‘प्रेश पास’ पाँच बर्षसम्म नविकरण गर्न पर्दैनः मन्त्री गुरुङ

लाक्पा जी शेर्पा

२०७७ फाल्गुन ६, विहिबार


काठमाडौं (शेर्पाखबर) । पत्रकारका लागि सरकारले दिँइदै आएको ‘पत्रकार परिचय पत्र’ पाँच बर्षसम्म नविकरण गर्न नपर्ने व्यवस्था गर्ने जनाएको छ । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनलाई संबोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले यस्तो जनाएको हो ।
यसअघि प्रेस प्रतिनिधी पत्र बार्षिक रुपमा सूचना विभागबाट अनिवार्य नविकरण गर्ने व्यवस्था थियो । गुरुङ मन्त्री नियूक्त भएपछि प्रेसपास नविकरण गर्न जिल्ला हुलाक कार्यालयलाई नै अख्तियारी दिएको थियो । ‘अहिले प्रेस प्रतिनिधी पत्र नविकरण जिल्लाबाट नै हुने व्यवस्था गरिएको छ’ मन्त्री गुरुङले भने ‘अनलाईन, रेडियो नविकरणको लागि पनि अब विभाग धाउनु पर्दैन ।’
पत्रकारहरुलाई अझ सहज बनाउन प्रेस पास नविकरण पाँच बर्षमा मात्रै गर्दा हुने व्यवस्थाका लागि नीतिगत रुपमा व्यवस्था गर्ने बताउँदै मन्त्री गुरुङले भने ‘अब प्रेस पास नविकरणकै लागि बार्षिक रुपमा सूचना तथा प्रसारण विभागमा लाइन लाग्नुपर्ने वाध्यता हट्छ । आजैबाट यो प्रक्रिया अघि बढाउँछौं ।’
मन्त्री गुरुङले लोककल्याणकारी विज्ञापन नीतिलाई अझ फराकिलो बनाउने उल्लेख गर्दै हाल उपलब्ध गराउँदै आएको अनुदानमा पनि उल्लेख्य बृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे । अब अनलाईन र केवल टिभीले पनि लोककल्याणकारी विज्ञापन प्राप्त हुने व्यवस्था हुनेछ । पत्रकारितामा लागेका श्रमजिवि पत्रकारहरुको हकहितका लागि सरकार सँधै सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री गुरुङले पत्रकार कल्याणकारी कोषको बजेट आगामी दिनमा दोब्बर बनाएर लैजाने प्रतिबद्धता समेत व्यक्त गरे । 
प्रेस पास वितरण नीतिलाई खुकुलो बनाउँदै लैजाने बताउँदै मन्त्री गुरुङले भने ‘तर, गलत व्यक्तिको हातमा यस्तो महत्वपूर्ण पास नपुगोस् भन्नेमा पनि सचेत रहनुपर्छ ।’
नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन फागुन ५ गते उपराष्ट्रपति नन्दबहादुर पुनमगरको प्रमुख आतिथ्यतामा राष्ट्रिय सभा गृहमा सम्पन्न भएको थियो ।
 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho