प्रधानमन्त्री ओलीलाई उखाने पत्र

डा. सचिन घिमिरे

२०७७ बैशाख २१, आईतबार


नमस्ते कमरेड !

तपाईंको नाउँमा एउटा उखानपत्र लेखी पठाउँछु भन्दाभन्दै बारीको तीते यसै दिन बिते भनेझैं तारतम्य मिलिरहेको थिएन । लेख्ने काइदा नपुगेर उत्ताउली गाई बाघले खाईको ताल पर्ला कि भन्ने डर पनि नलागेको होइन । फेरि पनि जे पर्ला त्यही टर्ला भन्ने सोचेर बन्दाबन्दीकै समयमा लेख्न कम्मर कसेँ । हुन त तपाईं जत्तिको धुरन्धर उखान पारखीलाई उखानपत्र लेख्ने आँट इन्द्रको अगाडि स्वर्गको बयान गरेजस्तो मात्रै हुन्छ । अकबरी सुनलाई कसी लगाउनु पर्दैन, तपाईंलाई उखानको मामलामा फुक्र्याउन पर्दैन भन्ने मलाई पनि थाहा छ, ओलीसर ।

तर पनि कैंची न सैंची त्यसै जुँगा एैंची भनेझैं के पो लेख्नु भनेर लामो समय अलमलमा परियो । फेरि आए आँप गए झटारो भन्ने लागेर मनको मैलो पोख्ने सुर कसें । शक्ति केन्द्रका साहेबहरू सच्चा र निमुखा गरिबहरू भुट्टा ठहरिने समाजमा लेखेर मनको रन्को पोख्नु पनि जो होचो उसैको मुखमा घोचो जस्तै हुन सक्छ । खान घिन नमान्नु कुरा गर्न लाज नमान्नु भन्ने कुराको चुरो मैले पनि बुझेकै हो । अक्षतापाती धामीलाई आफ्नो व्यथा आफैंलाई भनेझैं राजनीतिक बेथितिमा अहिलेको महाव्याधि जोल्ठिएर सर्वसाधारणले भोगिरहेका कथा–व्यथा एउटै पत्रमा लेखिसाध्य पनि छैन ।

मैले लेखेर उनिउँ फुल्दो न ढुंगो टुसाउँदो भन्ने तत्वज्ञान बुझे पनि अगुल्टो पनि नठोसी बल्दैन भन्ने सोचेर लेख्ने जमर्को गरेको छु । अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ भने जस्तै गीतमा केही नौला शब्द राख्दैमा, फरक शैलीमा चलचित्रको आलोचना गर्दैमा, फेसबुक र ट्विटरमा जनआक्रोश ओकल्दैमा सत्ताको कोर्राले जनताको ढाड डाम्न हुन्थ्यो र हजुर ? ठूलो चरी पासा परी, सानो चरी उदेकले मरी भने जस्तै यति गरिसकेपछि बाँकी आलोचकहरू पनि त्यतिकै लल्याकलुलुक पर्लान् भन्ने भ्रम नराखेकै वेस होला, ओलीसर ।

काँक्रो चोरलाई मुड्की सास्ती भने जस्तै त्यति लेख्दैमा जेलनेल नै कोच्नुपर्ने यो कस्तो लोकतन्त्र हो हजुर ? खाएको विष पो लाग्छ, नखाएको विष त लाग्दैन नि । अब कर्कलालाई बञ्चरो जस्तो गीत गाउने कलाकार, रिटायर्ड कर्मचारीलाई हत्कडी लगाएर कहाँ निसाफ हुन्छ त ? एक बिराउने शाखा पिराउने भने जस्तै सपना देख्न पनि तपाईंकै पालामा सरकारको अनुमति लिनुपर्ने दिन आउँछ भनेर कसले पो सोचेको थियो र ? छोरी कुटी बुहारी तर्साउनी यस्तो सरकारी काइदाले फाइदा चाहिँ गरेन है ।

देब्रे कोल्टो परेर सुत्ने कम्युनिस्टहरूको शासनकालमा स्वास्थ्य, शिक्षा जस्ता आधारभूत मुद्दामा सक्नेले गर्ने नसक्नेले ठाडै मर्ने स्थिति ज्यूँका त्यूूँ छ । नेताहरूलाई रुघा लाग्दा एयरपोर्टमा विदेश उड्ने पांग्रो तम्तयार हुने भएपछि अचानाको पिर खुकुरीले के पो जान्दथ्यो र ओलीसर । अनि जनतासँग पैसो उठाएर तेस्रो पक्षको पक्षपोषण हुनेगरी स्वास्थ्य बिमा दिने कुरो काम गर्ने कालु मकै खाने भालु जस्तो भएन त ? कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तै कोरोनाले बल्झाएको महाव्याधि एकातिर, पार्टी फुटाउने र सत्ता टिकाउने रन्को अर्कातिर ।

लेखक मेडिकल डाक्टर तथा चलचित्र निर्माता हुन ।

गाई आइलाग्दा भैंसीको सिङ समात्ने यस्तो काइदा कसले पो सिकायो ओलीसर ? महाव्याधीले छटपट्टिएर घर खोज्दै राजमार्गमा हिँड्नेहरूको चप्पलसँगै बल्झिएका पीडा भोक न भकारी शोक न सुर्ताका कम्युनिस्टहरूले महसुस गर्ने कुरै भएन । चित्त बुझेन भने अंशको झगडा वंश भएसम्म चलिरहन्छ, ओलीसर । तर दुर्भाग्य माक्र्स, लेनिन र माओको तस्बिर नित्य पूजा गर्ने कम्युनिस्ट पार्टीहरूको नै वर्गीय मुुद्दासँग गोरु बेचेको साइनो नपर्ने अवस्था हाम्र्रै पालामा देखियो है ।

आम सर्वहारा र गरिबहरूको जीवन परिवर्तन गर्ने अपेक्षा गरिएको समाजवादी सपना त आकाशको फल आँखातरी मर जत्तिकै भयो । नामको भने कम्युनिस्ट पार्टी कामको भने लुट्ने मात्र ध्याउन्न भइसकेपछि जेठो मामाको त भाँग्राको धोती, कान्छो मामाको कुन गति जस्तो पो लाग्दो रहेछ । आस गर्नु भर नपर्नु भन्थे भन्नलाई, उर्लेको खहरे धेरै बेर रहँदैन पो रहेछ भन्ने ज्ञान त बल्ल पो पाइयो । हुन त आकाशको राहु पातालको केतु, एक फेरि नपरी कसरी चेतु भन्छन् ।

राजनीतिक स्थिरता हुँदैमा सामाजिक, आर्थिक रूपान्तरण गर्ने इच्छा शक्ति आउँदो रहेनछ भन्ने दिव्यज्ञान त एक ठक्कर खाएपछि सात बुद्धि आउँछ भने जस्तै बल्ल पो चाल पाएँ । हुन त अचार खाई विचार गर्दा पनि आई बूढी मच्चिँदै, गई बुढी थच्चिँदै भने जस्तै वर्तमान सरकारको नियति गएँ डोटी खाएँ रोटी घर फर्किंदा धोती न टोपी होला जस्तो लागेको छ । अच्छयुँ खाएँ, बच्छुँयु खाएँ, झुसे बारुलो यो सरकार सुस्त छ भन्ने कुन चाहिँ नाथे हो भन्ने पनि लाग्न सक्ला ।

यो सरकारको राष्ट्रिय थेसिस नै छैन भन्नलाई बिग्रेको मान्छेको भत्किएको घर, अब भत्कि नै सक्यो केको डर छ र मलाई । थेसिस हराएको सरकारको आलोचना गर्दा कागलाई घण्टी झुण्ड्यायो देश घुम्छ, मुसालाई घण्टी झुण्ड्यायो दुला पस्छ भने जस्तै गाउँको चियापसलमा मात्र बसेर भँडास पोखिरहन मलाई पनि मन थिएन । कुरा भनेको चिल्ला मीठा, रोटी भनेको खस्रा मीठा होइन त ओलीसर ?

मान्छे भने बोको जत्रो कुरा भने डोको जत्रो लाग्ला है ओलीसर ? तर खोलो तर्यो लौरो बिर्सियो भने जस्तै सत्तामा गएपछि जनअपेक्षाहरूमा चरम धोकाधडी भएको कुरो त सोह्रै आना सही हो नि हजुर । ढेड अक्कलीको मामा लाल बुझक्कड जस्तो तालले त कम्युनिस्ट पार्टीको नेतृत्वमा नेपाली समाजले खोजेको परिवर्तन त आफू भने सिल्ली धाक दिल्ली जस्तै हुन गएको छ । दिल्लीवालाहरू त धर्मकै भरमा सत्ता टिकाउन खोज्दै छन्, अब सुत्दासमेत देब्रे पल्टिएर सुत्ने कोल्टे कम्युनिस्टहरूले समेत जोगीहरूको कुरा सुन्न थालेपछि उसै त मुसुरी जिरा झानेको जस्तो हुने नै भयो नि ।

अति गर्नु अतिसार नगर्नु भनेकोे जस्तै यहाँहरूकै कुलदेवता लेनिनले भनेको कुरो र्याङको ठ्याङ मिल्न पो गयो त । संसदीय व्यवस्था भनेको खसीको टाउको भुण्डाएर कुकरको मासु बेच्ने ठाउँ हो भनेर बूढाले भनेको वचन, बाघ कराउनु र बाख्रो हराउनु एकैपटक भने जस्तै भएको छ । हलेदो भनेपछि कोट्याउनु पर्दैन भन्ने जान्दाजान्दै पनि कम्युनिस्ट पार्टीको वर्तमान सत्ता सिंहको मुकुट लगाएर फ्याउरा र स्यालहरूले गर्ने रजगज जस्तै देखिएको छ ।

विदेशी दाता, कर्पोरेट स्वार्थ र शक्ति केन्द्रहरूले नेपालको मामलामा गरेको हस्तक्षेप हेर्दा वर्तमान सरकार अन्धो मुसालाई थोत्रो जौ, जसो भन्यौ उसै लौ गरेर बसेको स्पष्ट भान हुन्छ । अमिलो जाँडको धेरै निगार, नक्कले मान्छेको धेरै सिंगार भने जस्तै जुन राजनीतिक सत्तासँग जनअपेक्षा सम्बोधन गर्न सक्ने इच्छाशक्ति नै छैन उसैले समाजवादको राग गाँसैपिच्छे लक्ष्मीनारायण भने जस्तै अलापिरहेको देख्दा यो सरकार आलु खाई पेडाको धाक लगाउने मान्छे जस्तो बाहिर बोक्रो भित्र खोक्रो देखिएको छ ।

कि त हस्तिनापुरको रजाइँ कि चपरीमुनिको बास, गर्दै जाने हो हेर्दै जाने हो भन्ने लागिरहेको होला । तर यथास्थितिलाई नै अन्तिम उपलब्धि मानेर उत्सव मनाइरहेको सरकारको वर्तमान अवस्थामा जिउँदो बाघको अघि पर्न नसक्ने तर मरेको बाघको जुँगा तान्न खोज्ने जस्तो देखिएको छ, ओलीसर । हुन त झिँगाको सरापले डिंगा मर्दैन भन्छन् । एक दामको ल्वाङ छैन, दश दामको स्वाङ भने जस्तै महाव्याधिमा राष्ट्रिय गीत घन्काउँदैमा राष्ट्रियता बलियो हुँदैन ।

मेरो गाउँतिरका अक्कलेहरू अरुले राग हालेको र गोफ्लेको बाउले सुसेलेको कहाँ एउटै हुन्छ र भन्थे । सिद्धान्तमा आधारभूत अलमल भए पनि दुई पल्टन जोडिएर एउटै संगठन बनेकोे कम्युनिस्ट पार्टीको इदं भ्रष्टम् उदं भ्रष्टम्को अवस्था देखेर जुन जोगी आए पनि कानै चिरेको जस्तो भयो । कम्युनिस्ट सत्ताको आवरणमा कमरेड र कर्पोरेटहरूको संयुक्त कमाण्डले कोरोनाको महाव्याधिमा पनि राज्यको ढुकुटी ब्रह्मलुट कसरी गरिन्छ भनेर देखाएको दृश्य ट्वाल्ल परेर हेर्न विवश भइएको छ ।

को मान्छे हो यो, केही काम नपाएर उखानै उखानले मलाई झटारो हानिरहेको छ जस्तो पनि लाग्ला । हुन त तपाईं मेरो आमातिरको मामा न बाबुतिरको काका । उही मेरो लेख्ने, उही मेरो टेक्ने, पाएदेखि उसैले पुपुर्रो सेक्ने, झन् स्थिर सरकार दिएँ, उल्टै गुन ग¥यो बराज्यु, गुनैले हान्ने जस्तो पनि लाग्ला । हुन त मान्छेका आँखै शत्रु आँखै मित्रु रहेछन् ओलीसर । विनाकारण अर्काको आङमा जुम्रा देख्ने आफ्नो आङको भैंसी नदेख्ने मनुवा त म पनि परिनँ । सारा संसार महाव्याधिसँग जुध्न एकोहोरो लागेको बेलामा नेपाल सरकारको गति हाँसको चाल न कुखुराको चाल जस्तो लागेर मनको मैलो यसो पोखेको मात्र हुुँ । हुन त भित्र, भित्र काम भइरहेको छ, आधा गाग्रो पो छचल्किन्छ त मोरा, भरी गाग्रो छचल्किँदैन नि भन्नुहोला । आज म¥यो भोलि ओखती भन्छन् उसै त, महाव्याधिले बल्झाएको व्यथा बुझेर काँधको बिरालो जुक्तिले झिक्न सकेमात्र काम लाग्छ है, ओलीसर ।

आफ्नो पोइलाई ठेट्ना मकै, नाठो पोइलाई चिल्लो रोटी भनेजस्तै हिजोका दिनमा पार्टीका लागि जेलनेल खाएका इमानदार कार्यकर्ताको घरमा चुल्हो नबल्ने दिन आयो । सर्वहाराको सत्तामा आफ्नो भविष्य देख्ने कार्यकताहरू किन रोइस् मंगले आफ्नै ढंगले भने जस्तै खाडीको गर्मीमा बालुवा चाल्न जानुपर्ने दिन आयो । कम्युनिस्ट पार्टीको कार्यालय कर्पोरेटहरूको मल्टिपेल्क्समा अनि कर्पोरेट हाउसको वार्षिक उत्सव कम्युनिस्ट पार्टीको सभाहलमा हुने महान गठबन्धनले काले, लाले मिलेर खाऊँ भाले जस्तो भएको छ ।

केटाकेटी आए गुलेली खेलाएर मट्यांग्राको सत्यानाश, यस्ता आलोचनाले डराइन्न, सरकार आफ्नै रफ्तारमा कुदिरहेको छ भन्ने लाग्ला । तर देख्नेको आँखा फुटे सुन्नेको सही भनेझैं म त कतै गइरहेको देख्दिनँ है । बादशाह नांगै छ भन्नलाई त्यो देशको फुच्चे भाइ नि डराएन, म पनि किञ्चित डराउँदिनँ ।

तपाईंहरूका अर्का कुल देवता माक्र्सले समाजवाद ल्याउन कम्युनिस्टहरूकै पहलमा पुँजीवादको चरम विकास हुनुपर्छ भनेका थिए क्यारे । तर गाई मारी गधा पोस्ने जबर्जस्ती उसै खोस्ने भने जस्तै पुँजीवाद ल्याउन कमरेडहरूले नै दलालसँग मिलेर भ्रष्टाचार गर, इमानदार कार्यकतालाई रुवाऊ र राज्यको ढुकुटी कौडीको मोलमा बेच भनेका थिएनन् क्यारे । यो त चोरलाई चौतारो बाँदरलाई लिस्नु जस्तो पो भयो । आगो ताप्नु मुढाको कुरा सुन्नु बूढाको भने पनि माक्र्स बूढाकोे दाह्रीमा कमरेडहरूले नै आगो झोसेपछि माक्र्स फर्किए भनेर पार्टीकै तजबीजमा नाटक मञ्चन गर्दैमा माक्र्सको जुँगा कतिबेर टिकिरहन सक्छ र ?

खरानी घस्दैमा मान्छे जोगी नभए जस्तै कमरेड माओको तस्बिर पार्टी कार्यालयमा राख्दैमा पार्टी कम्युनिस्ट हुने होइन रहेछ भन्ने कुरो त एकबारको जुनीमा छर्लंगै देखियो तपाईंकै पालामा, हाम्रै नेपालमा ओलीसर । इमान भनेको लाख हो धन भनेको खाक हो भनेर आफ्नो इमान जमानमा बस्नेहरू नभएका पनि होइनन् । तर घरै पिँडालु वनै पिँडालु ससुराली जाँदा बाह्र हातको पिँडालु भनेजस्तै एकपछि अर्को प्रगतिशील भनिएका राजनीतिक पार्टीहरूको सैद्धान्तिक र व्यावहारिक अवसान पछि दुई तिहाइको कम्युनिस्ट सरकार पनि कागलाई बेल पाक्यो हर्ष न विस्मात् जस्तो हुने नै भयो ।

‘संघे शक्ति कलीयुगे’ भन्थे नेकपाको संगठन त तासको घर जस्तो रहेछ हजुर । साँढेको जुधाइ बाच्छाको मिचाइ, जसका निम्ति गोठ बनायो, उसैको पुच्छर बाहिर के भाको यस्तो ओलीसर । आजका दिनमा राजनीतिक सुझबुझ हेर्दा लोककल्याणकारी अवधारणाहरूमा काम होला भनेर अपेक्षा गर्नु चिलाउनेका गेडा नपाउने बेलामा जाइफल धाउने जस्तो पो भयो । जसको शक्ति उसैको भक्ति, अनि जसले गर्छ पाप उसैको फलिफाप हुने यो कस्तो काल बेला आयो ओलीसर ?

बुजु्रकहरू त एउटा म्यानमा दुई तरबार अटाउँदैन भन्थे, केपीसर र पीकेसर एउटै म्यानमा अटाएर दुनियाँलाई ताजुक त बनाएकै हो नि । तर जहाँ धेरै बिराला हुन्छन् त्यहाँ मुसा मर्दैन भने जस्तै पो भयो । ओलीसरलाई पीकेसरको कुरा सुने पनि सुख नहुने नसुने पनि सुख नहुने खाऊँ त कर्कली पेट फर्कली, नखाऊँ कर्कली सासू झर्कली जस्तो भयो होला । कुखुरालाई व्यथा लाग्दा बाख्रो मास्न पनि पछि नपर्नेहरू धेर बेर चुप लागेर बस्दैनन् भन्ने कुरो कस्तो नबुझेको ओलीसर ।

तपाईंकै नेतृत्वमा पनि त सरकारको अवस्था के गर्छौ बूढीआमा लिखा टिप्छु बाबै भने जस्तो देखियो नि । अब ल्हासा जानु कुतीको बाटो भनेजस्तै अमेरिका जान बयलगाडा चढेर कहिल्यै पुगिन्छ र ? लाल बुझक्कडहरूले राजनीतिक स्थिरताको मूल्य कम आँकलन गरेपछि जनअपेक्षाहरू हात्ती आयो हात्ती आयो फुस्साबाहेक अरु केहि हुँदैन हजुर । हुन त इख नभएको मान्छे र विष नभएको सर्प काम लाग्दैन भन्छन्, यो देशमा स्वास्थ्य र शिक्षाको तजबीज पुु¥याएर पूर्ण सरकारीकरण नगरेसम्म आँखोमा छारो हाल्ने यथास्थितिको राजनीतिप्रति तीव्र घृणाबाहेक अरु केही उत्पन्न हुनेछैन । मेहनत गर्ने पाखुरीहरूलाई चार डाँडा कटाएर तिनको ज्यानलाई खाडीको भुंग्रोमा सेकेर कमाएको दुई चार पैसोले कतिन्जेल पुग्ला र ? कुरा गरे धेर हुन्छ, बसे बेर हुन्छ, जति कुरा गरे पनि घुमिफिरी रुम्जाटार भनेजस्तै प्राकृतिक स्रोतले ओतप्रोत यो देश कुबेरको घरमा धनको दुःखजस्तै भएको छ ।

घर पोले खरानीको दुःख हुँदैन । नपत्याउने खोलाले बगाउला, निमुखाहरूको आँसुले सराप्ला ख्याल गरौं है ओलीसर । चल जोगी उठा छाला जता भेट्ला उतै खाला भन्ने तालले भताभुंग देशको लथालिंग चालालाई कसरी पो व्यवस्थित गर्न सकिएला र ? अहिलेको काल बेला भनेको शक्तिमा भएका कुम्भकर्णहरूसँग मित लगाएर कुकुर काटी बिरालो पोस्ने शकुनिहरूको रजगज भएको बेला हो । बाघ बूढो भएपछि फट्यांग्रो टिप्छ भनेजस्तै आफ्नो सत्ता टिकाउन अर्काको पार्टी फुटाउने काइदाले त खास्टो माग्दा बर्को गुम्ला पो जस्तोे भयो त हजुर ।

विनाश काले विपरीत बुद्धि भने जस्तै रिटायर्ड भएर बसेकाहरूको समेत चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरीको हालत हुने भयो । खुइलिएको कपाललाई मखमलको टोपी भने जस्तै बेमौसमी अध्यादेशको बल्छीले माछो त परेन परेन बरु गोही चाहिँ बल्झिएर आउला जस्तो भयो । पाडो खानेले बाछो राख्दैन भने जस्तै आफू टिक्न जे पनि गर्नेहरूले देशको भलो कसरी गर्न सक्छन् र ?

लौ त हजुर, जोगीलाई हुक्का लेख्नेलाई टुक्काको कमी हुँदैन । जति गरे पनि बिँड तातेर के गर्नु, ताप्के ताते पो काम लाग्छ, हजुर । लौ त, एक खेस्रो उखानपत्र यहीँ बिट मार्दैछुु । बिदा पाऊँ ।

 

@sachinshamvab

अन्नपूर्णपोष्टमा प्रकाशित

डा. सचिन घिमिरेका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho