शेर्पा संघले गरे ‘सगरमाथा दिवसमा तेन्जीङ नोर्गेको चर्चा’

कान्छीमा शेर्पा

२०७८ जेष्ठ १५, शनिबार


१५ जेठ २०७८
काठमाडौं (शेर्पाखबर) । १४ औं सगरमाथा दिवसको अवसरमा नेपाल शेर्पा संघले तेन्जीङ नोर्गे शेर्पाको योगदानको चर्चा गरेको छ । पहिलो पटक सगरमाथामा मानव पाइला टेक्न सफल तेन्जीङ नोर्गेकै कारण शेर्पाहरु विश्वसामु चिरपरिचित भएको भन्दै नोर्गेको चर्चा गरेको हो । 
दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै अध्यक्ष गेल्जे लामा शेर्पाले तेन्जीङ नोर्गे शेर्पा जातिको प्रतिनिधित्व गर्ने एक आदर्श व्यक्तित्व रहनु भएको भन्दै चर्चा गरे । सन् १९५३ मे २९ विहान ११ः४५ बजे (आजकै दिन) तेन्जीङ नोर्गे शेर्पा र सर एड्मन हिलारीले सगरमाथामा पाइला टेकेर इतिहास रचेका थिए ।
संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘सगरमाथामा पहिलो पटक पाइला टेकेर शेर्पा समुदायको पहिचानलाई विश्वव्यापी बनाउँदै शिर उँचो बनाउने अभियान्त तेन्जीङ नोर्गे शेर्पाप्रति सदा सम्मान र चीरस्मरण रहनेछ ।’ तेन्जीङ नोर्गेले सगरमाथामाथि पाइला राखेकै दिनबाट विश्वमा शेर्पा जातिको पहिचान थप उँचो भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ‘राज्यले शेर्पा जातिप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आंशिक सुधार आएको, सगरमाथा क्षेत्रमा रहने शेर्पाहरुको जीवनमा आमूल परिवर्तन र विश्वको पर्यटकीय गन्तव्य मध्ये सगरमाथा पहिलो रोजाईमा पर्न सफल भएको छ ।’
पर्यटनको माध्यमबाट शेर्पाहरुको आर्थिक, सामाजिक, शैक्षिक हैसियतमा सुधार आएको उल्लेख गर्दै यसलाई तेन्जीङ नोर्गे शेर्पाको उपाध्येताको रुपमा परिभाषित गरेको छ ।
नेपाल, नेपाली र शेर्पा समुदायका लागि विरताका गाथा कोरेका तेन्जीङ नोर्गेप्रतिको सम्मान गर्न सकेको अवस्था होकी होइन भनेर समिक्षा गर्ने बेला आएको समेत विज्ञप्तिमा उल्लेख छ । सगरमाथा दिवस शेर्पा र हिलारीको सम्मानकै लागि स्मरण गर्ने दिन रहेको उल्लेख गर्दै संघले अघि भनेको छ ‘तेन्जीङ नोर्गेले रचेको विरासतलाई जोगाउन अहिलेपनि धेरै शेर्पाहरु हिमाल आरोहणमा छन् । गैरशेर्पाहरु समेत आरोहणमा अब्बल हुँदै गएको छ । यो सुखद पाटो हो ।’
शेर्पाहरुले चोमोलोङमा भनेर सम्बोधन गर्ने सगरमाथा आफ्नो सभ्यता, इतिहाससँग जोडिएको र यसलाई समृद्धीको प्रतिकको रुपमा पुज्ने गरेको उल्लेख छ । विश्वको मानचित्रमा क्षेत्रफलको हिसाबले सानो नेपालको प्रसिद्धी चोमोलोङमा भएकै कारण व्यापक र फराकिलो बनाएको विज्ञप्तिमा भनिएको छ । सगरमाथाको गरिमालाई जोगाउँदै यसलाई विश्वसामु सुपरिचित गराउने शेर्पा जातिको योगदान र संघर्षका कथाका पाटोहरु राज्यले विर्सनु नहुनेमा संघको जोड छ । सगरमाथा आरोहण गर्ने हरेक नेपाली शेर्पाको योगदानलाई दस्तावेजिकरण गर्दै सुरक्षित अभिलेखिकरण गरी राज्यले सम्मान गर्नुपर्ने समेत संघले विज्ञप्तिमार्फत माग गरेका छन् ।   
 

संघले सगरमाथा आधारशिविर, क्याम्प २ मा धेरै जना आरोहीहरु अलपत्र रहेको भन्नेतर्फ राज्यको धानाकर्षण समेत गराएको छ । विज्ञप्तिमार्फत संघले भने ‘वेला सगरमाथा शिखरमा पाइला टेक्न आरोहण दलका सदस्यहरु आधारशिविरमा छन् । मौसम प्रतिकूल भएका कारणले आरोहण यात्रामा कठिनाइ आएको छ । कतिपयको उद्धार गर्नुपर्ने अवस्था सिर्जना भएको समाचार छ । यसतर्फपनि राज्यको ध्यान जानुपर्दछ । मौसम पूर्वानुमानलाई थप व्यवस्थित गर्दै आरोहणमा रहेकाहरुलाई जानकारी दिई मानवीय संकट आउन नदिन पूर्व सतर्कता आपनाउनेतर्फ ध्यान पुर्याउन सरकारसँग अपिल गर्दछ ।’
सगरमाथा आरोहण दलका कतिपय सदस्यहरु मौसम अनुकुल हुने अपेक्षामा आधारशिविरमै बसेका छन् भने अधिकांश आरोहण स्थगित गरी फर्केका छन् । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho