सम्पत्ति त्यहाँका व्यवसायीले होटल विस्तार, नयाँ भवन निर्माण, सुधार, पूर्वाधारमा लगानी गरे । यो सबै कोरोनाले ध्वस्त बनाइदियो । अहिले हिमाली भेगका मजदुर मात्रै होइन व्यवसायीहरूलाई पनि बाँच्न मुस्किल परिरहेको छ । किनकि हिमाली भेगमा ८५ प्रतिशत मानिस प्राकृतिक पर्यटनमा आश्रित छन् । यस्तै अवस्था रहिरहे अबका दिन ज्यादै चुनौतीपूर्ण देखिन्छन् ।

तापक्रम बढेर हिउँ पग्लिने क्रम चलिरहेको छ । ०७१ वैशाखमा १६ शेर्पाको सगरमाथामा पुरिएर ज्यान गयो । पछि अध्ययन गर्दा ढुंगामाथिको वर्षौंदेखि थुप्रेको हिउँ पग्लिएर हिमपहिरो गएको देखियो । अर्को वर्ष भूकम्पका बेला २४ जनाको मृत्यु भयो । ६० जनाभन्दा बढी घाइते भए । यी दुई वर्ष सगरमाथा आधार शिविरमा अत्यधिक मानवीय क्षति भएका वर्ष हुन् । यसको मुख्य कारण तापक्रम बढेर हिउँ पग्लिनु नै हो । हरेक वर्ष एक हजारभन्दा बढी मानिसहरू सगरमाथा क्षेत्रमा पुग्छन् । ती कम्तीमा एक महिना बस्छन् । मान्छेले गर्ने फोहोर हिउँ पर्दा छोपिन्छ । हिउँ पग्लिएपछि बिस्तारै देखिन्छ । त्यही हिउँ तताएर पानी खानुपर्छ । खोलाको मुहान हिउँ पग्लिएर आउने पानी हो । त्यसैले पर्यटकीय गतिविधिले व्यवसायीकरण हुँदै गएको हिमाली क्षेत्रलाई जोगाउन अब गम्भीर नभए कहिले हुने ? कोरोना संक्रमणका बेला जुमबाट सञ्चालित कक्षाहरूमा मैले नेपालको पर्यावरण, हिमाल, जनजीवनबारे संसारलाई भनिरहें । झिँगा, लामखुट्टे हिमालतर्फ उक्लिनु राम्रो संकेत होइन है ।

(कान्तिपुर संवाददाता सुरज कुँवरसँगको कुराकानीमा आधारित)

आङ छिरिङ शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho