सहसचिव भएर क्यान्टिनमा खाजा खान जाने ?

राजेश शर्मा

२०७८ असार २०, आईतबार


- राजेश शर्मा

घ्यार्रघ्यार्र आवाज आइरहेको छ । भाइब्रेसनमा भएका कारण आफ्नै मोबाइल बजेको रहेछ । फोन आएको थियो सिंहदरबारबाट । मन्त्रालयका सचिवको फोन । नमस्कार के भनेको थिएँ, उताबाट आवाज आयो– ‘मिल्छ भने मन्त्रालय आउनुहोस् न ।’ सचिवले बोलाएपछि नजाने कुरै भएन । भनेकै समयमा पुगेँ । सचिवको कार्यकक्षबाहिर १४ मिनेट ४३ सेकेण्ड कुरेपछि भित्र जान पाएँ ।

‘ल आउनुभयो, किन यसरी बोलाएँ होला, कुनै अनुमान ?’ मसँग जवाफ थिएन, ‘खै सर ।’ ‘तपाईं यो मन्त्रालयको गेटमा छिरेपछि मेरो कार्यकक्षमा आउने बेलासम्म केके सोच्नुभयो ?’ यस्तै कुराहरू भए । तर, म उहाँकै मुखबाट सुन्न चाहन्थेँ, मलाई एक्कासि बोलाउनुको कारण । लम्बेतान गफ सुनेर म निस्किएँ । गफ यस्तो थियो– सुन्दा सामान्य भोग्दा दर्दनाक ।

पुरुष सचिवको कुरा त सुनेँ । यस्तै अनुभव अर्को सचिवको सुनुम् जो महिला होस् । र, दुवैखाले अनुभव सुन्न पाइयोस् । खुलेर मलाई अनुभव सुनाउने महिला सचिव नभेटेपछि मैले एक जना सहसचिवलाई फोन गरेँ । र, उहाँको सिंहदरबार अनुभव सुन्न गएँ । सचिवले आफ्नो इच्छाले सुनाउनुभएको थियो । सहसचिवलाई मैले अनेक प्रसंगहरू निकालेर उहाँको अनुभव सुनेँ । जुन कुरा मलाई आवश्यक थियो मोबाइलमा नोट पनि गरेँ ।

यी दुईवटा अनुभव सुनेर म अर्को सहसचिव टोकराज पाण्डेलाई भेट्न गएँ । युवा, प्रस्ट कुरा गर्ने र केही समय सहकार्य गरेको हिसाबले उहाँलाई सचिव र सहसचिवले सुनाएको कुरा शेयर गरेँ । मेरो कुरा भुइँमा झर्न नपाँउँदै उहाँले भन्नुभयो, ‘ल राजेश सर कस्तो कुरा गर्नुहुन्छ, मसँग पनि गजबको अनुभव छ नि !’ 'होर सर ।' ‘म र गोगन हमालले सँगै सहसचिव पास गरेपछि अर्थ मन्त्रालयमा एक जना सहसचिवलाई भेट्न गयौँ । कुरा भइरहेका बेला खाजा खाने बेला भयो, मैले क्यान्टिनमा खाजा खान जाऊँ के भनेको थिएँ, त्यहाँ त अचम्मको कुरा भयो । सहसचिव भएर पनि क्यान्टिनमा खाजा खान जाने हो रे ?’

सिंहदरबार देशमा शासन गर्ने ठाउँ हो । सचिव मात्र होइन, यहाँको श्रेणीविहीन कर्मचारी पनि शासक नै हो भन्ने प्रचलन सुनिन्छ । के सिंहदरबार यथार्थमा यस्तै छ त ? हो, क्यान्टिनमा खाजा खान जानु हुन्न भन्ने मात्र होइन, एक सामान्य मानिसलाई सिंहदरबारले कसरी विभेदकारी बनाउँछ भन्ने सचिव र सहसचिवहरूको अनुभवलाई समेटेर यो लेख तयार पारेको छु ।

क्याम्पस पढ्दा स्टोभ बाल्न मट्टीतेल खोज्न भौँतारिएको क्षण बिर्सने कुरै भएन । खल्तीमा पैसा नभएर भोकै बसेको क्षण त आत्मवृत्तान्तमा आउँछ नै । अहिलेका सचिव र सहसचिवहरू अधिकांश खरदार र सुब्बाको जागिरबाट लोक सेवामा प्रवेश गरेका हुन् । अर्थात् हाकिमकहाँ कसरी फाइल लैजाने ? हाकिमलाई कसरी खुसी पार्ने ? हाकिमको क्षमता कस्तो हुन्छ, यावत् कुराहरू उनीहरूलाई थाहा छ । तर, अहिले सिंहदरबारमा कार्यरत खरदार, सुब्बाको जस्तै सालीन, भद्र र जनमुखी व्यवहार छ त ? सचिव सहसचिवहरूको । जवाफ प्रस्ट छ, छैन । के उनीहरूले हिजो खरदार सुब्बा हुँदा भोगेको पीडालाई शासक भएर प्रतिशोध लिइरहेका छन् त ?

सचिव मात्र होइन, जनताका सेवक मन्त्रीहरू नै बढी दोषी छन् यस्तो हुनुमा । एउटा सिन हेरौँ, सिंहदरबारको । हरेक मन्त्रालयको मूलढोकाको दायाँ या बायाँ दर्ता चलानी हुन्छ । यहाँ मूलतः श्रेणीविहीन, कार्यालय सहयोगी, कहीँकतै खरदारसम्म बसेको पाइन्छ । जब ढोकाबाट मन्त्री, सचिव र सहसचिवहरू पस्छन्, ती कर्मचारीहरू कार्यकक्षबाट जुरुक्क उठ्छन् र नमस्कार गर्छन् । तर, नमस्कारको जवाफ मुन्टो हल्लाउने वा मुखले नमस्कार भन्नेमै सीमित छ । कोही त सुनेको नसुन्यै पनि गर्छन् । दुई हात जोडेर नमस्कार गरेको जवाफमा दुई हात जोडेरै फर्काउन सकिन्न ? नमस्कारको अर्थ के हो ? के ठूला भनिएकाले सानाहरूले गरेको नमस्कार फर्काउनु पर्दैन ?

बिहान उठेर मर्निङ वाक्, योगा, ट्रेडमिलमा डौडने यावत् गरी शरीरलाई तन्दुरुस्त राख्न मेहनत गरेको सगौरव सहपाठी, कार्यकक्षमा आएका कर्मचारी सेवाग्राही सबैलाई शेयर गरी शरीरमा थप चमक ल्याउँछ । तर, त्यही शासक एकछिन अगाडि चालकले गाडी रोकेर ढोका खोलेपछि मात्र गाडीबाट झर्छ । अर्थात् गाडीको ढोका आफैँ नखोल्नुमा पनि उसको ‘शासकीयपन’ छ । त्यति मात्र कहाँ हो र, कार्यकक्षमा रहेको टेबुलमा सिसाको गिलासमा ‘प्रेस’ पानीको आवश्यकता पर्छ । डिस्पेन्चर वा जग राखेर पानी झिकेर खान उसलाई नआउने हैन, तर टेबुलमा रहेको घण्टी बजाएर बाहिर रहेको ‘पीए’ मार्फत पानी मगाउनुमा गर्व ठान्छ । र त कार्यालय सहयोगी हस्याङफस्याङ गर्दै पानी लिएर सचिवको कार्यकक्षमा पुग्छ ।

MilestoneShikhar Insurance
प्रायः ११ बजेसम्मको समय सचिवको कार्यकक्षमा सहसचिवहरू वा सहसचिवकोमा अरु कर्मचारी भेला भएर गफ गर्ने समय हो । त्यही गफ हिजोको काम र आज गर्ने काममा केन्द्रित भएको पाइँदैन । कुनैकुनै बेला मात्र कामको कुरा हुन्छ, नत्र गफगाफमै सीमित हुन्छ । कहिलेकाहीँ त यो गफको सिलसिला धेरै अगाडि जान्छ । निर्णय गर्न पेस गरिएका फाइलहरू या त टेबुलमा छरपस्ट हुन्छन्, या त ‘पीए’ ले राखेको हुन्छ । ‘इन्ट्रेस्ट’ भएका फाइलहरू त आफ्नै कार्यकक्षको टेबुलको घर्रामा हुन्छ । आज पेस गरिएको फाइल आजै निर्णय गर्नु भनेको ‘शासकीयपन’ गुम्नुजस्तो छ किन ?

मन्त्रालय एक परिवार हो । मिलेर काम गर्ने । नतिजा निकाल्ने । सके अरुलाई नमुनायोग्य सन्देश दिने । जनताको सेवक । जनताको करबाट अवसर पाएको । यस्ता सुन्दर शब्दहरू केवल शब्द मात्र हुन् । व्यवहार के त्यस्तो छ त ? खरदार सुब्बाको कार्यकक्ष त परको कुरा, सचिवहरू सकेसम्म सहसचिवको कार्यकक्षमा जाँदैनन् । र, त्यही सिको सहसचिवमा पनि छ । मन्त्री, सचिव, सहसचिवहरू अरु कर्मचारीले के कसरी काम गरेका छन्, केही समस्या छन् कि, वा कसरी मिलेर सकारात्मक नतिजा ल्याउन सकिन्छ भनेर खरदार, सुब्बा, अधिकृतकहाँ जान नमिल्ने कस्तो ‘प्रोटोकल’ हो ? आफ्नै कार्यकक्षमा बेलाएर लपेट भनेर कहीँ लेखिएको छ ? आफैँले खाने खाजा, चिया बनाउने किचेन हेरेका छन् त हाकिमहरूले ? ती किचेनमा काम गर्नेहरूका समस्याका बारेमा छलफल गरेका छन् त ? बरु उनीहरूको पारिश्रमिक, सेवा सुविधाका बारेमा अर्थ मन्त्रालयमा बजेट माग्न बिर्सन्छन् । तर, त्यही मन्त्रालयको बजेटमा वैदेशिक भ्रमण, गाडी, इन्धनलगायतका सुविधा प्रस्ट लेखिएको हुन्छ, किन ?

यी र यस्ता अनेकन रूपहरू छन्, जसले सामान्य मानिसलाई पनि विभेदकारी बनाइरहेको छ । त्यही सिहंदरबार हो, जसले सबै खाले विभेद हटाउने कानुनको मस्यौदा गर्छ, नीति, योजना र कार्यक्रम अगाडि सार्छ तर यथार्थमा त्यही किन विभेदको मुहान बन्छ ? आखिर के छ त्यो सिंहदरबारमा ?

तिनै हाकिमहरू ट्विटरमा बाराक ओबामाले सपिङमलमा सामान किनेको, सी चिनफिङ खेतमा गएर किसानसँग कुरा गरेको फोटो पोस्ट गर्छन् । तर, सिंहदरबारले जन्माएका हाकिमहरू कार्यालय सहयोगीको नमस्कार फर्काउँदा उठ्ने हातहरूमा ‘शासकीयपन’ देख्छन् । योभन्दा भद्दा मजाक केही होला ? सचिवको कार्यकक्षमा बोलाइएको खरदार, सुब्बा, अधिकृत किन डराएर प्रस्तुत हुन्छन् ? ऊ त्यसरी डराउनुपर्ने गरी के गल्ती गरेको छ र ? गल्तीले डराएको हैन ऊ । त्यो त शासकीय शैली हो । आफूभन्दा तलको कर्मचारी डराएन भने काम हुन्न भन्ने भ्रम हो । छलफल परामर्श र सहव्यवहारबाट काम छिटो फत्ते हुन्छ ।

विदेशमा जानु नै पर्दैन । नेपालकै निजी बैंक, इन्स्योरेन्स, गैसस, सञ्चारमाध्यम, बहुराष्ट्रिय कम्पनीहरूमा कामको नतिजा खोजिन्छ । कार्यालय प्रमुख पनि त्यही नतिजाका लागि सबै कर्मचारीहरूको कार्यकक्ष पुगेको हुन्छ । त्यहीँ बसेर छलफल गर्न पनि तयार हुन्छ । तर, सेवानिवृत्त भएपछि सेवाग्राहीको रूपमा त्यही कर्मचारीको अगाडि आएर कुरा गर्न हुने, हाम्रा प्रशासक किन अहिले उनीहरूको कार्यकक्ष जाँदैनन् ? के त्यो ‘प्रोटोकल’ कै कारण हो त ? आफ्नो टेबुलमा कुनै सामान, फाइलबाट आएको धुलोलाई नजिकै रहेको टिस्यु पेपरले पुछ्नुभन्दा कार्यालय सहयोगीलाई बेलाएर हकार्नुमा किन गर्व गर्छन् हाकिमहरू ? यो शैली कम्युनिस्ट मन्त्रीहरूमा पनि विद्यमान छ ।

मन्त्रालयमा बैठक, छलफल कार्यक्रमहरू हुन्छन् । सहभागीको उपस्थिति उठाइन्छ । सबैले हस्ताक्षर गर्छन् । तर, अचम्मलाग्दो पक्ष, त्यो कार्यक्रमको माइन्युट गर्ने जिम्मेवारी पाएको कर्मचारीको पहिलो काम मन्त्री, सचिव, सहसचिवहरूको नाम पद लेखेर हस्ताक्षर गर्ने ठाउँ मात्र राखिदिने हो । मिल्दो हो त शासकहरू त्यो हस्ताक्षर पनि ‘तिमी नै गर’ भन्ने थिए । तर, त्यो भन्दैनन्, किनभने त्यही हस्ताक्षरमा त ‘प्रोटोकल’ बाँकी छ ।

किन आफ्नो नाम र पद आफैँ लेखेर हस्ताक्षर गर्न सक्दैनन् शासकहरू ? ‘प्रोटोकल’ ले आफ्नै मन्त्रालयमा भएको कम्युटर अपरेटरलाई बिर्सिएको शासकहरूलाई नै थाहा छैन । त्यही बैठकको माइन्युट डिजिटलाइज गर्ने हो भने सजिलो र पारदर्शी हुने कुरा उनीहरूलाई पचेकै छैन । किनभने त्यो कम्युटर अपरेटर बैठकमा बस्न ‘प्रोटोकल’ मिल्दैन । र त भएको स्रोतको सदुपयोग भएको छैन ।

बिहान लिन र बेलुका छोड्न घरसम्म पुग्ने गाडी जस्तो साँघुरो बाटो किन नहोस्, चालकले ब्याक गरेरै फकार्उन किन नपरोस, ढोकैसम्म गाडी पुर्‍याउनु के बाध्यता त उसलाई ? घरअगाडि पनि चालकले ढोका खोलेपछि चढ्ने र ओर्लने गर्नु भनेको समाजमा आफ्नो परिचय दिएको हो ? त्यो पोशाकमा के दम छ, जुन लगाएर एकछिन हिँड्न पनि मिल्दैन ? यस्तैयस्तै स्वरुप घरमा पनि पुग्छ । 

केही वर्षपहिलाका दुईवटा रमाइला घटना छन् । गृहसचिव आफ्नी श्रीमतीसहित पार्टीमा गएछन् । परिचयका क्रममा गृहसचिवकी श्रीमती भन्नू है भनेर सिकाएका रहेछन् । सचिवलाई सबैले नमस्कार गरेका छन् । ‘म गृहसचिवकी श्रीमती’ के भन्दै थिइन् । एक जना प्याट्ट बोलेछन्, 'हाम्रो सचिवज्यू त दुई श्रीमतीका धनी पो हुनुहुँदो रहेछ !' अनौपचारिक गफमा श्रीमतीलाई ‘गृहमन्त्री’ भन्ने चलन पनि छ । ‘म गृहसचिवज्यूकी श्रीमती’ भन है भनेको उनले ‘म गृहसचिवकी श्रीमती’ भन्दै थिइन् । बुझ्नेले पहिलो श्रीमती ‘गृहमन्त्री’ र दोस्रो सचिव भन्ने बुझेछन् र एकछिन हंगामा नै भएछ । श्रीमतीको परिचयमा आफ्नो ‘प्रोटोकल’ खोज्दा झण्डै झगडा परेन ।

यस्तै, घरमा एक सचिवले साथीहरूलाई खाना खान बोलाएछन् । श्रीमतीलाई साथीहरूका अगाडि मलाई ‘सचिवज्यू’ भन्नू भनेका रहेछन् । विदेशबाट ल्याएको मदिरा खाने कार्यक्रम थियो । ती सचिवका साथीहरूमा अर्को एक जना पनि सचिव नै थिए । संयोग पनि कस्तो, घरमालिक शौचालय जाने र बैठक कोठासँगै रहेको अर्को कोठाबाट सचिवकी श्रीमतीले ‘सचिवज्यू’ भनेर बोलाउने एकै पटक भएछ । घरको मान्छेलाई त होइन सचिव भनेको भन्ने सोची पाहुना आएका सचिव किन रहेछ भनेर कोठामा छिरेछन् । साथीको श्रीमतीले कपडा फेर्न लागेको देखेर आत्तिँदै बाहिर आएछन् । ‘रक्सी खाएर जे पनि गर्ने ?’ भन्दै झगडा नै भएछ । ‘प्रोटोकल’ले झण्डै हात हालाहालको स्थिति भएछ ।

केही वर्षअघिसम्म एकले अर्कोलाई अंकमाल गरेर जीवनको रङ दिएको सम्बन्ध, एकले खाँदा अर्कोलाई आनन्द लाग्ने, एकको दु:खमा अर्को रुने, एकको खुसीमा अर्को रमाउने त्यो सम्बन्ध किन शासक र रैतीजस्तो हुँदै छ ? किन आफ्नो परिवारको सदस्य पनि अर्कै लाग्दै छ ? कतै यसमा ‘प्रोटोकल’ र ‘शासकीयपन’ त छैन ? नभए गाडीबाट झोला झिकेर कार्यकक्षमा चालकले ल्याइदिएजस्तै बिहान श्रीमतीले ढोकासम्म ल्याइदिओस् भन्ने किन हुन्छ ? जुत्ता टलक्क होस् भन्ने किन हुन्छ ? त्यही जुत्ता आफैँ पोलिस गरेर टल्काउन किन सकिँदैन ? आफ्नो झोला आफैँ किन बोक्न सकिँदैन । बिहान २ घण्टा एक्सरसाइज गर्नेहरू के एउटा झोला बोक्न नसक्ने हुन्छन् र ? कि झोलामा पनि ‘शासकीयपन’ छ ?
पछिल्लो समय केही प्रशासक आफ्नो बलबुताले भ्याएसम्म नतिजामुखी काम गरिरहेका छन् । सिस्टम परिवर्तन गर्नुपर्छ भनेर पनि लागेका छन् । हामीले नगरे कसले गर्ने भन्ने सोच पनि उनीहरूमा छ । जति गर्दा पनि नसकेपछि उनीहरू पनि भन्दै छन्, ‘हैन, एक सामान्य नागरिकलाई पनि विभेदकारी बनाउन यो सिंहदरबारले कसरी सकेको ?’ के यसको कुनै उपाय नै छैन त ? पक्कै छ । जब कम्युनिस्ट भनिएका मन्त्रीहरू नै एक कदम अगाडि गएर ‘प्रोटोकल’ र ‘शासकीयपन’लाई प्राथमिकता दिन पुगे, त्यसको असर अझै केही वर्षहरू सिंहदरबारमा रहन्छ । हो, यस्तो विभेद हट्न पहिला कम्युनिस्ट मन्त्रीमा परिवर्तन जरुरी छ र त्यसको बाछिटा सचिवहुँदै अरु प्रशासकमा पनि लाग्नुपर्छ, अनि मात्र परिवर्तन हुन्छ । नत्र झन् यो विभेद माकुराको जालोजस्तो भएर रहनेछ । 

राजेश शर्माका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho