सिन्धुपाल्चोक बाढी पहिरोप्रति शेर्पा संघको चासो

कान्छीमा शेर्पा

२०७८ असार १३, आईतबार


काठमाडौं (शेर्पाखबर) । पछिल्लो साता सिन्धुपाल्चोकको विभिन्न ठाउँमा गएको बाढी पहिरोप्रति नेपाल शेर्पा संघले चासो देखाएको छ । उपलब्ध सचिवालय सदस्यको भर्चुअल वैठकमार्फत बाढी पहिरो प्रभावित क्षेत्रमा राहत प्याकेज लैजाने सम्वन्धमा छलफल भएको हो । 
शनिबार भएको छलफलमा सिन्धुपाल्चोको हेलम्बु, मेलम्ची लगायतको क्षेत्रमा बाढी पहिरोका कारण प्रभावित शेर्पाहरुलाई राहत वितरण गर्ने सम्वन्धमा छलफल भएको उपमहासचिव फुर्वा तेन्जीङ शेर्पाले जनाए । 
‘हेलम्बु बजार, पाँचपोखरी थाङपाल, मेलम्ची लगायतका स्थानीय तहहरुमा मानवीय र ठूलो भौतिक क्षति भएको रिपोर्टिङहरु प्राप्त भएको छ । हाम्रो स्थानीय समितिहरुले यस क्षेत्रमा शेर्पाहरु पनि बढी मात्रामा प्रभावित भएको जानकारी दिएकाले राहत सम्वन्धी कार्यक्रम तत्काल सञ्चालन गर्ने सम्वन्धमा व्यापक छलफल भएको छ ।’ उपमहासचिव शेर्पाले भने ‘छिट्टै राहत सम्वन्धि प्याकेज कार्यक्रम स्थानीय तह, स्थानीय समितिसँगको समन्वयमा सञ्चालन हुन्छ ।’
नेपाल शेर्पा संघ सिन्धुपाल्चोक जिल्ला समितिले पनि राहत वितरण गर्न अभियान सञ्चालन गरेको र केन्द्रबाट पनि सहयोगका लागि अनुरोध गरेको सिन्धुपाल्चोक जिल्ला समितिका अध्यक्ष लन्जम शेर्पाले जानकारी दिए । ‘हामीले केन्द्रीय अध्यक्ष ज्यूसँग सहयोग सम्वन्धमा प्रस्ताव राखेका थियौं । छिट्टै निर्णय भएर यहाँका प्रभावित शेर्पाहरुलाई राहत दिने कार्यक्रम अघि बढ्ने छ ।’ अध्यक्ष शेर्पाले शेर्पाखबरसँग भने ‘पीडितहरुको उचित वन्दोवस्ताका लागि राज्यका निकायमा समेत पहल भएको र जातीय संस्थाको हैसियतमा हामीले पनि सहयोग गर्न लागेका हौं ।’
भर्चुअल वैठकमा केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाले सिन्धुपाल्चोक घटनाबाट प्रभावित शेर्पाहरुका लागि राहत वितरण कार्यक्रमका लागि आवश्यक तयारी भएको जानकारी दिए । खाद्यान्न लगायतको वन्दोवस्ता धेरैले गरेको सामाजिक सञ्जाल र जिल्ला समितिमार्फत आफूले जानकारी पाएकाले प्रभावकारी खाले अन्य वैकल्पिक कार्यक्रम लैजाने तयारी भएको अध्यक्ष शेर्पाले जानकारी दिए । बर्षातको शुरुवातसँगै बाढीपहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै अध्यक्ष शेर्पाले सबैलाई सजग रहन र आपतकालिन अवस्थामा शेर्पा संघलाई सम्झिन समेत आह्वान गरे । अध्यक्ष शेर्पाले सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने संघका पदाधिकारी सदस्यहरुसँग छलफल गरी प्रभावकारिताको आधारमा राहत कार्यक्रम सञ्चालन गर्ने जनाए । 
बैठकमा सहभागिहरुले बर्षातको समयमा अन्य क्षेत्र पनि उत्तिकै जोखिम रहेकाले प्याकेजमा राहत कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । अध्यक्ष शेर्पाले आपतकालिन राहत कोषमार्फत कार्यक्रम अघि बढाउने वैठकलाई जानकारी दिए । 
सिन्धुपाल्चोकको विभिन्न स्थानीय तहमा १८ घरपरिवार शेर्पा बाढी पहिरोबाट प्रभावित रहेको स्थानीय समितिहरुले जनाएको छ । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho