नेचासल्यानमा पहिलो ग्याल्पो ल्होसार साँझ हुने

लाक्पा जी शेर्पा

२०७७ फाल्गुन २५, मंगलबार


काठमाडौं (शेर्पाखबर) । सोलुखुम्बुको नेचा सल्यानका शेर्पा समुदाय ग्याल्पो ल्होसार मनाउने तयारीमा जुटेका छन् । यहाँ पहिलो पटक ग्याल्पो ल्होसार सांस्कृतिक साँझ कार्यक्रम आयोजना हुँदैछ । 
नेपाल शेर्पा संघ अन्तर्गत विभिन्न संघसंस्था, स्थानीय किदुगहरुको आयोजनामा नेचासल्यान गाउँपालिका १ अहालेमा वृहत्तर कार्यक्रम आयोजना गर्न लागेको स्थानीय मेन्दो लकी शेर्पाले जानकारी दिइन् । 
हिमाली शेर्पा सांस्कृतिक समाज, हिमालयन शेर्पा सांस्कृतिक केन्द्र नेचासल्यान, नेपाल शेर्पा संघ चिसंखुगढी गाउँपालिकाको संयूक्त आयोजनामा ल्होसार साँझ तथा श्याब्रु प्रशिक्षण कार्यक्रम समापन गर्ने हेतुले फागुन २९ र चैत १ गते कार्यक्रम आयोजना गर्न लागेको आयोजक मध्ये समाजका पासाङ रिन्जी शेर्पाले शेर्पाखबरलाई जानकारी दिए ।

“संस्कृति, सभ्यता र इतिहासको रक्षा, पहिचान र अधिकारसहितको शेर्पालुङ स्थापना हाम्रो लक्ष्य” भन्ने आदर्शसहित कार्यक्रम हुने जनाएको छ । आयोजकका अनुसार यतिवेला यहाँको विभिन्न टोलमा शेर्पा संस्कृतिमा आधारित श्याब्रु नृत्य प्रशिक्षण आयोजना भइरहेको छ । ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाको दुइवटा वडामा पनि शेर्पाहरु श्याब्रु नृत्य सिकी रहेका छन् । करिव २ सय ८० जनाभन्दा बढी प्रशिक्षणमा सहभागि छन् । 
दुइवटै जिल्लालाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको जनाउँदै कार्यक्रम संयोजक मिङमार सार्की शेर्पाले भने ‘यस भेगका दुइवटै जिल्लाका शेर्पाहरु भाषिक, सांस्कृतिक रुपमा निक्कै पछाडि रहेको पायौं । हाम्रो संस्कार, संस्कृती र सभ्यतालाई पुनःस्थापित गर्न पहिलो पटक यस्तो खाले कार्यक्रम आयोजना गरेका हौं ।’ उनले थपे ‘श्याब्रु सिकीरहेका प्रशिक्षार्थीहरुवीच प्रतिस्पर्धा हुने छ । करीव १० वटा समूह प्रतिस्पर्धामा उत्रिने छन् ।’
कार्यक्रममा लोसार शुभकामना आदनप्रदान, वृहत श्याब्रु नृत्य प्रतियोगिता, शेर्पा सांस्कृतिमा आधारित शिली तथा श्याब्रु नृत्य प्रदर्शन, विविध कार्यक्रमहरु, व्यक्तित्व सम्मान लगायत हुने गरी तयारीमा जुटेको आयोजक मध्येका एक आकेश शेर्पाले जानकारी दिए । ५ हजार भन्दा बढी सहभागि हुने कार्यक्रममा चर्चित कलाकारहरु दावा के शेर्पा, टेलिसिरियल सक्कीगोनीका कलाकारहरु हरि निरौला कक्रोज र सगर लम्साल बले विख्यात डिजे छेवाङ डिजेइङ, मनराज राई, आङ तेन्जीङ शेर्पा, सुस्मा राई, विनु गुरुङ, अनुषा राई लगायतको प्रस्तुती रहने छ । त्यस्तै, स्थानीय कलाकारहरुले समेत मौलिक प्रस्तुती दिनेछन् । कार्यक्रममा नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पा, महासचिव लाक्पा शेर्पा लगायतको उपस्थित रहने जनाएको छ । त्यस्तै, आदिवासी अधिकार अभियान्त आङ काजी शेर्पाले प्रशिक्षण दिनेछन् । 

कार्यक्रम आयोजना गर्न नेचा सल्यान गाउँपालिका, विभिन्न वडा, चिसंखुगढी गाउँपालिका लगायतले आर्थिक सहयोग गरेका छन् ।

भाषा, संस्कार, संस्कृतीको सम्बद्र्धन, आफ्नो ऐतिहासिक लोपोन्मुख वस्तुहरुको संरक्षण, आदिवासीहरुको समस्या र समस्या समाधानको लागि राज्यले खेल्नु पर्ने भूमिका वारे जानकारी, सामुहिक छलफलको माध्यमबाट आदिवासीका सवालहरु उठान हुने र सूसुचित गराउने, वर्तमान राज्य व्यवस्थाका वारेमा आदिवासी समुदायका लागि विभिन्न जानकारी गराउने, आदिवासी शेर्पा समुदायको बारेमा विभिन्न अध्ययन, शोध कार्यका लागि एकै ठाउँबाट जवाफहरु प्राप्त गर्ने माध्यमको निर्माण सहयोग पुर्याउने र पहिचान जन्यवस्तुको विकास, सभ्यताको रक्षाका लागि थालनी गराउने हेतुले कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रममा अन्य जातजातिले समेत सांस्कृतिक झाँकी प्रदर्शन गर्ने जनाएको छ । पहिलो पटक आयोजना हुने कार्यक्रम भएकाले विशेष चासोका साथ हेरिएको र स्थानीय युवाहरु सक्रियताका साथ तयारीमा जुटेको जनाएको छ । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho