ओखलढुंगामा पत्रकारका लागि आईसोलेसन र सहायता कोष स्थापना

मिङमार शेर्पा

२०७८ जेष्ठ ८, शनिबार


८ जेठ २०७८
ओखलढुंगा (शेर्पाखबर) । नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाले पत्रकारहरुका लागि आइसोलेसन र सहायत कोष स्थापना गरेको छ । पाँच शैय्याको आइसालेसन निर्माण गर्ने र  ५ लाख रुपैयाँको पत्रकार सहायत कोष स्थापना गर्ने निर्णय भएको उपाध्यक्ष विनुमाया राईले जानकारी दिइन् । 
‘शुक्रबार बसेको भर्चुअल (जुम) बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महासंघको भवनमा पत्रकारका लागि पाँच शैय्याको आइसोलेसन बनाउने निर्णय गरेका छ ।’ उपाध्यक्ष राईले भनिन् ‘कोरोना संक्रमणसंग जुध्दै सूचना प्रवाहको महत्वपूर्ण दायित्व निर्वाह गरिरहेका पत्रकारको जोखिम व्यवस्थापनका लागि आइसोलेसन बनाउने निर्णय भएको हो ।’
जिल्लामा क्रियाशिल पत्रकारहरु संक्रमित भएमा महासंघले तयार पारेको आइसोलेसनमा बस्ने व्यवस्था मिलाइने वैठकपछि सचिव पूर्णप्रसाद न्यौपानेद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 
बैठकले तत्काल पाँच लाख बराबरको ‘पत्रकार सहायता कोष’ स्थापना गर्ने समेत निर्णय गरेको अर्का उपाध्यक्ष रविन श्रेष्ठले जानकारी दिए । उपाध्यक्ष श्रेष्ठका अनुसार ‘पत्रकारको स्वास्थ्योपचार, भैपरि आउने आपतिकालिन अवस्थामा सहयोग गर्न शाखामा ५ लाख बराबरको पत्रकार सहायता कोष स्थापना गर्ने’ निर्णय गरेको हो । 
कोषको बृत्तिविकासका लागि सबैसँग सहयोगका लागि अनुरोध गर्ने निर्णय भएको जनाउँदै कोषाध्यक्ष कुलबहादुर तामाङले भने ‘पत्रकारहरुको व्यवसायिक दक्षता वृद्धि, उपचार र आपतकालिन अवस्थामा कोषबाट सहयोग गर्नेछ ।’ कोष स्थापना गर्ने निर्णयसँगै महासंघका पदाधिकारीबाट तत्कालै १ लाख ५ हजार संकलन भई कोष स्थापाना भईसकेको छ ।  
शाखाका अध्यक्ष लाक्पा जी शेर्पाको अध्यक्षता तथा केन्द्रीय सदस्य दीपेन्द्र रुम्दालीको विशेष उपस्थितीमा बसेको बैठकले कोरोना महामारीले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको प्रभाव, श्रमजीवी पत्रकारका समस्या र कोभिड संक्रमणले जिल्लाका आम नागरिकमा पारेको असरका विषयमा छलफल गरेको थियो । नागरिकको अगुवा संस्थाको रुपमा महामारीको संकटका बेला नागरिकको जीवन रक्षा र उचित राहत, उद्धार व्यवस्थापनका लागि सम्वन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय भएको सचिव न्यौपानेद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । 
पत्रकारको पेशागत र सञ्चारमाध्यमको व्यवसायिक संकट व्यवस्थापनका लागि महासंघले जिल्ला स्थित स्थानीय तह, संघ–सस्था, सरकारी कार्यालय लगायतसँग समन्वय अध्यक्ष शेर्पाले बताए । 
महांघले जिल्लामा रातको समयमा दर्जनौको संख्यामा नागरिकहरु स्वास्थ्य परीक्षण नगराई बिना रोकतोक जिल्ला प्रवेश गर्ने क्रमले जोखिम बढेको भन्दै प्रशासनको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
नागरिकको स्वास्थ्य सेवा सुलभ र सहज पाउने अधिकारको सुनिश्चित गर्न, कोभिडका बिरामीलाई आवस्यक पर्ने स्वास्थ्य सेवा, आइसोलेसन, अक्सिजन र उचित स्वास्थोपचारको प्रबन्धका गर्न महासंघले माग समेत गरेको छ । 
पत्रकार महासंघले भोली जेठ ९ गते जिल्लास्थित सरोकारवाला निकायसँग जिल्लामा कोभिड नियन्त्रणका लागि भइरहेको पहल र आगामी योजनाबारे भर्चुअल (जुम) बैठक गर्ने निर्णय भएको सहसचिव मिनाकुमारी श्रेष्ठले जनाएको छ । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho