विश्व शेर्पा दिवसको अवसर पत्रकार शेर्पा सम्मानित  

लाक्पा जी शेर्पा

२०७८ अश्विन २२, शुक्रबार


काठमाडौ (शेर्पाखबर) । विश्व शेर्पा दिवसको अवसरमा पत्रकार सोनाम याङजी शेर्पा सम्मानित भएकी छन् । पत्रकारितामार्फत शेर्पा समुदायको भाषिक, सांस्कृतिक क्षेत्रमा योगदान पुर्याएको भन्दै शेर्पा संघ अमेरिकाले शेर्पालाई नगद पुरस्कारसहित सम्मान गरेको हो । 
नेपाल शेर्पा संघको सभाहलमा आयोजित कार्यक्रममा नगद २५ हजार १ रुपैयाँसहित सम्मानपत्रले पत्रकार शेर्पालाई सम्मान गरे । इडिजिनियस टेलिभिजन, नेपालन्यूजसाइट लगायतमा आबद्ध शेर्पाले शेर्पा भाषासँग सम्वन्धित कार्यक्रमहरु सञ्चालन गर्दै आएकी थिएन् । गोरखापत्र समावेशी पृष्ठमा शेर्पा भाषा सह–संयोजकको भूमिकामा रहेकी शेर्पाले पत्रकारितामार्फत समुदायको विकास र राज्यमा पहुँच स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेकाले सम्मान गर्ने निर्णय गरेको शेर्पा संघ अमेरिकाका अध्यक्ष आङ जाङबु शेर्पाले जानकारी दिए ।
पत्रकारिता क्षेत्रमा समुदाय खास रुपमा उठ्न नसकेको र पत्रकारिता क्षेत्रमा लागेका युवाहरु केही समयमै पेशाबाट पलायन हुनुपर्ने वाध्यात्मक अवस्थालाई ध्यानमा राख्दै पुरस्कार वितरण गर्ने निर्णय गरेको सो अवसरमा अध्यक्ष शेर्पाले बताए । पुरस्कारको राशी र क्षेत्रलाई क्रमशः बृद्धि गर्दै लैजाने अध्यक्ष शेर्पाले सोही अवसरमा जानकारी दिए । 

अक्टोवर ८, अर्थात विश्व शेर्पा दिवस
विश्व शेर्पा संघका अध्यक्ष इ. आङ दोर्जी लामा शेर्पाको प्रमुख आतिथ्यतामा भएको पुरस्कार हस्तान्तरण कार्यक्रममा नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पा विशेष अतिथिको रुपमा उपस्थित थिए । त्यस्तै, शेर्पा संघ वेलायतका उपाध्यक्ष ङावाङ योतेन ग्याछो शेर्पा, नेपाल शेर्पा संघका उपाध्यक्ष दावा शेर्पा, सहकोषाध्यक्ष बाबुकाजी शेर्पा लगायत उपस्थित रहेको कार्यक्रममा बोल्दै विश्व शेर्पा संघका अध्यक्ष शेर्पाले ‘विश्व शेर्पा दिवस’ कोभिड लगायतको कारणले भव्यताका साथ मनाउन नपाएको जानकारी दिए । विश्व शेर्पा संघले शेर्पा भाषाको एप्पलिकेशन निर्माण गरिरहेको र यसलाई आजकै दिन सार्वजनिक गर्ने तयारी भएपनि केही प्राविधिक कारणले हुन नसकेको अध्यक्ष शेर्पाले जानकारी दिए । अध्यक्ष शेर्पाले भने ‘एप्सको सम्पूर्ण काम सकिएको छ । प्राविधिक कुराहरुपनि मिलिसकेका छन् तर एप्पलले एप्सलाई तत्काल प्रमाणिकरण नगरेकाले सार्वजनिक गर्न नसकेको हो ।’

 

पत्रकारिता पेशाले मात्रै समुदायलाई राज्यको मूलधारमा पुर्याउन योगदान पुर्याउने उल्लेख गर्दै अध्यक्ष शेर्पाले अघि भने ‘तर, धेरै जना शेर्पा युवाहरु आफ्नो पेशाबाट पलायन भएका छन् । यो दुखको कुरा हो ।’ समुदाय आफै पछि रहेकाले पत्रकारिता बुझ्न समय लागेको बताउँदै अध्यक्ष शेर्पाले पत्रकारितालाई मर्यादित बनाउँदै यस क्षेत्रमा लागेकाहरुलाई प्रोत्साहन गर्ने खाले कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए । 
पत्रकार उत्पादन गर्न समय लाग्ने भएपनि टिकाउन चुनौति खेप्नु परेकोले आगामी दिनमा सामाजिक संस्थाहरुले यसतर्फ गम्भिर भएर सोच्नुपर्ने बेला आएको अध्यक्ष शेर्पाको भनाई थियो । 

कार्यक्रममा नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पाले समाज रुपान्तरण र राज्यको मूलधारमा पहुँच स्थापित गर्न सञ्चारकर्मीहरुले खेलेको भूमिका सह्रणिय रहेको उल्लेख गरे । पत्रकारिता पेशामार्फत राम्रो कामको चर्चा र खबरदारी गर्दै समुदायमा योगदान दिइरहेको र पत्रकारितामा क्रियाशिलहरुको सम्मानका लागि पुरस्कारहरु स्थापना गरेर शेर्पा संघ अमेरिकाले एउटा नयाँ कार्यको शुरुवात गरेको भन्दै अध्यक्ष शेर्पाले खुसी व्यक्त गरे । 

नेपाल शेर्पा संघले शेर्पा समुदायको हित, जागरणका लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको जानकारी गराउँदै अध्यक्ष शेर्पाले जनगणना २०७८ को सन्दर्भमा शेर्पा लेख्न, शेर्पा लेखाउने विषयमा सबै सजग हुनुपर्नेमा जोड दिए । शेर्पा संघले आयोजना गर्ने कार्यक्रमहरुमा विश्वभरी छरिएर रहेका शेर्पाहरुले आर्थिक, नैतिक, भौतिक सहयोग निरन्तर रुपमा उपलब्ध गराउँदै आएकोमा अध्यक्ष शेर्पाले खुसी व्यक्त गरे । 
सन् २०१७ अक्टोबर ८ मा पहिलो विश्व सम्मेलन आयोजना गरेर शुरुवात भएको अवसरमा विश्व शेर्पा दिवस बार्षिक रुपमा विश्वभरका शेर्पाहरुले मनाउँदै आएका छन् । यसअघि विश्व शेर्पा दिवस काठमाडौं र भारतको सिक्कीममा सम्पन्न भइसकेको छ । परिस्थिती सहज भएमा आगामी कार्यक्रम भव्यताका साथ आयोजना गर्ने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिए ।  

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho