पत्रकार महासंघ भवन निर्माण सहयोगी सम्मानित

मिङमार शेर्पा

२०७७ फाल्गुन ९, आईतबार


काठमाडौं (शेर्पाखबर) । नेपाल पत्रकार महासंघ, ओखलढुंगा शाखाले भवन निर्माणका क्रममा सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मान गरेको छ । राजधानीमा एक समारोह आयोजना गरि सहयोगीदाताहरुलाई सम्मान गरेको हो । 
मूख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा माघ २६ गते भवन उद्घाटन गरेको थियो । सोही अवसरमा सहयोगीहरुलाई सम्मान गरेको थियो । राजधानीमा नै रहने सहयोगीहरु उद्घाटन समारोहमा उपस्थित हुन नसकेपछि राजधानीमै कार्यक्रम आयोजना गरी सम्मान गरेको अध्यक्ष दीपेन्द्र रुम्दालीले जानकारी दिए । 

 

सम्मानित हुनेमा शाखाकै सदस्य तथा पर्यटन व्यवसायी आङबाबु शेर्पा, बरिष्ठ गायक तथा जनता समाजवादी पार्टीका नेता गम्बु शेर्पा, व्यवसायी लोचन वस्नेत, नेपाल शेर्पा संघका केन्द्रीय सदस्य फुरलाक्पा शेर्पा, पर्यटन व्यवसायी आङकामी शेर्पा, पिके मिडिया प्रालीका छेल्हमु शेर्पा लगायत रहेका छन् । दाताहरुलाई महासंघ प्रदेश नं. १ का सचिव बुद्धविर बाहिङ र अध्यक्ष रुम्दालीले कदर पत्र, ताम्रापत्र, ओखलढुंगाको चिनारी मायाको चिनो ‘ओखल’ र खादा तथा दोसल्ला ओढाएर सम्मान गरेको पत्रकार श्याम राईले जानकारी दिए । 
कार्यक्रममा बोल्दै जसपा नेता गम्बु शेर्पाले पत्रकार महासंघले आफ्नै जग्गा खरीद  गरी भवन निर्माण गरेकोमा खुसी व्यक्त गरे । ‘यसबाट व्यवसायीक पत्रकारिता विकासमा ठूलो टेवा पुग्ने छ । दुर्गम क्षेत्रबाट पत्रकारितामार्फत अघि बढ्न चाहनेहरुका लागि पनि सहयोग पुग्छ ।’ नेता शेर्पाले भने ‘पत्रकारिता माध्यमबाट सशक्त कलम चलाउनका लागि यही भौतिक पूर्वाधारको माध्यमबाट अघि बढ्न सहयोग पुगोस् ।’
 

त्यस्तै, आर्गनिक व्यवसायका अभियान्त समेत रहेका वस्नेतले कृषि क्रान्तिको माध्यमबाट वेरोजगार समस्या समाधानका पक्षमा पत्रकारहरुले कलम चलाउनुपर्नेमा जोड दिए । कृषि क्षेत्रको दीगो विकासमा पत्रकारितामार्फत युवाहरुलाई सचेत गराई राज्यले लिएको कृषि क्रान्तिको नीतिलाई सफल बनाउन भूमिका खेल्नुपर्ने बताए । अर्को दाता, फुरलाक्पा शेर्पाले पत्रकारिताकै माध्यमबाट समाजको द्रुत विकास हुने बताउँदै यसखाले सकारात्मक अभियानले सबैमा थप जोसजाँगर बढ्ने बताए । पत्रकार महासंघका सचिव बाहिङले पत्रकारहरु जहिले पनि जनताको पक्षमा रहेर काम गर्ने बताए । उनले भने ‘पत्रकारहरु समाजको पहरेदारको रुपमा काम गरिरहेका छन्, राज्यलाई खबरदारी गर्दै आवाजविहिनहरुको आवाजको रुपमा रहनुपर्दछ । यसमा भौतिक पूर्वाधार विकासले थप सहयोग पुग्छ ।’ 
शाखाका अध्यक्ष रुम्दालीले नेपालभरमा आफ्नै नाममा २२ आना जग्गा खरीद गरी भवन बनाउने आफ्नो शाखा पहिलो भएको दाबी गरे । सहयोगीहरुलाई धन्यवाद दिँदै अध्यक्ष रुम्दालीले भने ‘हामीले एउटा समाचार लेखेको ३० रुपैयाँदेखि जोहो गरेर आफ्नै नाममा जग्गा खरीद गरी साँढे २ तल्लाको भवन निर्माण गरेका छौं । अझै दूई तल्ला निर्माण हुन बाँकी छ । यतिसम्म प्रगती हुनुमा तपाईहरुको सहयोगी मनहरुप्रति म सम्मान व्यक्त गर्दछु ।’

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho