नेफिन युके विवादमा, शेर्पा संघले प्रतिनिधि फिर्ता बोलायो ।
ल्हाक्पा शेर्पा
२०७८ असार १६, बुधबार

काठमाडौं (शेर्पाखबर) । शेर्पा संघ वेलायतले नेपाल आदिवासी जनजाति महासंघ वेलायतमा प्रतिनिधिहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । २७ जुन २०२१ मा बसेको भर्चुअल बैठकले नेफिन यूकेबाट संघको सम्पूर्ण प्रतिनिधिहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो । हालै नेफिनको अध्यक्षमा कर्मा पहाडी शेर्पा निर्वाचित भएको थियो । उनी शेर्पा समुदायबाट भन्दापनि तोक्पेगोला समाज अर्थात ढोक्प्या समुदायबाट प्रतिनिधित्व गर्दै महासंघको अध्यक्ष निर्वाचित भएको भनिएको थियो ।
संघका अध्यक्ष आङ दावा शेर्पा च्यावा र महासचिव रिन्जी शेर्पाको संयूक्त दस्ताखतबाट जारी विज्ञप्तिमा शेर्पा संघबाट जोकोही प्रतिनिधी भनि गएपनि अनिश्चितकालसम्मको लागि फिर्ता बोलाएको उल्लेख छ । विज्ञप्तिमा नेफिन यूकेको नव निर्वाचित अध्यक्ष कर्मा पहाडी शेर्पा लामो समयदेखि शेर्पा संघ बेलायतबाट प्रतिनिधित्व गर्दै विभिन्न संघ संस्थामा आबाद्ध रही आएको र शेर्पाकै प्रतिनिधित्व गरि नेफिन बेलायतको महासचिव जस्तो जिम्मेवार पद ग्रहण गरेको भएपनि हालै उनी तोक्पेगोला समुदायबाट नेफिनको अध्यक्ष निर्वाचित भएको भन्दै आपती जनाएको हो ।
‘१९ जुन २०२१ मा सम्पन्न नेफिन यूकेको अधिवेशनको लागि शेर्पा संघ बेलायतले कर्मा पहाडी शेर्पाले प्रतिनिधित्व गर्दै गर्दा संघको निर्णय बिपरित कार्य गरेकाले महासंघमा नपठाउने निर्णय गरेको थियो । तथापी, संघको निर्णयपछि नवनिर्वाचित अध्यक्षले आफू शेर्पा समुदायको नभएर तोक्पे गोला समुदायको रहेको भनि नयाँ तोक्पे गोला समन्वय समिति यूके गठन गरि नेफिन यूकेमा दर्ता गरेको र सो समुदायलाई प्रतिनिधित्व गर्दै नेफिन यूकेको चुनावको लागि अध्यक्ष पदको उम्मेद्वारी दिई हाल नेपाल आदिवासी जनजाती महासंघ बेलायतको अध्यक्ष चयन भईसक्नु भएको अवस्थामा एक दशक भन्दा लामो समयदेखि शेर्पा संघ बेलायतलाई प्रतिनिधित्व गर्दै आउनु भएको कर्मा पहाडी शेर्पा अचानक नयाँ जातीय संस्था स्थापना गरि नेफिन यूकेमा आवद्ध हुनु गम्भिर विषय बनेको छ ।’ विज्ञप्तिमा भनिएको छ ‘वहाँले बिगतको समयमा शेर्पा समुदायलाई पद र आफ्नो स्वार्थको लागि प्रयोग गरेको स्पष्ट हुन्छ ।’
शेर्पा संघ बेलायत त्याग गरि नयाँ समुदाय स्थापना गर्नुको कारण खुलाई अधिकारी पत्र लेख्न नेपाल आदिवासी जनजाती महासंघको चौथो अधिबेशनमा ताकेता गरेपछि अध्यक्ष कर्मा पहाडी शेर्पाले पत्र लेख्ने प्रतिबद्धता व्यक्त गरेपनि हालसम्म जवाफ लेखेको नलेखेकाले महासंघबाट फिर्ता बोलाउन वाध्य भएको महासचिव रिन्जी शेर्पाले जानकारी दिए । उनले भने ‘यसर्थ उहाँलाई महासंघको अध्यक्षको रुपमा स्वीकार गर्न सक्ने अवस्थामा छैनौं ।’
संघले यस सम्वन्धमा मगर संघ यूके, तमू धी यूके, किरात राई यायोक्खा यूके, सुनुवार सेवा समाज यूके, दुरा सेवा समाज यूके, किरात याक्थु चुम्लुङ यूके, किरात याक्खा छुम्मा यूके, बेलायत छन्त्याल संघ यूके, तामाङ सोसाइटी यूके, तोक्पेगोला समाज यूके, नेफिन यूकेको पूर्ब अध्यक्षज्यूहरू, नेपाल शेर्पा संघ, विश्व शेर्पा संघ, युरोप शेर्पा संघ, नेपाल आदिवासी जनजाति महासंघ लगायतलाई बोधार्थ दिएको छ ।
अध्यक्ष शेर्पा निर्वाचित भएपछि नेफिनका पूर्व महासचिव आङ काजी शेर्पा किसानले समेत आपती जनाएको थियो । उनले विश्वमा आठौं आश्चार्य देखिएको भन्दै अध्यक्ष शेर्पा प्रति व्यांग्यात्मक टिप्पणी गरेको थियो ।