यात्रुको पुस्तकमा ‘पहिचानको नयाँ परिभाषा’

डोल्मा शेर्पा

२०७८ फाल्गुन १, आईतबार


डोल्मा शेर्पा
पत्रकार तथा लेखक कुमार यात्रुद्वारा लिखित ‘परम्परागत आदिवासी ज्ञान’ नामक पुस्तकले नेपालमा चलिरहेको पहिचानको राजनीतिलाई नयाँ मोड दिएको छ । इन्डिजिनियस मिडिया फाउन्डेसनले प्रकाशित गरेको यो पुस्तकले समकालीन आदिवासी आन्दोलनलाई परम्पराभन्दा फरक ढंगले विश्लेषण गर्ने प्रयास गरेको छ । यस अर्थमा यो पुस्तक नेपालका आदिवासी जनजातिका सवालमा लेखिएको नवीन धारा तथा कोसेढुंगा भन्नुपर्ने हुन्छ । 


लेखक यात्रु नेपाली पत्रकारिता क्षेत्रमा स्थापित हस्ताक्षर हुन् । पत्रकारिताको लामो अनुभवका क्रममा आफूले देखेको, भोगेको र सुनेका तथ्यलाई अनुसन्धानात्मक ढंगले विषयवस्तु पस्कनु उनको विशेषता हो । यसअघि पनि यस्तै अर्थराजनीति विभिन्न विषयमा उनको अनुसन्धानात्मक कृतिहरू आइसकेका छन् । महामारीमा आदिवासी जनजाति पत्रकारिता, नेपालको सञ्चारनीति तथा कानुनहरूमा आदिवासी जनजातिका सवालहरू जस्ता विषयमा कलम चलाइसकेका छन् उनले । यही मेसोमा आदिवासी जनजातिको परम्परागत ज्ञानका सम्बन्धमा गतिलो कृति आएको छ । यस प्रकारको अनुसन्धान विश्वका अन्य मुलुकमा भए पनि नेपाली परिप्रेक्ष्यमा नयाँ र नौलो विषय हो । 


आधुनिक राज्य प्रणालीको विकास नहुँदै अभ्यासमा आएका परम्परागत आदिवासी ज्ञानको अभिलेखीकरण हुनुपर्ने लेखकको जिकिर छ । खास गरेर अन्तर्राष्ट्रिय कानुनहरूले यसप्रकारको ज्ञानको संरक्षण गर्नुपर्ने र ज्ञानधारक समुदाय तथा व्यक्तिलाई यसबाट प्राप्त हुने लाभको सुनिश्चितता गरेको परिप्रेक्ष्यमा पुस्तकले नेपाली पाठकलाई सुसूचित गर्न सफल भएको छ । 


मानव जीवनले आफ्नो जीविकालाई सहज बनाउन आदिमकालदेखि गर्दै आएको अभ्यास र अनुभव असीमित छ । मानव समाजले अनेकौँ खोज गरेर विविध प्रकारको ज्ञान, सीप तथा प्रविधिको विकास गरेका छन् । तर, ती ज्ञान अभिलेखीकरणको अभावमा लोप भएर गएका छन् । आदिवासीको प्रथा, परम्परा तथा संस्कृतिको अभिन्न अंगका रूपमा रहेको यस्ता ज्ञानहरू प्रथाजन्य संस्थाहरूले आफ्नो भूभाग, भूक्षेत्रमा संरक्षण गरिरहेको लेखकको निष्कर्ष छ । तर, विश्वव्यापीकरण, आन्तरिक बसाइँसराइ र राज्यका असहिष्णु नीतिका कारण समाजलाई आवश्यक पर्ने यस्ता ज्ञानमाथि हरेक क्षण अतिक्रमणमा परेको उनको भनाइ छ ।
विश्वका विभिन्न ७० देशहरूमा बसोवास गरिरहेका ३७ करोडभन्दा बढी जनसंख्या भएका आदिवासीहरूको यही विकास र खोजको साक्षी उनीहरूको प्रथा परम्परा, संस्कृति र जीविका सञ्चालनका मौलिक तौरतरिका नै हुन् । तीनै तौरतरिकालाई लेखकले आदिवासी ज्ञानको संज्ञा दिएका छन् । कुल ३२४ पृष्ठको पुस्तकमा नौ अध्याय छन् । परम्परागत आदिवासी ज्ञानको पहिलो अध्यायमा विभिन्न अन्तर्राष्ट्रिय कानुनले परम्परागत आदिवासी ज्ञानलाई. दिएको मान्यता, यसको अभिलेखीकरण प्रक्रिया र ती प्रक्रियामा नागरिक अधिकारको विषयलाई समेटिएको छ । लेखकले यसप्रकारको अधिकार सामूहिक हुने र आदिवासी जनजातिको प्रथाजनित संस्था सक्रिय भएमा मात्र यी अधिकारको दाबी गर्न सहज हुने अभिमत राखेका छन् । मूलतः स्वतन्त्र, पूर्वसुसूचित सहमति (एफपिक) लागू गर्न पर्नेमा जोड दिएर सो अनुकूल कानुन निर्माणमा आफ्नो राय राखेका छन् । 

पुस्तकको दोस्रो अध्यायमा जैविक विविधता संरक्षण तथा वातावरणमैत्री आदिवासी ज्ञानबारे विषद् चर्चा गरिएको छ । यो संरक्षणको प्रणाली भने रोचक ढंगले दिएका छन् । शेर्पाहरूको सिंगी नावा, डोल्पोको घापु र ढेपु, तमुहरूको क्रब, याक्थुङ लिम्बूहरूको दृष्टिकोण, मगरहरूको भेजाजस्ता परम्परागत संस्थाको भूमिकालाई वनजंगलको संरक्षण तथा जैविक विविधता संरक्षणमा निर्वाह गरेको परम्परालाई उजागर गरेका छन् । यसबाहेक आदिवासी बसोवासस्थलमा वनजंगलको संरक्षण गर्ने प्रविधिमा पनि उनको ध्यान पुगेको पाइन्छ । 


त्यसैगरी, अभ्यास ३ मा सरुवा प्रणालीको पशुपालन, अर्को अध्यायमा पानीजन्य अभ्यास तथा पाँचाँै अध्यायमा परम्परागत अर्थतन्त्रका बारे लेखकले कलम चलाएका छन् । छैटाैँ अध्यायमा स्वास्थ्य उपचारमा आदिवासीको प्रचलन र आठौँ अध्ययनमा परम्परागत कृषि प्रणालीका बारे जानकारीमूलक सन्दर्भ परेको छ । 
पुस्तकमा परेको सातौँ र नवौँ अध्याय भने जलवायु परिवर्तनको संकटलाई न्यून गर्न आदिवासीको जुक्तिले कसरी काम गरेको छ भन्ने अनुसन्धानमूलक सामग्री छ । लेखकले परिशिष्टका रूपमा चारवटा दस्तावेज पनि पुस्तकको अंश बनाएका छन् ।


समग्रमा यो पुस्तक पठनीय र संग्रहणीय छ । पुस्तक आदिवासी जनजातिसँग सम्बन्धित भए पनि सबै समुदायको आँखा खोल्ने दस्तावेज बनेको छ । पुस्तकलाई प्राज्ञिक बनाउन लेखकले विभिन्न सन्दर्भलाई जोडेका छन् र जानकारीमूलक बनाएका छन् । जे भए पनि नेपाली समाज र आदिवासीको प्रथा, परम्परासहितको ज्ञानको पाटोलाई पुस्तकले उजागर गरेको छ । पहिचान र परिचयको आन्दोलन चलिरहेको वेला पुस्तकले नयाँ बहसको प्रारम्भ गरेको छ । यो नै पुस्तकको नयाँ विषय वस्तु हो । 

समिक्षाक आदिवासी जनजाति पत्रकार महासंघका वागमती प्रदेश उपाध्यक्ष हुन् । 

डोल्मा शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho