नेचा सल्यानमा शेर्पा मातृभाषा पढाई शुरु

कान्छीमा शेर्पा

२०७८ पौष १६, शुक्रबार


सोलुखुम्बु (शेर्पाखबर) । यहाँको नेचासल्यान गाउँपालिका वडा नं. १ मा रहेको दुई विद्यालयमा स्थानीय विषय अन्तर्गत शेर्पा मातृभाषा अध्यापन शुरु भएको छ । गाउँपालिकाले शिक्षक दरवन्दी व्यवस्थापन गरेपछि सगरमाथा र जनदिव्य आधारभूत विद्यालयमा मातृभाषा पढाउन थालिएको हो ।
शेर्पा मातृभाषालाई सामभोटा लिपीमा पढाई थालिएको सगरमाथा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिङमार सार्की शेर्पाले जानकारी दिए । नेपाल बौद्ध महासंघले नेपाल सरकारबाट स्वीकृत गरी तयार पारेको पाठ्यक्रमलाई लागू गरेर अध्यापन शुरु गरेको शेर्पाले जानकारी दिए । ९० प्रतिशत बढी शेर्पा समुदायका बालकालिका अध्यायन गर्ने भएकाले स्थानीय विषय अन्तर्गत शेर्पा मातृभाषा लागू गरिएको स्थानीय अभिभावक मेन्दो लकी शेर्पाले जानकारी दिइन् । लामो समय गुम्बा शिक्षा अध्ययन गरेका लामागुरुलाई झिकाएर पढाई शुरु गरेको प्रधानाध्यपक विनोद वस्नेतले जानकारी दिए । 
 

शेर्पाहरुको भाषा, संस्कार, संस्कृतीलाई संरक्षण गर्न पठनपाठनको माध्यम प्रभावकारी हुने भएकाले स्थानीय विषय अन्तर्गत कक्षा १ देखि ३ सम्म पठाउन थालिएको जनदिव्य आविका प्रअ राधा वस्नेतले जानकारी दिइन् । 
बुढापाकाहरुले भाषा बोल्ने गरेपनि युवाहरुमा दिनानुदिन भाषा प्रयोग कमि हुँदै गएकाले यसलाई रोक्न शेर्पा भाषा, संस्कार, संस्कृती र दैनिक धार्मिक कार्यहरु समेत हुने गरि पठनपाठन अघि बढाउने निर्णय गरेको जनदिव्य आविका अध्यक्ष फुरकाजी शेर्पाले जानकारी दिए । 

 

विभिन्न जातजातिको पहिचानसँग जोडिएका भाषा, लिपी, संस्कार, संस्कृति नै गाउँपालिकाको अमूल्य निधी भएकाले यसको संरक्षण र विकासका लागि मातृभाषा पठनपाठन शुरु गरेको पालिका अध्यक्ष डुफकुमार वास्तोलाले बताए । शेर्पा मातृभाषा शुरुवात तथा स्टेशनरी वितरण कार्यक्रममा अध्यक्ष बास्तोलाले भने ‘यहाँ सल्यानकै तल्लो भेगमा संस्कृति पठनपाठन विगत लामो समयदेखि भैरहेको छ । अब माथिल्लो भेगका शेर्पाहरुको भाषा, संस्कृतिको संरक्षणका लागि शेर्पा भाषा पढाईका लागि नीतिगत व्यवस्था गरेका छौं । यही नै गाउँपालिकाको सौन्दर्यता र दायित्व हो ।’
 

शेर्पा मातृभाषा शिक्षकलाई नेपाल कियर कन्र्सन नामक संस्थाले विद्यालयमा नै वस्ने, सञ्चार लगायतको सुविधाहरु उपलब्ध समेत गराएको छ । यसैवीच नेपाल कियर कन्सर्नले गाउँपालिकाको दुवै विद्यालयलाई प्रविधि तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन् । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho