म्याग्दीमा चौँरी महोत्सव

शेर्पाखबर

२०७७ फाल्गुन ६, विहिबार


म्याग्दी : म्याग्दीको अन्नपूर्ण–५ पाउद्धारमा बुधबारदेखि चौरी महोत्सव सुरु भएको छ । राष्ट्रिय पशुपंक्षी स्रोत व्यवस्थापन तथा प्रर्वद्धन कार्यालयको सहयोगमा चौरी स्रोत संरक्षण तथा प्रर्वद्धन समिति पाउद्धारले महोत्सव आयोजना गरेको हो । 

चौरी संरक्षण, चौरीका उत्पादनको बजारीकरण, चौरीको महत्व र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित महोत्सव फागुन १० गतेसम्म सञ्चालन हुने आयोजक समितिका अध्यक्ष मिनबहादुर गर्बुजाले बताए । 

‘पाउद्धार गाउँकै नजिकै लरेनीमा झारिएका चौरी देखाएर पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव आयोजना गरेका हाँै,’ उनले भने, ‘कोरोनाका कारण थलिएको पर्यटन र ग्रामीण अर्थतन्त्रलाई पनि यसले सहयोग गर्ने अपेक्षा छ ।’

महोत्सवमा कृषक र विज्ञबीच चौरीको महत्व, समस्या, व्यवसायिक सम्भावना र कृषकको आवश्यकताका विषयमा छलफल आयोजना गरिएको छ । यसैगरी चौरीको आलो रगत पिउने मेलासमेत सञ्चालन हुनेछ । 

महोत्सवमा आउने पाहुनालाई चौरी देखाउने र यसको महत्वका विषयमा बुझाइने कार्यवाहक वडा अध्यक्ष राजेश तिलिजाले बताए । ‘म्याग्दी जिल्लामा हाम्रो वडामा मात्र चौरीपालन हुन्छ,’ उनले भने, ‘परम्परागत चौरीपालनलाई पर्यटन र गाउँलेको आयआर्जन सुधारसँग जोड्ने प्रयास गरिएको हो ।’

दश हजार भन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको महोत्सवको उद्घाटनका अवसरमा चौरी गोठाला सुकबहादुर पुनलाई सम्मान गरिएको छ । स्थानीय मगर संस्कृतिमा आधारित पुख्र्याैली, सोरठी, कौरा, मादले, मारुनी गीत र नृत्य महोत्सवको आकर्षण हो । 

पाउद्धार र शिखका तीन वटा फर्मले चार सय बढी चौरी पालेका छन् । सामाजिक अभियन्ता डाक्टर महावीर पुनको अगुवाइमा पाउद्धार मावि र हिमाञ्चल माविका निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउन २०५८ देखि खोपारा क्षेत्रमा व्यवसायिक चौरीपालन गरिएको स्थानीय भीम तिलीजाले बताए । 

खोपारा, खयर, बयली, डाडखर्कलगायत बराह शिखर हिमालको फेदीका बुकीमा चौरीपालन गरेका छन् । प्राकृतिक हिसाबले सुन्दर त्यस क्षेत्रमा पालिएका चौरी र भेडा गोठले पर्यटक आकर्षित गराएको गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले बताइन् । 

राष्ट्रिय पशुपंक्षी स्रोत व्यवस्थापन तथा प्रर्वद्धन कार्यालयका वरिष्ठ पशु विकास अधिकृत खगेन्द्रराज भट्टले अनुकुल हावापानी र भूगोल भएको अन्नपूर्ण गाउँपालिकालाई चौरी स्रोत केन्द्रको रुपमा विकास गर्न लागिएको बताए । 

‘चौरीको नश्ल, गोठ सुधार, व्यवसायिक उत्पादन, उत्पादनको विविधिकरण र बजारीकरणमा सघाउने कार्यक्रम बनाएका छाँै,’ उनले भने, ‘यहाँ पालिएका चौरीलाई देशका अन्य ठाउँमा पनि नश्ल सुधारका लागि लान सकिन्छ ।’ यस वर्ष स्रोत केन्द्र सञ्चालनका लागि नौ लाख ३५ हजार रुपैयाँ विनियोजन भएको छ । 

तीन वटा याक खरिद गरेर समितिलाई उपलब्ध गराइसकेको छ । आन्तरिक र बाह्य परिजिवी विरुद्धको खोप, गोठ सुधार, खानेपानी, खर्क सुधार र गोठालाका लागि आवश्यक सामग्री सहयोग गरिने पशु विकास अधिकृत बासुदेव नाथले बताए । 

चितुवाको आक्रमण, चरन क्षेत्रको अभाव र रोगको महामारी चौरीपालनको चुनाौती भएको कृषक प्रेम पुर्जाले बताए । 

सन्तोष गौतम/अन्नपूर्णपोष्टबाट

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho