शेर्पा संघमा लोकसेवा तयारी कक्षा सम्पन्न

मिङमार शेर्पा

२०७७ चैत्र २०, शुक्रबार


काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघ केन्द्रीय समितिको आयोजनामा सञ्चालन भएको २० दिने लोकसेवा तयारी कक्षा तालिम सम्पन्न भएको छ । चैत्र १ गतेदेखि शुरु भएको तालिम संघको केन्द्रीय कार्यालयमा चैत्र २० गते सम्पन्न भएको हो । 
तालिममा २१ जना शेर्पा युवाहरु सहभागि थिए । शाखा अधिकृतस्तरको तयारीका लागि तालिम आयोजना गरेको विभागीय सचिव मिङमार सार्की शेर्पाले जानकारी दिए । समापन कार्यक्रममा सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । त्यस्तै, ६ जना प्रशिक्षकहरुलाई पनि कदर पत्र प्रदान गरेको महासचिव लाक्पा शेर्पाले जानकारी दिए । 

 

नेपाल शेर्पा संघले विभाग नै गठन गरेर राज्यको निकायमा शेर्पाहरुको व्यापक उपस्थित बढाउने कार्यक्रम अघि सारेको र जस अन्तर्गत शाखा अधिकृतस्तरको पहिलो कार्यक्रम सम्पन्न गरेको समापन कार्यक्रममा कोषाध्यक्ष आङ काजी शेर्पाले जानकारी दिए । ‘प्रशिक्षार्थीहरुलाई यातायात, खाना, खाजा, वासको समेत व्यवस्थापन गरेर तालिम आयोजना गरेका हौं । शेर्पा युवाहरुलाई निजामति सेवा प्रवेश गर्न हौसला प्रदान गर्दै निजामति क्षेत्रमा हाम्रो सहभागि बढाउने हेतुले कार्यक्रम भएको हो ।’ कोषाध्यक्ष शेर्पाले भने ।
 

समापन कार्यक्रममा प्रशिक्षार्थी, प्रशिक्षक, प्रशिक्षार्थीका अभिभावक, नेपाल शेर्पा संघका सचिवालय सदस्यहरु समेत उपस्थित थिए । कार्यक्रममा बोल्दै नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पाले शेर्पाहरुको राज्यको निकायमा बढी भन्दा बढी सहभागिता नै संघको मूल धेय रहेको प्रष्ट पारे । समापन कार्यक्रममा सभाध्यक्षको आसनबाट बोल्दै अध्यक्ष शेर्पाले भने ‘हाम्रो राज्यमा पहुँच न्यून छ । यो अवस्थाले हामी विभिन्न क्षेत्रमा पछि छौं । अधिकार प्राप्त गर्नका खातिर पनि राज्यमा पहुँच स्थापित हुनुपर्यो । नीति निर्माणको क्षेत्रमा हाम्रो सहभागिता नहुने हो भने खास अर्थ राख्दैन ।’ अध्यक्ष शेर्पाले अघि थपे ‘नेपाल शेर्पा संघको इतिहासमा लोकसेवा तयारी कार्यक्रम पहिलो र ऐतिहासिक हो । तपाईहरुले शाखा अधिकृत वा निजामति क्षेत्रमा नाम निकाल्न सक्नु भयो भने हाम्रो कार्यकाल र मिहिनेत सफल भएको मानिनेछ ।’

No description available.
राज्यको निकायमा पहुँच नपुग्दा हामीले विगतदेखि उपभोग गर्दै आएको ल्होसार विदा समेत काटिएको बताउँदै अध्यक्ष शेर्पाले भने ‘हाम्रो जम्मा एउटा विदा पनि काटिएको छ । राज्यको निकायमा हाम्रो उपस्थिती नहुँदा यो सबै नियमित हामीले भोग्नु परेको छ । यसलाई चिर्न अब निजामति प्रशासन मार्फत बढी भन्दा बढी सहभागिता बढाउनुपर्छ ।’

लोकसेवाको अन्य तहको कार्यक्रम समेत तत्कालै सञ्चालन गर्ने उल्लेख गर्दै अध्यक्ष शेर्पाले भने ‘हामी बार्षिक कार्यक्रम बनाएका छौं । छिट्टै नायब सुब्बा र खरीदार तहको कार्यक्रम सञ्चालन गर्छौं । योग्यता पुगेका शेर्पा युवाहरुलाई सहभागि गराएर राज्यको स्वाद चाख्न लगाउनु छ ।’
आगामी वैशाखबाट केन्द्रीय कार्यालयमा खरीदार र नायब सुब्बा तहको तालिम सञ्चालन गर्ने केन्द्रीय सचिवालयले निर्णय गरेको समेत सो अवसरमा अध्यक्ष शेर्पाले जानकारी दिए । 
तालिम समापन कार्यक्रममा बोल्दै नेपाल शेर्पा संघका पूर्व अध्यक्ष पेमाछिरी शेर्पाले नेपाल १ सय २५ जातजाति भएको मुलुक भएपनि राज्यमा एकल जाति मात्रै हाबी भएको भन्दै दुःख व्यक्त गरे । उनले कतिपय अवस्थामा हाम्रै कमजोरीले पनि राज्यको तहमा पुग्न नसकेको तर्क अघि सारे । उनले भने ‘हामी उमेर पुग्ने वित्तिकै क्यानडा, अमेरिका ताक्छौं । लाहुरेका सन्तान लाहुर हुन कुद्छन् । तर, लोकसेवा के हो ? राज्यको निकायमा कसरी सहभागि हुन सकिन्छ ? निजामति प्रशासनमा प्रवेश भएपछि केके फाइदा लिन सकिन्छ ? भन्ने बारे हामीले खास चासो नराखेकाले पनि समस्या भएको हो ।’ उनले अघि थपे ‘नेपाल शेर्पा संघले राज्यको निकायमा शेर्पाहरुको व्यापक सहभागिताको लागि चालेको अभियान सह्राणिय छ । यसको प्रतिफल राम्रो प्राप्त हुन्छ । हामी सबैले बुद्धिमतापूर्ण रुपमा जोडबल लगाउनुपर्छ ।’
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सांसद तथा नेपाल शेर्पा संघका पूर्वाध्यक्ष जिप छिरिङ लामा शेर्पाले शेर्पाहरुमा आएको जागरणले आफूलाई उत्साहित बनाएको भन्दै खुसी व्यक्त गरे । लोकसेवा आयोगले समावेशी कोटा कटाएर विज्ञापन आह्वान गर्ने गरेको भन्दै उनले यसमा नीतिगत रुपमा सदनमा कुरा उठाएको सो अवसरमा बताए । 
 

शेर्पाहरु हिमाली भेगमा वसोवास गर्ने र त्यहाँ शिक्षा लिने अवसर समेत राम्ररी नपाएकाले शेर्पाहरु निजामति क्षेत्रमा पछि परेको बताउँदै सांसद शेर्पाले भने ‘हिमाली क्षेत्रमा विद्यालय हुँदैन, विद्यालय भएपनि आधारभूत तहको खोलिन्छ । राम्रो शिक्षक पाइँदैन । राम्रो पठनपाठन नभएपछि लोकसेवा लड्न सक्ने जनशक्ति तयार हुने कुरै भएन । त्यसरी हामी पछि परेका छौं ।’ उनले आरक्षणको नाममा सम्पन्न र सिमान्तकृत वर्गलाई लोकसेवा आयोगले एउटै टोकरीमा राखेकाले पनि समस्या भएको औंल्याउँदै प्रमुख अतिथि शेर्पाले भने ‘मैले सदनमा पनि कुरा उठायौं, सबैलाई एउटै टोकरीमा हालेर ४५ प्रतिशत नभनौं । बरु जनसंख्याको आधारमा कोटा निर्धारण गरौं । यसो गर्दा लोकसेवालाई समावेशी र व्यवहारिक बनाउन सकिन्छ । र, मुलुकप्रति अपनत्व महशुस गर्न सक्छौं ।’ 
तालिम पश्चात् प्रशिक्षार्थीहरुलाई लोकसेवाको नमुना परीक्षा समेत सञ्चालन भएको थियो । नमुना प्रशिक्षार्थी मध्येबाट उत्कृष्ट ५ जनालाई छनौट गरी शाखा अधिकृत दोस्रो पत्रको तयारी कक्षामा सहभागि गराउने निर्णय समेत भएको संघले जनाएको छ । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho