सामाजिक सुरक्षा भत्ता सहज रुपमा उपलब्ध गराउनुपर्छः महानिर्देशक भट्टराई

२०७८ पौष १, विहिबार


ओखलढुंगा । लाभग्राहीलाई सहज रुपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने दायित्व स्थानीय सरकारको रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । विभागद्धारा ओखलढुंगामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै महानिर्देशक तीर्थराज भट्टराईले विभागको धारण बताएको हो ।  
सामाजिक सुरक्षा भत्ता वितरण प्रभावकारीता सम्वन्धि एक दिवसीय जिल्लास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा अधिकांशले वैंकीङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीले सास्ती खेप्नु परेको गुनासोको जवाफ दिँदै महानिर्देशक भट्टराईले लाभग्राहीकै घरदैलोमा गएर भत्ता दिने व्यवस्था वैंक र स्थानीय सरकारको समन्वयमा गर्नुपर्ने बताए । 
 

सामाजिक सुरक्षा भत्ता वितरणमा वैंकको विकल्प नरहेको उल्लेख गर्दै महानिर्देशक भट्टराईले यसलाई थप व्यवस्थित र छरितो बनाउन वैंकहरुले छुट्टै काउन्टरको व्यवस्था समेत गर्न निर्देशन दिए । अधिकांश लाभग्राहीले वैंकको कर्मचारीको व्यवहार र लामो समय ‘लाइन’ मा वस्दा समस्या भएको, रोगी, सक्त अपांगहरुले बढी सास्ती खेप्नु परेको, गाडी भाडा महंगो तिरेर सदरमुकामसम्म आउनु परेको लगायतका समस्या राखेका थिए । 
सार्वजनिक सुनुवाईमा अधिकांशले खातामा भत्ता वापतको रकम आउने वित्तिकै निकाल्नुपर्ने वाध्यताले वैंकमा घुँइचो हुँदा समस्या भएको आवाज उठाएका थिए । जवाफमा सामाजिक सुरक्षा भत्ता खातामा राख्दा हुने बताउँदै विभागका निर्देशक युवराज कटेलले त्यसरी लाभग्राहीको खातामा रहेको रकम फिर्ता नहुने स्पष्ट पारे ।
९० बर्ष नाघेका र पूर्ण अशक्तका लागि स्थानीय सरकारले लाभग्राही रहेकै ठाउँमा पुगेर भत्ता वितरण गर्नुपर्ने नीति रहेको बताउँदै निर्देशक कट्टेलले भौगोलिक रुपमा टाढा र वैंकका पहुँचमा आउन समस्या भएकाहरुका लागि वैंक र स्थानीय निकायको व्यवस्थापनमा भत्ता वितरण शिविर स्थलगत रुपमा सञ्चालन गर्न सकिने बताए । 
उनले भने ‘स्थानीय सरकार, कर्मचारीले नगद छुना पाइँदैन तर वैंकका कर्मचारीले हातबाट नगद वितरण गर्दा आपती हुँदैन । तसर्थ, स्थानीय प्रशासन, पालिका र बैंकको समन्वयमा बैंकसम्म आउन नसक्ने लाभग्राहीका लागि उनीहरुलाई सहज हुने गरी भत्ता वितरण गर्नुपर्दछ ।’
त्यस्तै, यसअघि निवेदन दिएको एक बर्षपछि मात्रै लाभग्राहीले भत्ता प्राप्त गर्ने परिपाटी भएपनि अब त्यसलाई परिवर्तन गरेर एक महिनापछि नै निवेदकले भत्ता प्राप्त गर्ने महानिर्देशक भट्टराईले बताए । उनले कतिपय नीतिगत सुधारका कुराहरु उठेकाले त्यसलाई प्रतिवेदनको रुपमा सरकार समक्ष पेश गर्ने प्रतिबद्धता व्यक्त गरे । 
कार्यक्रममा सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी वन्दना राई, जिल्ला समन्वय अधिकारी शनमाया राम्तेल, प्रहरी प्रमुख गोविन्दराज काफ्ले लगायत उपस्थित थिए । 
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग र सिद्धीचरण नगरपालिकाले आयोजनामा भएको कार्यक्रम नेपाल पत्रकार महासंघ ओखलढुंगाको समन्वयमा भएको महासंघका जिल्ला अध्यक्ष लाक्पा जी शेर्पाले जानकारी दिए । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho