भोजपुर शेर्पा समाजको गुम्बा निर्माण अभियान शुरु

लाक्पा जी शेर्पा

२०७८ पौष २०, मंगलबार


काठमाडौं (शेर्पाखबर) । भोजपुर शेर्पा समाज (किदुग)ले राजधानीमा गुम्बा निर्माणका लागि सहयोग अभियान थालेको छ । राजधानीमा समाजको नाममा गुम्बा निर्माण गर्न आर्थिक समिति गठन गरेर अभियान शुरु गरेको हो । 
बहुउद्देश्यीय गुम्बा निर्माणका लागि राजधानीको गोकर्णेश्वर क्षेत्रमा जग्गा खरीद गरी कार्य अघि बढाइने समाजका अध्यक्ष फूर्वा तेन्जीङ शेर्पाले जानकारी दिए । ५ करोडको लागतमा निर्माण हुने गुम्बा र सोको लागि जग्गा खरीद गर्न आर्थिक समिति गठन गरेकै दिन करीब १ करोड ३३ लाख रकम सहयोग संकलन भएको अध्यक्ष शेर्पाले बताए । 
समाजले पौष १० गते नै सल्लाहकार समितिको वैठक वसी भवन तथा गुम्बा निर्माणका लागि उपसमिति समेत गठन गरेको थियो । कामी शेर्पाको संयोजकत्वमा गठीत समितिको सहसंयोजक तेन्जी शेर्पा, सदस्यहरुहरु दावा शेर्पा, मिंिगर दोर्ची शेर्पा, आङ गेलु शेर्पा, वाङचु शेर्पा र लाक्पा शेर्पा लगायत रहेका छन् । 
उपसमिति गठन लगतै समाजका अध्यक्ष शेर्पाले नगद २ लाख संयोजक शेर्पालाई सहयोग हस्तान्तरण गरेको नेपाल शेर्पा संघका कोषाध्यक्ष समेत रहेका आङकाजी शेर्पाले जानकारी दिए । सहयोग हस्तान्तरण गर्दै अध्यक्ष शेर्पाले सामुदायिक भवन र गुम्बा निर्माण गर्ने समाजको विधानमै उल्लेख भएकाले कार्य शुभारम्भ गरेको र आफ्नै पालामा यो पवित्र कार्य शुरु गर्न पाउँदा खुसी लागेको बताए । 
शेर्पा जातिको संस्कार, संस्कृति, भाषा, कला, धर्मको रक्षा र श्रीबृद्धि गर्ने सकारात्मक उद्देश्यका साथ गुम्बा तथा बहुउद्देश्यीय भवन निर्माण कार्य अघि बढेको र यसमा सबैबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । शेर्पा जातिको पहिचानको संरक्षण गर्दैअघि बढ्नु संस्थाको दायित्व रहेकाले गुम्बा निर्माणबाट यसमा थप टेवा पुग्ने बताए । उनले सबैले खुल्ला हृदयले सहयोग गर्न समेत आह्वान गरे । 
समाजले भोजपुर लगायत आसपासमा वसोवास गर्ने शेर्पा लगायतलाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै विशेष गरी जिल्लाबाट राजधानीमा आइ वसोवास गर्नेहरुको सुखदुखमा सहयोग गर्दै आएकोमा यसलाई थप व्यवस्थित बनाउन गुम्बाको अवधारण अघि बढाइएको समाजका सचिव लाक्पा शेर्पाले बताए । 
बैठकमा पूर्व पर्यटन मन्त्री कृपाशुर शेर्पा, नेपाल शेर्पा संघका केन्द्रीय उपाध्यक्ष तेन्जी शेर्पा, समाजका संस्थापक अध्यक्ष आङबाउ शेर्पा, पूर्वअध्यक्ष मेजर प्रेमदोर्जे शेर्पा लगायत पर्यटन तथा राजनीति क्षेत्रका दीग्गज व्यक्तित्वहरुको सहभागिता रहेको थियो । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho