उपलब्धि संस्थागत गर्न ढिलाई गर्नु हुँदैनः शेर्पा संघ

ङावा शेर्पा

२०७८ जेष्ठ १५, शनिबार


१५ जेठ २०७८
काठमाडौं (शेर्पाखबर) । १२ औं गणतन्त्र दिवस देशविदेशमा विशेष समारोह आयोजना गरी मनाइरहेको छ । यसवीच नेपाल शेर्पा संघले पनि गणतन्त्र दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै ‘उपलब्धिलाई संस्थागत गर्न ढिलाई गर्न नहुने’ कुरामा जोड दिएका छन् । अध्यक्ष गेल्जे लामा शेर्पाद्धारा एक विज्ञप्ति जारी गर्दै ‘गणतन्त्र लगायत अनेकन आमूल परिवर्तनहरु भएपनि संस्थागत हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै उपलब्धिलाई तत्काल संस्थागत गर्दै अघि बढाउनु पर्ने’मा जोड दिएका हुन् । 
विज्ञप्तिमा भनिएको छ ‘नेपाल संघीय लोकतान्त्रिक व्यवस्थामा प्रवेश गरेको आज १२ बर्षपूरा भएको छ । एकात्मक राज्य (२ सय ४० बर्ष पुरानो राजालाई मान्ने व्यवस्था) बाट गणतन्त्रात्मक व्यवस्थासहितको संघीय राज्य व्यवस्था स्थापना भएको सुखद दिन हो ।’ ६२÷०६३ को जनआन्दोलन, शेर्पा समुदायसहित आदिवासी जनजाति, मधेश, शिल्पी, मुस्लिम, थारु समुदायको त्याग, बलिदानबाट गणतन्त्र स्थापना भएको र जनताद्धारा जनताका सन्ततीलाई नै राष्ट्रप्रमुखको रुपमा चुन्ने अवसर हामीले प्राप्त गरेको स्मरण गरेको छ ।
गणतन्त्र स्थापनासँगै मुलुक एकल हिन्दु राज्यबाट धर्मनिरपेक्षा राज्यको रुपमा समेत घोषणा भएपनि पुराना चलनहरु निस्तेज भई नसकेको विज्ञप्तिमा उल्लेख छ । ‘निरंकुश राजसंस्थाको अन्त्य भई गणतन्त्र स्थापना हुँदै गर्दा आम नेपाली जनताले ठूलो आशा र भरोस राखेको थियो ।’ विज्ञप्तिमा भनिएको छ ‘विशेषता दिगो शान्ति, राजनैतिक स्थायित्व, राज्यमा समान र सम्मानजनक पहुँच, समनता, जातीय तथा लैंगिक विभेदको अन्त्य, नागरिकको पूर्ण स्वतन्त्रता, लोककल्याणकारी राज्य र मौलिक हकको पूर्ण प्रत्याभूत हुने विश्वास लिएका थिए ।’ व्यवस्था परिवर्तनसँगै अवस्थाहरु झन जटिल हुँदै गएको, परिवर्तनहरु संस्थागत हुनुका साटो राजनैतिक दाउपेच र खिचातानीले जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरु दिनदिनै कमजोर हुँदै गएको प्रति संघको गुनासो छ । राजनैतिक दलहरुको आफ्नो दलगत स्वार्थ र नेतृत्व टकरावका कारण मुलुकमा अझैपनि शान्ति र अमनचयन कायम हुन नसकेको आरोप छ ।

संविधानसभामार्फत संविधानजारी भएपनि सबैले आपनत्व गर्ने खाले संविधान जारी हुन नसकेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ‘संविधान सबैको साझा बनाउन नसक्दा मुलुकमा अहिलेपनि विभिन्न नामबाट सडक आन्दोलनहरु भइ नै रहेका छन् । गणतन्त्र स्थापनामा बलिदानी गरेका कयौं उत्पीडित वर्ग, समुदायका अगुवाहरु अधिकार प्राप्तिको राजनैतिक आन्दोलनको नेतृत्व गरेका कारण झुट्ठा मुद्दाहरु सामान गर्दै जेल जीवन विताउन वाध्य छन् ।’ 
राजनैतिक नेतृच्वको अकर्मण्यताले संघर्षबाट प्राप्त उपलब्धिहरु जोगाउने र संस्थागत गर्नेतर्फ अघि बढ्नको सट्टा कानूनी राज्यको उपहास गर्ने, विधि र पद्धतीको खिलापमा अघि बढ्ने कार्यहरु हुनलाई संघले दुःखद भनेको छ । अनगिन्ती भुलत्रुटीहरुलाई सच्याउँदै सबैले परिवर्तनलाई आत्मसाथ गर्दै राज्यमा सबैको आपनत्व हुने र स्थायी शान्तिका लागि पहल कदमी लिने बेला आएको संघले स्मरण गरेको छ । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho