यी १० हजार जनाले ‘भोट’ दिन नपाउने भए !

शेर्पाखबर

२०७७ फाल्गुन ४, मंगलबार


वीरगन्‍ज। आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पर्साका चार गाउँपालिकाका करीब १० हजार नागरिकता प्राप्त व्यक्ति मतदान गर्नबाट वञ्‍चित हुने भएका छन्।

विसं २०७५ पुस ११ गते चार गाउँपालिकालाई हेर्ने गरी स्थापना भएको इलाका प्रशासन कार्यालयमा नागरिकता लिएका व्यक्तिको मतदाता सूचीमा नाम अद्यावधिक हुन नसक्दा करीब १० हजार व्यक्ति मतदान गर्नबाट वञ्‍चित हुने सम्बन्धित गाउँपालिकाका पदाधिकारीको भनाइ छ। 
पटेर्वासुगौंली, जगरनाथपुर, जिराभवानी तथा ठोरी गाउँपालिकाका नागरिक इलाका प्रशासन कार्यालय सुपौलीबाट नागरिकता प्राप्त गरे पनि मतदाता सूचीमा नाम आउन नसकेपछि आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा मत खसाल्नबाट वञ्‍चित हुने जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले बताए। 

विसं २०७४ को मतदाता सूचीअनुसार पटेर्वासुगौंलीमा ११ हजार सात सय ६०, ठोरीमा ११ हजार छ सय ८५, जगरनाथपुरमा १५ हजार पाँच सय ६२ र जिराभवानी गाउँपालिकामा ११ हजार तीन सय ५० मतदाता रहेका छन्। 

पुस ६ गते यता नागरिकता लिएका व्यक्तिको मतदाता परिचयपत्र बन्‍न नसक्ने, यसअघिका छुटेका व्यक्तिको पनि मतदाता नामावलीमा नाम समावेश नहुने र निर्वाचनको मिति घोषणा भइ मतदाता नामावली अद्यावधि गर्ने काम बन्द भएकाले नागरिकता लिएका व्यक्तिको नाम मतदाता सूचीमा समावेश हुन नसकेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गौरीशङ्कर चौधरीले बताए। 

निर्वाचन कार्यालयले कर्मचारीको अभावमा टोली खटाउन नसकिएको भनेर झारा टार्ने काम गरेको आरोप लगाउँदै पटेर्वासुगौंली गाउँपालिकाका उपाध्यक्ष ममता महतो थारुले यस क्षेत्रमा रहेका विभिन्‍न पार्टीले १८ वर्ष उमेर पुगेका मतदाताको नाम सङ्कलन गरे पनि टोली नआएकाले उनीहरूको नाम मतदाता सूचीमा राख्‍न नसकिएको बताइन्।  

रासस

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho