देशलाई ‘उँभो’ लगाउन बुद्धको नेतृत्व कौशलको अनुसरण गरौं

वसन्त महर्जन÷हिमालखबर

२०७८ जेष्ठ ३१, सोमबार


गौतम बुद्ध (इपू ५६३)ले बोधगयामा बुद्धत्व प्राप्त (वैशाख पूर्णिमा, इपू ५२८) गरेदेखि सारनाथमा धर्मचक्र प्रवत्र्तन (असार पूर्णिमा) गर्दासम्म दुई महीना बितिसकेको थियो। पहिलो सात हप्ता त उनी त्यहीँ वरपरका सात ठाउँमा विमुक्ति ध्यान सुखको अनुभव गरेर बसेका थिए। बौद्ध धर्मको एउटा महत्त्वपूर्ण घटना आफूले प्राप्त गरेको धर्म अरूलाई सुनाउन थाल्नु पनि हो। यसलाई धर्मचक्र प्रवत्र्तन भनिन्छ।

बुद्धले धर्मचक्र प्रवत्र्तनका लागि अरूलाई छाडेर सारनाथमा बसिरहेका पूर्वपरिचित पाँच भिक्षुलाई रोजे। यो चयनले उनको मान्छेको पहिचान गर्नसक्ने नेतृत्वको खुबी झल्काउँछ।

प्रसङ्गवश गौतम बुद्धको नाम आउनासाथ हाम्रा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत उच्च पदाधिकारीहरू बुद्धको उपदेश आज पनि सान्दर्भिक भएको उल्लेख गर्न छुटाउँदैनन्। तर, गौतम बुद्धको नेतृत्व खुबीको अनुसरण आज देश चलाउने नेताहरूले गरिरहेका छन् त भन्ने प्रश्न टड्कारो रूपमा उठ्छ।

बुद्धको जीवनी नियाल्दा दृष्टिगोचर हुने महत्त्वपूर्ण पाटो हो– नेतृत्व विकास। उनले बुद्धत्व प्राप्तिदेखि महापरिनिर्वाणसम्म ४५ वर्षको जीवनमा भुइँमान्छेदेखि ठुल्ठूला राजा–महाराजा र महाविद्वानलाई उपदेश दिए। सारनाथमा पाँच भिक्षुलाई भेट्नुअघि उनले बोधगयास्थित बोधिवृक्ष वरिपरि नै उत्कल जनपदबाट आएका तपस्सु र भल्लुक दुई व्यापारी दाजुभाइसँग भेटेका थिए। बुद्धलाई भोजनदान गर्ने उनीहरू द्वैवाचिक उपासक भए।

बोधिवृक्षस्थलबाट सेनानी गाउँ धेरै टाढा थिएन। बुद्धत्व प्राप्त गर्नुअघि यही गाउँकी महिला सुजाताले बुद्धलाई खीरदान गरेकी थिइन्। बोधगयाबाट सारनाथ जाँदा बीच बाटोमा उपक नामका परिब्राजकसँग उनको भेट भएको थियो। उनले बुद्धसँग केही सामान्य प्रश्न गरेका थिए। यी घटनाले बुद्धको जनसम्पर्क अवश्य पनि राम्रो हुनुपर्छ भन्ने देखाउँछन्।

बुद्ध काशीको भीडभाडयुक्त बजार छिचोलेर सारनाथ गएका थिए। पाँच भिक्षुको क्षमतालाई राम्रैसँग हेरिसकेकाले उनीहरूकै खोजीमा उनी सारनाथतिर लागेका थिए। बुद्धका उपदेश सुनेर पाँचै भिक्षु अर्हत् हुनुका साथै अरूलाई धर्म सुनाउने पनि भए। उनीहरूले पछि काशीका सेठपुत्र यश कुमार सहित ५५ जना साथीलाई पनि उपदेश सुनाएर धर्मबोध गराई अर्हत् बनाए। पाँच भिक्षुले तिनलाई शिष्यमण्डली बनाई लिएर हिँडेनन्, बरु सबैलाई अलग–अलग बाटो धर्म प्रचार गर्न पठाए।
बुद्ध आफैँले पनि धर्म प्रचारका लागि मगध जाँदा बाटोमा भेटिएका तीस जना कुमारलाई धर्म उपदेश सुनाएर भिक्षु बनाई चारै दिशामा पठाएका थिए। यसरी नै उरुबेलका तीन बेग्लाबेग्लै ठाउँमा अखडा जमाएर बसेका उरुबेल कश्यप, नदी कश्यप र गया कश्यपलाई आफ्नो मतवादमा ल्याई उनीहरूका हजार शिष्यलाई समेत भिक्षु बनाएर मगध लगेका थिए। तत्कालीन समाजमा प्रसिद्धि कमाएका यी ब्राह्मणलाई पराजित गरेर आफ्नो पछि लगाएको भनेर बुद्धले कतै सुनाएनन्, बरु तिनै ब्राह्मणले मगध राजा बिम्बिसारलाई यो कुरा सुनाए।

हिजोआज नेपाल लगायत कतिपय मुलुकको राजनीतिक परिदृश्य पारिवारिक वृत्तमा रुमल्लिएको पाइन्छ। नेताहरूको व्यक्तिगत राजनीतिक बिरासतको सुरक्षा वा पारिवारिक मोहका कारण देश र जनता प्रभावित भएका छन्। बुद्धको नेतृत्वमा रहेको बौद्ध सङ्घमा बुद्धका गृहस्थ जीवनका धेरै पारिवारिक सदस्यको प्रवेश भएको थियो। शुरूमा उनका बाबुका केही कर्मचारी भिक्षु बने, पछि भाइ लगायत नाताकुटुम्ब भिक्षु हुन आए। आमा प्रजापति, जहान यशोधरा, छोरा राहुल, दिदी नन्दा र भाइ नन्दहरू पनि सङ्घ सदस्य हुन आए। सबै अर्हत् बनेका थिए।

तर, गौतम बुद्धसँग गृहस्थ जीवनको नाता देखाएर न कसैले विशेष स्थान लिए, न कसैलाई दिए। सात वर्षको उमेरमा श्रामणेर (विधिवत् भिक्षु बन्नुअघिको अवस्था) बन्न आएका छोरा राहुलको जिम्मा भिक्षु सारिपुत्रको थियो, बुद्धको होइन। एकपल्ट सुत्न कोठा नपाएर बालक राहुल शौचालयमा सुतिरहेका स्वयम् बुद्धले भेट्टाएका र ठुलालाई शिष्यहरूको देखभाल गर्नुपर्नेमा सचेत गराएका थिए। आमा यशोधरा बिरामी हुँदा छोरा राहुल औषधि खोज्दै हिँडेको प्रसङ्गबाट पनि थाहा हुन्छ, बुद्धका नाताकुटुम्बले सङ्घमा विशेष स्थान पाएका थिएनन्।

गौतम बुद्धको उपस्थापक (निजी सचिव सरह)का रूपमा नियुक्त भिक्षु आनन्द नाताले भाइ पर्दथे, तर यो पद उनलाई नातासम्बन्धले नभएर आफ्नै विशेषताले प्राप्त भएको थियो।

बुद्ध स्वभावतः सर्वोच्च थिए र सोही अनुरूप उनको श्रद्धा गरिन्थ्यो। तर, उनमा अधिकार केन्द्रीकृत थिएन। धर्मबोध भइसकेका शिष्य स्वयम् धर्मप्रचारका लागि हिँड्न सक्थे। सबैको जीवनशैली सरल र सहज थियो। सङ्घमा लगाउने चीवर तीन जोरभन्दा बढी राख्ने अनुमति थिएन। अन्य कुराको पनि सङ्ग्रह गरिँदैनथ्यो।

त्यो बेलाका युवाको बढी ध्यान केशश्रृंगार गर्नु र जुँगादारी मिलाउनु हुन्थ्यो। तर, बुद्धले सबैलाई केशमुण्डन गर्नु र दारीजुँगा खौरिनुपर्ने समान नियम बनाइदिएका थिए। यी कुराले सङ्ग्रहको भाव विकास भएन, तृष्णा जागेन र सदस्यहरूलाई सङ्घप्रति समर्पित हुन प्रेरित गर्‍याे।
नेतृत्वका लागि आवश्यक चार गुणको संक्षिप्त तर गहन उल्लेख ‘दुतियहत्थकसुत्त’मा गरिएको छ। पाँच सय उपासकको नेतृत्व गर्दै आलवी देशका राजकुमार बुद्धकहाँ पुगेका थिए। कुनै बेला बुद्धले दिएका चार सङ्ग्रह–वस्तुबारेको उपदेशलाई पालना गर्ने क्रममा उनमा नेतृत्व विकास भएको थियो। ती चार उपदेश हुन्– दान आवश्यक पर्नेलाई दान दिने, प्रिय वचन बोल्नुपर्ने अवस्थामा प्रियवचन बोल्ने, कामकाजमा सहयोग चाहिने बेलामा कामकाज गरिदिने र सम्मानपूर्वक व्यवहार गर्नुपर्नेलाई सम्मानपूर्वक व्यवहार गर्ने। त्यसपछि बुद्धले विशाल जनसमुदायको नेतृत्व गर्ने तरिका यही हो भन्दै यिनलाई सर्वश्रेष्ठ नेतृत्व गुण घोषणा गरेका थिए।

घरपरिवार, समाज र ससाना सङ्गठनदेखि राज्य सञ्चालनसम्म सबैतिर नेतृत्व आवश्यक पर्छ। धेरै जनताको जीवन र मरणसँग प्रत्यक्ष–अप्रत्यक्ष सम्बन्ध हुने राजनीतिका सम्बन्धमा बुद्धले प्रशस्त उपदेश दिएका छन्। कोशल देशका राजा प्रसेनजीत घुस खान्थे। अन्य तैर्थीयहरूले राजालाई एक लाख घूस दिएर जेतवन विहारको ठीक पछाडि अवैध जग्गामा विहार बनाउन लागेको कुरा ‘भरुजातक’मा उल्लेख छ।

यस प्रसङ्गमा बुद्धले राजालाई ‘पुराना राजाहरूले घूस खाई शीलवान् श्रमण (गृहत्यागी, साधु, सन्न्यासी तर ब्राह्मणभन्दा फरक)हरूलाई परस्पर झगडा गराउन लगाए झैँ झगडा हुने अशान्तिको वातावरण खडा गराउनु हुन्न’ भनी उपदेश दिएका थिए। यो उपदेशपछि राजा अवैध निर्माणबाट पछाडि हटे।

राजाले आफ्ना कर्मचारीहरू घूस खान्छन् भनेर सुनाउँदा बुद्धले अत्थकरणसूत्र (न्यायालय) उपदेश सुनाएका थिए। उनको ‘तरिरहेका गाईमध्ये अगुवा हुने बाङ्गो गयो भने सबै बाङ्गै जान्छन्’ भन्ने गाथा नेतृत्वसँगै सम्बन्धित छ। बुद्धको उपदेश छ, ‘तरिरहेका गाईहरूमध्ये अगुवा सोझो गयो भने सबै सोझै गए जस्तै मनुष्यहरूमा पनि जो श्रेष्ठसम्मत छ, उसले धर्माचरण गर्छ भने अरू प्रजागणलाई भन्नै पर्दैन। तसर्थ राजा धार्मिक भयो भने सबै राष्ट्रवासी सुखपूर्वक शयन गर्छन् भन्ने गाथा नेतृत्वका लागि मूलमन्त्र नै भन्दा पनि हुन्छ।’

राजा प्रसेनजीत विहारमा बुद्धको उपदेश सुन्न आइरहेकै बेला दरबारबाट एउटा सन्देश आएको थियो- रानी मल्लिकादेवीले छोरी जन्माइन् भनेर। यो सन्देश पाएपछि राजा खिन्न मुख लगाएर बस्न पुगे। यो थाहा पाएर बुद्धले राम्रो शिक्षादीक्षा दिनसके छोरीले पनि राज्य सञ्चालन गर्नसक्ने उपदेश दिएका थिए।
सुशासन सफल नेतृत्वको परिचायक हुन्छ। सुशासनका लागि पनि बुद्धले प्रशस्त उपदेश दिएका छन्। ‘दशराजधर्म’मा उल्लेखित सुशासन सम्बन्धी उपदेशहरू प्रसिद्ध छन्। ‘तेसकुण जातक’ पक्षीहरूलाई मानवीकरण गरिएको बुद्धको पूर्वजन्म सम्बन्धी कथा हो, तर यसमा निहित सन्देश राज्य सञ्चालनका आधारभूत आवश्यकताभित्रै पर्दछन्। बौद्ध साहित्यमा नेतृत्व विकास सम्बन्धी अनेकौँ प्रसङ्ग छन्, जुन अध्ययनको बेग्लै विषय हो।

बुद्धको नेतृत्वलाई चुनौती दिने एक पात्र थिए– देवदत्त। नाताले आफ्नै मामाको छोरा पर्ने उनी बुद्धद्वारा सिकाइएको साधना पद्धतिबाट लाभान्वित थिए। तर, महत्त्वाकाङ्क्षी र कुत्सित मनसायका उनले बुद्धलाई प्रतिस्थापन गरी आफैँ बुद्धका रूपमा स्थापित हुने आकाङ्क्षा राखेका थिए। देवदत्तले मगधका राजकुमार अजातशत्रुलाई हातमा लिएर बुद्धको हत्याको प्रयाससम्म गरेका थिए, तर सफल भएनन्।

भिक्षुहरूले जङ्गलमा बस्नुपर्ने, माछामासु पटक्कै खान नहुने, भोजन सामग्री भिक्षाटनबाटै जुटाउनुपर्ने, भोजनको निमन्त्रणामा जान नहुनेजस्ता देवदत्तद्वारा प्रस्तावित कठोर नियम लागू गर्न बुद्धबाट अस्वीकार भएको थियो। देवदत्तले यही निहुँमा केही भिक्षु साथमा लिएर बेग्लै सङ्घ गठन गरेका थिए। यस विग्रहबाट सर्वसाधारण झुक्किन गएकाले बुद्धले अग्रश्रावकद्वय सारिपुत्र र मौद्गल्यायनलाई पठाई भिक्षुहरूलाई फर्काएर ल्याउन लगाएका थिए।

बुद्धत्व प्राप्त गर्नुको अर्थ सर्वज्ञ हुनु हो। तर, बुद्धले भविष्यमा आउनसक्ने समस्या भनेर पहिल्यै नियमहरू बनाएर लाद्ने काम गरेनन्, जुन बेला जस्तो समस्या आयो त्यही अनुसार नियम बनाएर सहज रूपमा लागू गरे। बुद्धको यही नेतृत्व गुणलाई सङ्घले आदर्शका रूपमा लिएको पाइन्छ र यसैका कारण महापरिनिर्वाणपछि बौद्ध धर्मको विस्तार अझ विस्तृत रूपमा हुनपुग्यो। बुद्धका उपदेशहरू नहराऊन् वा अपव्याख्या नहाेऊन् भनेर यस क्षेत्रका व्यक्तिहरू सचेत हुनुको कारण पनि यही हो।

पच्चीस सय वर्षदेखि बडो मिहिनेत गरेर जोगाउँदै अवलम्बन गरिँदै आएका बुद्धका सन्देश अहिले विभिन्न भाषामा अनुवाद गरी सर्वसुलभ बनाइएका छन्। देश र समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेहरूले बुद्धको प्रशंसा मात्र गर्नुभन्दा कम्तीमा उनको नेतृत्व क्षमताबाट केही सिक्न सकेका तथा उनका उपदेशलाई व्यवहारमा उतारेका भए धेरैको हित हुन्थ्यो।

वसन्त महर्जन÷हिमालखबरका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho